किन मेरो नागरिकता खोसियो ?

SHARE:

थम विके
हामी कलिलो उमेरका थियौं । गाउँ घरमा लाहुरे दाइहरूको चमकधमक राम्रै थियो । खासमा भन्नुपर्दा हाम्रो गाँउमा भूतपूर्व लाहुरेहरूको बाक्लो उपस्थिति र राम्रो प्रभाव थियो । त्यो बेला अहिलेको जस्तो बोर्डिङ स्कुल थिएन । भूपूका छोराछोरीहरू र हामी सँगै पढ्थ्यौं । हामी र उनीहरूबीच धेरै राम्रो सम्बन्ध र मित्रता । उनीहरूले राम्रा कपडा लगाउने र धेरै सफा सुग्घर हुनाले हाम्रा मनमा कता कता ईष्यौ पनि लाग्थ्यो । यसैले सानै उमेरमा लाहुरेप्रति आकर्षण बढ्यो । बाबा पनि लाहुरे भइदिएको भए हामी पनि उनीहरूजस्तै हुने थियौं नि भन्ने सोच मनमा आइरहन्थ्यो । म पनि लाहुरे भएर पैसा कमाउँछु भन्ने अठोट मनमनै गर्दथ्यौं । हामी कक्षा आठमा पढ्दापढ्दै हाम्रै कक्षाको एकजना साथी ईन्डियन आर्मीमा भर्ती भएर गयौं । त्यसपछि त लाहुरे हुने हुटहुटी झन् बढेर आयो । एसएलसीपछि आईए, बीए पढ्नेभन्दा लाहुरे हुने सपनाले बढी प्रथामिकता पायो ।

एसएलसी सकियो, उमेर पनि पुग्यो । यतिका दिनसम्म साँचेको लाहुरे हुने सपना पूरा गर्ने समय आयो । सबै कुरा छोडेर गल्ला दाइको पछि लाग्न थालियो । त्यसमा हाम्रो पूरा परिवारको साथ थियो । लाहुरे हुने सपना हाम्रो मात्रा थिएन, पूरा परिवार र शुभेच्छक सबैको थियो । बाबाआमा, इष्टमित्र सबैको स्वीकृति र समर्थन मात्रा होइन प्रेरणा र सहयोग पनि थियो । बारम्बार हामीलाई ‘भर्ती भइस् भने त तेरो जीवन नै सुध्रिन्छ’ भन्दै हौसला दिइन्थ्यो ।

मलाई याद छ, भर्ती हुन कोसिस गरेकामध्ये, एक प्रतिशत हाराहारीमा मात्रा सफल भएका । सफल भएका हामीलाई फौजी तालिमको लागि हङकङ लगियो । जीवनमा पहिलोपल्ट, ती कलिलो उमेरमा, आफ्नो गाउँ र देश छोडेर, सानैदेखि मनमा साँचेका सपनाहरू पूरा गर्न हो कि, गरिबीको सामना गर्न हो, हामी विदेशमा आयौं । त्यो उमेरमा हामीलाई यस्ता ठूला कुराहरू नागरिकताका, आवासीय, गैरआवासीय आदि कुराहरूको किसिम र विभेदका बारेमा थाहा हुने कुरै भएन । हाम्रा लागि नेपालमा गर्ने र विदेशमा गर्ने जागिरमा काम गर्ने ठाउँबाहेक केही फरक थिएन किनकि हाम्रा गाउँका बाउबाजेहरू सबै भूतपूर्व सिपाही थिए र उनीहरूको इज्जत र सान गाउँमा रहेका च्याउरेको भन्दा राम्रो थियो । लाहुरे जागिर र नेपालको जागिरमा पैसाको फरक भने प्रस्ट देखेका थियौं ।

