काठमाडौँ ३ जनवरी २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले रुसका लागि श्रम स्वीकृति खुलाउन नेपाल सरकारसँग माग गरेको छ ।
अध्यक्ष डा. बद्री केसीसहितको टोलीले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई भेटी रुसको श्रम स्वीकृति खुलाउन माग गरेका हुन् । जारी विज्ञप्तिमा मन्त्री भण्डारीको भनाइ उद्धृत गर्दै भनिएको छ ‘यस सम्बन्धमा खासै धेरै समस्या छैन, परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्छौँ,’
भिजिट भिसा र श्रम स्वीकृतिमा गएका नेपालीहरू रुस पुगेपछि रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएको सार्वजनिक भएपछि सरकारले रुसको लागि श्रम स्वीकृति दिन बन्द गरेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार २०८० पुस १९ गते वैदेशिक रोजगार विभागले रुसका लागि श्रम स्वीकृति दिन रोकेको थियो । त्यसपछि उक्त रोकिएको श्रम स्वीकृति खुलाउन एनआरएनएले दबाब दिँदै आएको छ ।
यसअघि, परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा पनि एनआरएनएका पदाधिकारीले रुसको लागि श्रम स्वीकृति खुलाउन अनुरोध गरेका थिए । यस्तै, शुक्रबारको भेटमा अध्यक्ष केसीले इराकको कुर्दिस्तानमा रहेका नेपालीका समस्याबारे जानकारी गराउँदै तत्काल समस्या समाधानका लागि पहल गर्न पनि अनुरोध गरेका विज्ञप्तिमा उल्लेख छ ।






