लन्डन १० जनवरी २०२५ । एचआइभीको परीक्षण गरेको भिडियो सार्वजनिक गर्दै बेलायती प्रधानमन्त्री तथा जी–७ राष्ट्रका नेता केइर स्टार्मरले विश्वका अन्य नेतालाई एचआईभी परीक्षण गर्न आग्रह गरेका छन् । नेताले प्ररीक्षण गर्दा यसको प्रभाव सहजै जनतामा पर्ने र उनीहरूले पनि यसलाई पछ्याउने उनको धारणा रहेको छ ।
बेलायती प्रधानमन्त्री कार्यालयले एचआईभी परीक्षणलाई प्रोत्साहित गर्न एक हप्ता लामो राष्ट्रव्यापी पहलको समर्थनमा स्टार्मरले शुक्रबार डाउनिङ स्ट्रिटमा ‘र्यापिड होम टेस्ट’ पूरा गरेको फुटेज सोमबार सार्वजनिक गरेको थियो। युके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) का अनुसार इङ्ग्ल्याण्डमा अनुमानित चार हजार ७०० व्यक्ति एचआईभी सङ्क्रमित भएर बाँचिरहेका छन्।
स्टार्मरले डिसेम्बरमा आफ्नो सरकारले सन् २०३० सम्ममा इङ्ल्यान्डमा नयाँ एचआईभी केसहरू अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । “मलाई लाग्छ परीक्षण गर्ने कार्य विश्वभरका प्रधानमन्त्री र नेताहरूले गर्नुपर्छ र आफ्नो आफ्नो देशमा यसलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ,” उनले बेलायतको मेट्रो अखबारसँग भने ।
“यदि मानिसहरूले परीक्षण गरे भने उनीहरूले आफ्नो स्थिति थाहा पाउनेछन् र यसले रोग फैलिनबाट सावधानी अपनाउन सहजता हुनेछ,” उनले आफ्नो कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भने ।
टेरेन्स हिगिन्स ट्रस्टद्वारा प्रदान गरिएको र स्वास्थ्य र सामाजिक हेरचाह विभागद्वारा वित्त पोषित एक हप्ता लामो परीक्षण पहल, २०१२ देखि इङ्गल्याण्डमा वर्षेनी चलिरहेको छ।
बेलायतमा यो हप्ताभरी राष्ट्रव्यापी रूपमा कसैले पनि निःशुल्क एचआईभी परीक्षणको माग गर्न सक्दछ र माग अनुसार घरमा नै आफ्नो परीक्षण गर्न मिल्ने दुई प्रकारका एचआइभी परीक्षण किटहरू उपलब्ध हुनेछन् । एउटाले १५ मिनेटभित्र नतिजा दिन्छ भने अर्को ‘सेल्फ स्याम्पलिङ’ किटलाई नतिजाका लागि प्रयोगशालामा पठाउन सकिन्छ। यसले भिरिङ्गी (सिफलिस) को पनि परीक्षण गर्न सकिन्छ ।