नौ महिनाको फौजी तालिमले हामीलाई पूरा परिवर्तन गरायो । त्यस समयमा हामीले धेरै नयाँ कुराहरू सिक्यौं । त्यसको अलावा, हामीले सिकेका र थाहा भएका पुराना चीजहरूलाई पनि नयाँ ढंगले प्रयोग गर्न पनि सिकेका थियांै । यसरी नयाँ, पुराना कुरा, नयाँ ढंगमा, नयाँ परिस्थिति र ठाउँमा सिक्दा हामीलाई साह्रो र गाह्रो परेको त थियो, तर सबै साथीहरू मिलेर एकैसाथ एउटा काम गर्दा गाह्रो । काम पनि सजिलो हुने रहेछ, बोकेको भारी पनि हलुंगो हुने रहेछ । घरको, डाँडापाखा, साथीसंगीहरूको यादले पिरोल्नसम्म पिराल्थ्यो त्यो पनि नम्बरी (एकै समयमा भर्ती भएका जवानहरू) हरूलाई हेरेर चित्त बुझाइन्थ्यो । त्यो वेदना मनभित्रै उठ्दथ्यो र साथीहरूको संगतमा हराउँथ्यो । नेपालमा देखेको लाहुरेको जिन्दगी र विदेशमा उसले काटेको समयमा धेरै नै फरक छ, यो दुःख र दर्द केवल लाहुरेलाई मात्रा थाहा हुन्छ ।

तीन वर्षपछि हामी नेपाल फर्किंदा हाम्रो पहिलाको संसार बदलिइसकेको थियो । हामी आफैं पनि धेरै बदलिइसकेका त थियौं–थियौं, हाम्रा बाबाआमा घरपरिवार पनि पुरै परिवर्तित भइसकेका थिए, बाबा आमाको जीवनरूपी गह्रौ भारी धेरै हलुंगो भइसकेको थियो । आज उनीहरू, हिजो हामीले छोडेर गएकाजस्ता थिएनन् । उनीहरूको सोचमा, शरीरमा धेरै परिवर्तन आइसकेको थियो । आम्दानी र पैसाको कमाल पनि अनौठो नै हुने रहेछ, हामीले प्रत्यक्ष अनुभव गर्यौ । थोत्रो घर नयाँ भयो, मैलो आँगन सफा भयो, घरका मानिसहरूका अनुहार पनि पहिलाभन्दा उज्यालो हुँदै गयो, गाउँपारिमा पनि ईज्जत र सम्मानको बास्ना चल्न थाल्यो ।

रोजगारीको प्रभाव, विकासको क्रममा ठूलै हुने रहेछ कि क्या हो ? कतै, नेपालको तराई, पहाडभन्दा समथर र उब्जिलो हुँदाहुँदै विकास र मानव सूचांकमा पछाडि पर्नु यसैको कमाल त होइन ? सकारात्मक यति राम्रा धेरै परिवर्तन आफैंले देखीसकेपछि छुट्टीमा आएको लाहुरेलाई प्रेयसीको मधुर मुस्कानले पनि नेपालमा रोक्न सक्ने कुरै भएन । बरू उनैलाई अझ मीठामीठा सपना दिइ हृदयमा गाँठो कसेर, तीन वर्षमा आउने वाचा गर्दै उ पुनः विदेश जान्छ ।
यसरी कम्तीमा पनि पाँचपटक ओहोरदोहोर गरेपछि पेन्सनवाला लाहुरे भएर ३५ वर्ष उमेर नपुग्दै, थोरै नम्बरीहरूलाई पल्टनमै छोडेर, नेपाल फर्किंयौ । पहिलाका लाहुरे दाइहरू पेन्सन आएपछि सबै नै आफ्ना गाउँ घरमा बस्ने गर्दथे । तर, अहिलेको स्थिति पहिलाको जस्तो छैन । शिक्षा, स्वास्थ्य र उच्च शिक्षाका लागि सहर बजार सर्नैपर्ने अवस्था हुनाले हामी पनि मनले नमानीनमानी प्यारो गाउँघर छोड्न बाध्या भयौं । गाउँमा शिक्षाको खस्कँदो स्थितिले सहर बजारमा बसाइँसराई सर्न बाध्य बनायो । आफ्ना छोरीछोरीको माया र उनीहरूको भविष्यको चिन्ता सबैलाई हुन्छ, हामीलाई पनि हुने नै भयो ।

