दशैँमा सुरक्षित यातायात चलाउने व्यवस्था मिलाउन निर्देशन

SHARE:

– पूर्णप्रसाद मिश्र

काठमाडौँ, सङ्घीय संसद्को विकास तथा प्रविधि समितिले चाडबाडमा सहज, सुलभ र सुरक्षितरुपमा सार्वजनिक यातायात सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकपछि मन्त्रालयलाई निर्देशन दिनुहुँदै सभापति कल्याणीकुमारी खड्काले अग्रिम ‘टिकट बुकिङ’लाई पारदर्शी बनाउन, महङ्गो र ‘ब्ल्याक’मा टिकट बेची क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिइन् । “चाडबाडमा बढी दुर्घटना हुने गरेकाले सडक सुरक्षामा ध्यान दिन, सडकमै सवारीको ‘फिटनेस’ जाँचको व्यवस्था मिलाउन, ‘टाइम कार्ड’ लागू गर्न र नागरिकको सुरक्षितरुपमा यात्रा गर्न पाउने अधिकारको प्रत्याभूति दिलाउन सरोकारवाला निकायलाई निर्देशन दिइन्छ”, उनले भनिन् ।

सार्वजनिक यातायात व्यवस्थित बनाउन समितिले दिएको निर्देशनबमोजिम काम गरी जानकारी गराउन सभापति खड्काले भनिन् । समितिको सदस्य रहनुभएका सांसदहरुले दशैँमा जिल्ला आवतजावत गर्नुहुँदा सार्वजनिक यातायातको सेवाको अनुगमन गर्नुहुने जानकारीसमेत उनले दिइन् ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नवीकरण नगरिएका समितिको बैंक खाता नखोल्ने प्रतिबद्धता जनाए । “कानूनअनुसार समिति खारेज भएपछि खातामा रहेको पैसा सरकारको हुन्छ, यसलाई के गर्ने भन्ने विषयमा सरकारले निर्णय गर्छ, सरकारले निर्णय गरे यो पैसाबाट यातायात क्षेत्रकै सुधारको काम गर्न सकिन्छ”, उनले भने ।

समितिका बैंक खाता रोक्का रहेको र कम्पनीमा पनि गइनसकेकाले यसबीचमा भएका दुर्घटनाको उपचार खर्च दिन प्रमुख जिल्ला अधिकारीले छानविन गरी सरकारले सिधै पीडितलाई दिने गरी निर्णय गरेको मन्त्री महासेठले जानकारी दिए । बैठकमा सांसदहरुले सडकमा सवारीको व्यवस्थापन गर्न ट्राफिक प्रहरीको कमी रहेको, आकाशे पुल पर्याप्तमात्रामा नहुँदा यातायात चलाउन समस्या भएको, भूमिगत मार्ग र आकाशे पुलको व्यवस्था हुन नसकेको, सवारी ममर्त सम्भार केन्द्र स्थापना हुन नसकेको, लामो यात्रामा दुई चालकको व्यवस्था हुन नसकेको, सडक गुणस्तरीय नभएकै कारण दुर्घटनाका घटना बढेको, कानून सडक सुरक्षा मैत्री हुन नसकेको विषयमा मन्त्रालयको ध्यानाकर्षण गराए ।

सवारीको क्षमताभन्दा बढी यात्रु राख्ने गरिएको, चालकलाई आराम गर्न विकल्पको व्यवस्था नभएको, चालक अनुमतिपत्र वितरण गर्दा चलखेल हुने गरेको, सडकमा पैदल यात्रु असुरक्षित हुने गरेको, सार्वजनिक यातायातमा वृद्ध, अशक्त र अपाङ्गलाई दुव्र्यवहार गर्ने गरिएको, टिकट नदिने बढी भाडा लिने गरेको, यातायात समिति खारेज भए पनि महासङ्घ कसरी चलेको छ भनी सांसदहरुले प्रश्न गरेका थिए । यातायात एकाधिकार तोडिएको अनुभूति यात्रुले गर्न नसकेकाले सुधार गरिनुपर्नेमा उनीहरुको जोड थियो ।

यसरी धारणा राख्नुहुने सांसदहरुमा हरिनारायण रौनियार, गणेश पहाडी, रङ्गमती शाही, मीनाकुमारी श्रेष्ठ, केदार सिग्देल, दुर्गा पौडेल, कमला रोक्का, राजेन्द्रकुमार राई, दामोदर भण्डारी, गौरीशङ्कर चौधरी हुनुहुन्थ्यो । चालकले एक हातले सवारी चलाउँदै अर्को हातले मोबाइलमा कुरा गर्ने गरेकाले सुरक्षित यात्राका लागि सार्वजनिक सवारीका चालकलाई सवारी चलाउने बेलामा मोबाइल प्रयोग गर्न निषेध गरिनुपर्ने माग सांसदहरुले गरे ।

सांसद आशाकुमारी विकले पश्चिम नेपालमा चल्ने सवारीले ट्रकले जस्तो गरी सामान बोक्ने गरेको बताइन् । सांसद इन्दुकुमारी शर्माले चाबहिल–बौद्ध–जोरपाटी र वाग्मती किनारको गुह्येश्वरी हुँदै नारायणटार पुल निस्कने सडकमा सार्वजनिक यातायातको यात्रा सास्तीपूर्ण रहेको सुनाइन् ।

सांसद बहादुरसिंह लामाले सडकका खाल्डाखुल्डी नपुरी यात्रा सहज नहुने बताए । सांसद लीलानाथ श्रेष्ठले यातायात क्षेत्रको विकृति हटाउन सबै जिल्लाबाट चालक अनुमतिपत्र वितरणको व्यवस्था मिलाउन माग गरे । सांसद जीपछिरिङ लामाले यातायात एकाधिकार हटेको भए सवारी साधनमा प्रतिष्पर्धा भई भाडा घट्नुपर्नेमा बढ्नु आश्चर्यजनक रहेको बताए । मन्त्रालयका सचिव मधुसुदन अधिकारीले दशैँको अग्रिम टिकट बुकिङको सहमतिपछि पेट्रोलियम पदार्थको भाउ बढेकाले पुरानै दरमा यातायात व्यवसायीले टिकट खोल्न नमानेका कारण भाडा बढाइएको बताए ।

“सवारीमा प्रयोग हुने अन्य सूचकको भाउ पनि बढेकाले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढेको छ, मङ्गलबारदेखि नै अग्रीम टिकट बुकिङ शुरु भएको छ, पोखराबाहेक लामो यात्रामा जानुपर्ने सबैतिरको टिकट अहिले नै लिन सकिन्छ”, उनले भने ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले विसं २०७२ देखि सार्वजनिक यातायातको भाडा समायोजन नगरिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीकोसमेत सहमति लिएर १० प्रतिशत भाडा बढाइएको जानकारी दिए । सार्वजनिक यातायातमा ९९ प्रतिशत निजी लगानी भएकाले व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । विभागका निर्देशक प्रेम सिंहले विसं २०६५ देखि लागू गरिएको वैज्ञानिक भाडादरमा १४ सूचकका आधारमा भाडा समायोजन गर्ने व्यवस्था गरिएको बताए । पेट्रोलियम पदार्थको मात्र हिसाब गर्दा पनि अहिले ११ देखि १६ प्रतिशतसम्म भाडा बढाउनुपर्ने भएपनि हाल १० प्रतिशत मात्र वृद्धि गरिएको उनले सुनाए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले वडादशैँमा २० देखि २५ लाख यात्रु उपत्यका बाहिरिने गरेकाले सहजरुपमा यात्रा गराउनु चुनौतीपूर्ण हुने गरेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!