गुरुङ रामप्रकाश ‘समथिङ’
नेपाल सरकारले जनजाति हो भनी सूचीकृत गरे अनुसार स्याङतन, चिम्तन र ठिन्तन जातिलाई तीनगाउँले थकाली जाति हो भनेर जनजातिमा सूचीकृत गरेको पाइन्छ । नेपालको हिमाली जिल्ला मुस्ताङ क्षेत्र मुख्य बसोबास रहेको तीनगाउँले जाति अहिले अन्य ठाउँहरु जस्तै– बुटवल, काठमाडौ, पोखरा र जोमसोम जस्ता ठाउँहरुमा पनि बसोबास गर्न थालेको भेटिन्छ । विशेष गरी मुस्ताङ जिल्लाको मार्फा भन्ने गाउँ विकास समितिको वार्ड न. ५, ६, ७ र ८ को स्याङ भन्ने गाउँमा बसोबास गर्ने भएकोले यी जातिलाई स्याङतान भनिएको हो भन्ने भनाइहरु पाइन्छ । अरुले जे सुकै भनेता पनि यी जातिहरु आफूलाई थकाली भन्ने गर्दछ ।
यी जातिमा प्रेम विवाह, चोरी विवाह, मागी विवाह, बहुविवाह र पुन: विवाह गर्ने चलन रहेको छ। । प्राय जसो यी जातिमा सोह्र वर्षदेखि पच्चिस वर्षको उमेरमा विवाह गर्ने गर्दछ । उनीहरु आफ्नै जातिमा विशेष गरी आफ्नै गाउँ बीचमा विवाह गर्ने गर्दछ । यी जातिमा परम्परागत संस्कार अनुसार अन्तरजातीय र हाडनाता विवाहलाई प्रतिबन्ध जस्तै लगाएका हुन्छन् । गुरुङ जातिमा फुपु र मामाको छोराछोरी बीचमा विवाह गरे जस्तो यी जातिमा पनि पूmपू र मामाको छोराछोरी बीचमा विवाह गर्ने परम्परागत चलन थियो । तर वर्तमान समयमा यो चलन कम हुदै गएको देखिन्छ । विशेष गरी मामाको छोरीसंग विवाह गर्ने गर्दछ । यी जातिमा आफूलाई मन परेको केटीलाई घिस्याएर केटाको घरमा लैजाने, होहल्ला गर्ने अनि झैझगडा गर्ने जस्तो गरेर हल्ला गर्ने गर्दछ । त्यसपछि मात्र बल्ल बिहेको व्यवस्था मिलाउने चलन यी जातिको रोचक प्रसंग छ ।
मानव जाति जो जस्तो र जसरी जुन सुकै अवस्थामा जीवन निर्वाह गरीरहेको भए पनि मृत्यु संस्कारलाई आ–आफनो परम्परा र जातिगत संस्कार अनुसार नै सम्पन्न गर्ने गर्दछ । तीनगाउँले थकाली जातिले मानिसको मृत्यु भएपछि घरको मुल कोठामा लगेर लासलाई राख्ने गर्दछ । त्यसपछि तीनगाउँले थकाली जातिमा अहिलेसम्म पनि कायम रहेको चलन भनेको मानिस मरिसकेपछि कालीगण्डकी नदीको पानी (जुन पानीलाई शुद्ध मान्दछ) र बालुवा मृतकको घरबाट गई ल्याउने गर्दछ । अनि ल्याएको पानीले घरको केही भागमा लिप्ने र लिपेको ठाउँमा पानीसंगै ल्याएको बालुवा छरेर लासलाई त्यहाँ ल्याई राख्ने गर्दछ ।
मान्छे मरेको थाहा पाएपछि गाउँले तथा इष्टमित्रहरु भेला हुने गर्दछ । तीनगाउँले थकाली जाति बौद्धमार्गी भएकाले मानिसको मृत्युपछि तुरुन्तै लामालाई बोलाउने गर्दछ । लामा मृतकको घरमा आएपछि मृत्युको घोषणा गर्दछ । तीनगाउँले थकाली जातिको मानिस जुनसुकै बारमा मृत्यु भएको भएपनि लासलाई सोमबार, बुधबार र विहिबार मात्र अन्तिम संस्कार गर्ने चलन छ । मान्छेको मृत्युपछि १०८ वटा मृतकको शान्तिको लागि बत्ती बाली दिने गर्दछन् । अनि मात्र लास उठाउने लामाले साईत हेर्ने गर्दछ । आर्यन जातिमा मान्छे मरेको केही समयमा खोलामा लगेर जलाउने चलन छ । तर तीनगाउँले थकाली जातिमा लामाले साइत हेरेर मृतकको लास निकाल्ने कहिले साइत जुर्छ । सोही जुरेको साइतमा मात्र घरबाट लास निकालेर अन्त्येष्टि गर्ने चलन रहेको छ ।
तीनगाउँले थकाली जातिमा लासलाई जलाउने र गाड्ने दुवै प्रक्रिया अनुसार अन्तिम संस्कार गर्दछन् । लासलाई अन्त्येष्टि गर्न लैजादा लामा, झाक्री र झुमाले ढ्याग्रो र दमाहा बजाउदै लैजाने गर्दछ । लासलाई दागबत्ती दिनु भन्दा अगाडी कुटुम्बले सेतो कपडा लगाउने गर्दछन् । मृतकको छोराहरुले कपाल काटी सेतो कपडा लगाउने गर्दछ । मलामी घर फर्केपछि रक्सी ख्वाउने तीनगाउँले थकाली जातिमा परम्परागत चलन नै छ । अनि तेह्रौ दिनसम्म किरिया बारी शुद्ध हुने गर्दछ ।
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक बाह्र गाउँले जातिको बारेमा लेख प्रकाशन गरिनेछ ।)