अतः आफ्ना साना छोराछोरीलाई राम्रो शिक्षा दिने हेतुले पोखरा, काठमाडौं, धरान, भइरहवा, नारायगढ आदि ठाउँहरूमा सर्‍यौं । हामी लाहुरेहरू गाउँघरमा बसेर जसरी त्यो ठाउँलाई राम्रो र सबल बनाएका थियौं, अहिले सरेका नयाँ ठाँउलाई पनि त्यसैगरी नयाँ रूप र रंग दियौं । जहाँ–जहाँ हामी सर्‍यौ त्यो ठाउँहरू, हामी नभएका ठाउँहरूभन्दा भिन्न र सुन्दर छन् । एउटै सहरका भए पनि हामी लाहुरे बसेको र नबसेको टोलमा धेरै भिन्नता छ । यस्तो हुनुमा हामीले विदेशमा सिकेको र देखेको ज्ञानको कारण होला । हामीहरूले पैसा मात्रा होइन, अरू पनि धेरै राम्रा चीजहरू नेपालमा लगेका छौं ।

बद्लिँदो परिस्थिति, नयाँ बसाइँ, बालबच्चाको स्कुल र कलेजको भार र घर सामान्य खर्च एउटा पेन्सनले मात्रा धान्न सक्ने स्थिति थिएन । आधाबंैस नहुँदै पेन्सन पकाएका हामी भाग्यमानी लाहुरेहरूको भित्र टेन्सनको भारी थियो । पैसा छैन भनेर छोराछोरीलाई आफ्ना पालामा जसरी सरकारी स्कुलमा पढाउन पनि भएन । बोर्डिङ स्कुलको जमाना आइसकेको थियो, पढाई जेजस्तो भए पनि शुल्कचाहिँ गतिलो आउने, तीर्नै पर्‍यो । भित्र जे–जसो भए पनि बाहिर लाहुरे दाइको ईज्जत थाम्नै पर्‍यो ।

कलिलो उमेरमा नै लाहुरे हँुदा, हामीले राम्ररी पढ्न पाएनौं, त्यो त ठीकै थियो, हाम्रै कारणले, हाम्रा जीवन संगिनीले पनि राम्ररी पढ्न पाएनन्, यो बडो दुःखको कुरा छ । एकातिर उनीहरू आफैंले राम्रो पढ्न पाएनन्, अर्कोतिर हाम्रा सबै केटाकेटीहरूको जिम्मा उनीहरुले नै लिन पर्‍यो । यस्तो अवस्थामा हाम्रा छोराछोरीले कहींकतै अलिकति तलमाथि गरे भनें, ‘लाहुरेको छोराछोरी’ भन्दै हाम्रा घाउमा नून छर्कने काम पनि गरियो, धन्य हो हाम्रो समाज ।

गरिबीको दुष्चक्रमा पुनः फसिने डरले हामी, फेरि पनि नयाँ कामको लागि, ब्रुनाई, मलेसिया, खाडी, युरोप, अमेरिका सबैतिर भौतारिँदै गर्दा, दुई सय वर्षको लामो समयदेखि हाम्रा बाबाबाजे र हामीले गरेका राम्रो कामको उपहारस्वरूप बेलायत सरकारले २००४ मा हामीलाई सेटलमेन्ट भिसा दिने घोषणा गर्‍यौं । ‘के खोज्छस् काना आँखो’ भनेजस्तो हुने नै भयो, हामी बडो खुसीका साथ लालबुक बोकेर ब्रिटिस एम्बेसीतिर लाग्यौं । मलाई अहिले पनि संझना आउँछ, ब्रिटिस सरकारले आफ्नो देशमा भएको कानुनमा हाम्रो लागि छुट्टै व्यवस्था गरेर हाम्रा लालबुक मात्रा हेरेर पुरै परिवारलाई सेटलमेन्ट भिसा दिएको थियो । कुनै पनि सरकारले अर्को देशको नागरिकलाई विश्वास गरेको यहाँभन्दा ठूलो अर्को कुन उदाहरण होला र । गोर्खामाथि कत्रो विश्वास ब्रिटिस सरकारको । भलै पेन्सन र अन्य सुविधाको बारेमा हाम्रो कुराकानी चल्दैछ, विश्वासको हकमा भने कहीं चिरा परेको छैन ।

