काठमाडौं १९ मार्च २०२५ । नेपालकै सबैभन्दा धेरै धनराशिको ‘पहिचान पुरस्कार’ यस वर्ष कवि राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’लाई प्रदान गरिएको छ ।
भोजपुरको चखियामा मंगलबार पहिचान पुरस्कार कोषले ‘पहिचान पुरस्कार समर्पण समारोह’ आयोजना गरी पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत कवि स्याङ्तान छोराको उपचारका लागि भारतमा रहेकाले उनको प्रतिनिधित्व गर्दै कवि/प्राज्ञ चन्द रानाहोंछालाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य एवं मातृभाषा विभाग प्रमुख लेखक/कवि राजन मुकारुङ पुरस्कार हस्तान्तरण गरे । पुरस्कारको राशि ४ लाख २ हजार रुपैयाँ रहेको छ ।
साहित्यकार सुमित्रा बाङ्देल ‘चेली’ र कवि/साहित्यकार कविता राईले पुरस्कृत कविता र कविको व्यक्तित्वबारे टिप्पणी गरेकी थिइन् । कार्यक्रमको समापनपश्चात् विभिन्न स्थानबाट भेला भएका कविहरुले कविता वाचन गरेका थिए । कोषका संस्थापक नरेश काङमाङ राई छन् ।
उत्कृष्ट आठ पुस्तकमध्येबाट उक्त कृतिलाई पुरस्कार दिने निर्णय कोष गरेको थियो । उक्त कवितासंग्रहले गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानको लागि रगत पसिना साथै जीवन आहुती दिने तामाङ जाति र अन्य भूइँमान्छेहरुले खेपेको शोषणको बारेमा बताएको कोष संस्थापक राईले उल्लेख गरे ।







