
लण्डन २४ जनवरी २०२४ । रुसको जासुसी जहाज दोस्रो पटक बेलायतको जलक्षेत्रमा प्रवेश गरेको छ ।
रुसी जासुसी जहाज ‘यान्तर’ यसै साता इंग्लिस च्यानलमार्फत बेलायती जलक्षेत्रमा प्रवेश गरेको बेलायती नौसेनाले जनाएको छ । यान्तर पहिलो पटक गत नोभेम्बरमा बेलायती जलक्षेत्रमा प्रवेश गरेको थियो । त्यस क्रममा जहाजले समुद्रमुनिको महत्वपूर्ण पूर्वाधार वरपरको अवलोकन गरेको बेलायती अधिकारीहरूले जनाएका थिए ।
बेलायती पनडुब्बीले चेतावनी दिएपछि उक्त जहाज त्यहाँबाट भूमध्यसागरतर्फ गएको थियो । युक्रेनमाथि रुसी आक्रमणसँगै बाल्टिक सागरमा भएको तनावबीच अन्तर्राष्ट्रिय पानीमा रूसी जहाजल बेलायतको जलक्षेत्रमा प्रवेश गरेको समाचार सार्वजनिक भएको हो ।
बेलायती रक्षामन्त्री जोन हेलीले बेलायतले बाल्टिक सागरमा तार तथा अन्य पूर्वाधारहरूको सुरक्षा थप सुदृढ पारेको जनाएका छन् । त्यसका साथै बेलायतले समुद्री गस्ती र निगरानीका लागि उत्तर एट्लान्टिक सन्धी संगठन (नाटो) को प्रयासलाई सहयोग गर्न विमान उपलब्ध गराउन लागेको उनको भनाइ छ ।
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग कुराकानी गर्दै बेलायतको आरोपबारे टिप्पणी गर्न अस्वीकार गरेक छन् ।