पल्टनका सबैभन्दा पाका, गोर्खा मेजर साहेब ‘हेर केटा हो बाउ बाजेको नाम थाम्नु पर्छ’ भन्नुहुन्थ्यो, त्यसको अर्थ बल्ल अहिले बुझ्दै छौं । विश्व शान्तिको लागि नेपाल सरकारको अनुमतिमा बेलायत सरकारको पक्षमा, ईमान्दारिता र वफादारीपूर्वक ठूलै योगदान गरेको रहेछौ, जसको गुणगान विश्वभरी फैलिएको छ, त्यसलाई यहाँ भन्नु पर्छ र !

हामी बेलायतमा सपरिवार आएर बसोबास गरेको पनि दसौं वर्ष भयो । यो अवधिमा हाम्रा छोराछोरीहरूले राम्रै पढ्दै छन् । बेलायतमा तीनवर्ष बसोबास गरेपछि उनीहरूले युनिभर्सिटीमा सहुलियतहरू पाउँछन् । हामीले पनि आफूले सकेको र जानेको काम गरेका छौं, यहाँसम्म आई पुग्दा हामीले हाम्रा पुर्खाले कमाएको नाम ‘द गोर्खा’ लाई र बुद्धका देशका शान्तिप्रिय नेपालीको उच्च सम्मानलाई जोगाइरहेका छौं । आपूmले पाएको सेटलमेन्ट भिसा भनेको हाम्रा लागि पहिला फौजमा हुँदा आईडी कार्ड जस्तै हो ठान्थ्यौं । हुन पनि हो, यो त हामीलाई काम गर्न दिएको निस्सा न हो । कतिपय साथीहरूलाई भने कामको प्रकृतिले गर्दा रातो पासपोर्ट र बेलायतको नागरिकता लिनै पर्ने अवस्था आयो र लिए, यो इच्छात्मकभन्दा बाध्यात्मक कदम थियो ।

संसारको नियम पनि अनौठो छ, ‘खेतमा काम गरिरहेको छोरालाई भन्दा घरमा बसिरहेको छोरालाई आमाले पहिला खाना दिन्छिन् ।’ विदेश गएर गाउँ बनाएका, सहर बनाएका हामीहरूलाई त नेपाल सरकारले भुसुक्कै बिर्से छ, क्या हो बिना सोची सम्झेर ‘भूपू सैनिक’ लाई त ‘भूपू नेपाली’ पो बनाइदिए छ । यो कुरा अधिवक्ता राजेन्द्र श्रेष्ठको मुखबाट गाइँगुइँ सुनेका त थियौं, त्यसपछिको गोविन्द बेल्वासेले प्रकाश पार्दा त हामीलाई थाहा नदिई फिरन्ते बनाइदिएजस्तो लाग्यो । हाम्रो आफ्नो नेपालीपनलाई त अर्कै रंगले पोतेजस्तो भएन र ! विदेशको, आईएलआर लिएपछि, नेपालको नागरिकता स्वतः आईएलआर हुने कुरा बुझ्दा हामीलाई थाहै नदिई कतै बेचिसकेको त होइन ? शंका लाग्नै नै भयो । हाम्रो सार्वभौम नागरिकता स्वदेशी पनि विदेशी पनि नभएपछि, त्यस्तो विचार आउने नै भयो ।

२०० वर्ष लगाएर हामीले गाउँ बनायौं, सहर बनायौं, अबका दिनहरूमा पूरै देशै बनाउने हाम्रो सपना थियो, यो हुरीले उडाउने त होइन ? आज मेरो मनमा कुरा खेल्छ कहींकतै हामीलाई सानैमा बेचेकै त होइनन् ? दुई सय वर्षदेखिको त्यो वीर गोर्खालीको कथा बालकलाई सुनाउने हाउगुजी जत्तिकै झुठो र काल्पनिक हो र ! यी सबै प्रश्नहरूको बीचमा एउटा ठूलो प्रश्न उठ्दा, देशको विरूद्धमा हामीबाट के त्यस्तो अपराध भयो र नागरिकता खोसियो ?
(यो लेख लेखकको निजी विचार हो ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!