शुभचन्द्र राईको ‘समयले जन्माएका कथाहरू’ सार्वजनिक

SHARE:

काठमाडौं ४ मार्च २०२५ । कथाकार शुभचन्द्र राईको ‘समयले जन्माएका कथाहरू’ कथासंग्रह सार्वजनिक भएको छ । वाम्बुले राई समाज नेपाल (वाम्रास) संस्थाले ओखलढुंगाको मानेभन्ज्याङ–३ वामद्याल (उँबुगाउँ)मा निर्माण गरेको मुन्दुम सांस्कृतिक
प्रतीक स्वालेवा स्तम्भ पार्क उद्घाटन समारोहमा उक्त कृति सार्वजनिक गरिएको हो ।

संघीय वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, संघीय सांसद रामहरि खतिवडा, संविधानसभाका सभासद् यज्ञराज सुनुवार, राष्ट्रगानका रचनाकार व्याकुल माइला र संस्थाका अध्यक्ष गजुरधन राईले उक्त कृति सार्वजनिक गरेका हुन् ।

ओखलढुंगाको वामद्यालमा २०२४ सालमा जन्मिएका कथाकार राईको यो दोस्रो एकल कृति हो । उनी वाम्बुले राई मातृभाषाका लेखकसमेत हुन् । उनको यसअघि २०६८ सालमा ‘ल्आकाचिम सारिङ्मो’ (रातो भाले) वाम्बुले भाषाको कथासंग्रह प्रकाशित छ ।

कथाकार राईले पूर्वी नेपालको परिचित थलो धरानमा रहेर विद्यालयदेखि उच्च शिक्षा हासिल गरेका हुन् । २०४० सालयता शिक्षण, सामाजिक सेवा, साहित्य सिर्जना तथा लेखन, प्रशिक्षण कार्यमा संलग्न थिएन भने केही वर्षयता बेलायतमा बसोबास गर्दै आएका छन् । उनले आफ्नामा कथावस्तु ग्रामीण परिवेश,
गरिबीले काइपरेको जनजीवन, लाहुरेको सहर भनेर चिनिएका धरानमा हुर्केका युवाहरूमा सल्किएको विकृतिजस्ता विषयलाई मिहिन ढंगले केलाएका छन् ।

संग्रहमा समेटिएका कथाहरू काल क्रमका हिसाबले पञ्चायत काल, बहुदलीय प्रजातन्त्र काल, जनयुद्ध र गणतन्त्र कालका विषय पात्रमार्फत उजागर गरिएको पाइन्छ ।

यो कृति भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको हो । यस संग्रहभित्र ८६ वटा शीर्षक कथा समेटिएका छन् । ‘फिस्टे कान्छाको दसैं बोनस’, ‘गाउँमा साकेला’, ‘बहिनीलाई चिठ्ठी’, ‘खोयाबिर्केको अपार लीला’, ‘बिर्खेको सपना’, ‘सुखको खोजीमा सहर पसेको धनबहादुर’, ‘दिलबहादुरको अनन्त यात्रा’, ‘गलैंचा लाहुरेहरू’, ‘पोथी बास्यो’, ‘आशबहादुरले दसैं मनाएन’, ‘नागरिकता’ छन् ।
यसैगरी ‘पहाडे डाक्टर’, ‘राजनीति’, ‘गाउ“ले बूढाको सन्देश’, ‘फूलमती बजै र पोलियो थोपा’, ‘गुरूसर’, ‘लाहुरेलाई खबर’, ‘मट्याङ्ग्रा’, ‘हाट भर्न हिंडेका राई, लिम्बू र बाहुन’, ‘डलरको खेती’, ‘साइँला र अन्तरेको भाकल’ छन् ।

यस्तै, ‘चरिचुच्चे काजी’, ‘गुइँठे माइला’, ‘भातको लागि बाँचेको एउटा जिन्दगी’, ‘भीमनारायण सरको चिन्ता’, ‘अनि गन्जे एसएलसी प्रथम श्रेणी’, ‘खत्री कान्छा’, ‘धरान उत्सव’, ‘कुलुङ बूढाको अठोट’, ‘भाकल’, ‘लिखुरे’, ‘समय–चक्र’, ‘सिमे देउ’, ‘बाघवीर बूढाको चिन्ता’, ‘झिल्केको बिहे’, ‘सङ्कटकाल’, ‘गाउँमा अरपे लाउरेहरू’, ‘नारी दिवस’ रहेका छन् । यसैगरी ‘झाँक्री कान्छा’, ‘रातो भाले’, ‘काइँलासँगै दुखेको मन’, ‘जम्दार जेठा’, ‘पिउरे कान्छा’, ‘ढाक्रे’, ‘भिरपानी गाउँ’, ‘नयाँ पुस्ता’, ‘बदमास’, ‘प्रतीक्षा’ लगायत शीर्षकमा जीवन्त कथाहरू उनिएका छन् ।

कथाकारले भूमिमा भनेका छन्– ‘समयले जन्माएका कथाहरू तत्कालीन समयको जिवन्त बिम्ब हुन् । धेरैजसो सत्यमा आधारित घटनाहरूलाई केही शृङ्गार गरेर कथाको रूपमा प्रस्तुत गरेको छु भने सम्बन्धित गाउँठाउँमा बसोबास गर्ने जातजाति र चलनचल्तीको बोलीचाली र भाषालाई ठेट रूपमा प्रयोग गरेको छु ।

संग्रह प्रकाशन अलि ढिलो बेसमयमा भएजस्तो लागे पनि ‘अतीतका यादहरू सधैं मिठा हुन्छन्’ भन्छन् त्यसैले यसलाई पनि आदरणीय पाठक वृन्दले मिठो अतीत मानेर ग्रहण गरिदिनु हुने छ भन्ने आशा र अपेक्षा लिएको छु ।’ कथाकारको स्विकारोक्ति रहेको छ । राष्ट्रगानका रचनाकार व्याकुल माइला र लेखक अविनाथ राईले कृतिको भूमिका लेखेका छन् भने पत्रकार गणेश राईले भाषा
सम्पादन गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!