भूपू मायालु आकाशतिर उडेर गयौ
म मेरो बारीको डिलबाट हेरिरहेँ
तिमीसँग उडेर जान त कहाँ सक्थेंर
भुइँमान्छे म त
हात हल्लाएर हेरिरहेँ
भूपू मायालु तिमीलाई
हिउँदका ती कठ्याङ्ग्रिने जाडोहरुमा
तिम्रा न्यानो मायाको पर्दाभित्र
लडीबुडी गरेको सम्झेको छु
तिम्रा कोमल औलाको स्पर्शले मलाई
कामुक बनाएको सम्झेको छु
तिम्रा हौसलाले मलाई
नौनीजस्तै पगालीदिएको सम्झेको छु
भूपू मायालु तिमीलाई
औंसीका ती अँध्यारा रातहरुमा
तिम्रो खास्टोभित्र मेरा हातहरु
तिम्रा छाती वरपर
सल्बलाएको सम्झेको छु
न्यानो स्पर्श र चुम्बनले मलाई
पागल बनाएको सम्झेको छु
तिम्रा हौसलाले मलाई
पुरुषार्थ बनाएको सम्झेको छु
भूपू मायालु तिमीलाई
तर
निष्ठुरी तिमी लाहुरेनी बनी
बेलायततिर उडेर गयौ
म मेरो आँगनको डिलबाट हेरिरहेँ
तिमीले मलाई पनि तिमीसँगै
लैजान त कहाँ सक्थौ र
भुइँमान्छे म त
आँखाभरि आँशु बनाएर हेरिरहेँ
भ्यालेन्टाइन्स डेमा सम्झिरहेको छु
भूपू मायालु तिमीलाई






