बेलायतमा हिस्सा कहिले खोज्ने?

SHARE:

खिम घले
अघिल्लो दुई साता बेलायत घुम्ने अवसर मिल्यो । एभरेष्ट टाइम्सको दशौं बार्षिकोत्समा सहभागी हुन बेलायत पुगेको बेला बेलायती नेपाली समाजसंग पनि केही घुलमिल हुने, सुन्ने, बुझ्ने मौका मिल्यो । एभरेष्ट टाइम्सकै निमन्त्रणामा सन् २०१४ मा पनि बेलायत पुगेको थिएँ, तर काम बिशेषले एकै सातामा फर्कनु पर्दा अलि खल्लो मात्र भएन । बेलायती नेपाली समाजलाई सुन्ने, हेर्ने र बुझ्ने मौका पनि कमै मिल्यो ।

केही अरु पनि देशमा बसोबास गर्ने नेपालीहरुसँग सम्पर्क र अन्तरक्रिया गर्ने मौका पाएका कारण विदेशमा बसेका नेपालीहरुको सम्बन्धमा केही अनुभवहरु छन् । बेलायतबासी नेपालीहरुका बारेमा दुई साताको बसाईमा बनेका मेरा बुझाईको सिमाहरु छन् । सत्य एउटै हुन्छ भनिएपनि नयाँ बुझाई नबनेसम्म पहिलो बुझाई नै सत्य मानिन्छ । यो सानो लेखमा नत सम्पूर्ण बुझाईको अभिव्यक्ति हुनसक्छ, नत त्यो छोटो बसाईमा सम्पूर्ण सत्यको ज्ञान नै हुन्छ । यद्यपी मैले बुझेको र लागेको विषयहरु प्रस्तुत गर्ने कोशिस मात्र हो ।

नेपालीहरुको विदेश बस्न थालेको वा बिदेशमा घरबास गर्न थालेको धेरै भएको छैन । नेपालीहरु प्रवासिएको इतिहास छोटो छ । गोर्खा भर्ती भन्दाअघि नेपाल बन्द नै थियो । गोर्खा भर्तीले विदेशी सेनामा काम गर्ने मौका जुरायो । यद्यपी दोस्रो विश्व युद्धमा बर्मा पुगेका र भारतीय भूमिमा रहेका नेपाली भाषीहरुलाई छाडेर तेस्रो मुलुकमा अझ विशेष गरेर पश्चिमा विश्वमा प्रवासी बनेका नेपालीको इतिहास लामो छैन । अहिले रहेकाहरु नै पहिलो पुस्ता हो । छिमेकी भारतीय वा चिनियाँहरुकै कुरा गर्ने हो भने बेलायत र अमेरिकामा घरबास बसाएकाहरु पुस्तेनी भइसके ।
राम्रो पक्ष
अन्य मुलुकका भन्दापनि समग्रमा बेलायतमा बसोबास गर्ने प्रवासी नेपालीहरुको अवस्था राम्रो छ । एक त विकासको चरमचुलीमा पुगिसकेको मुलुक, त्यसमा पनि अधिकांश त्यही मुलुकको सैनिक पृष्ठभूमिबाट आएको भएरपनि होला, अन्य मुलुकमा जस्तो सुरुवाती संघर्षको चरणमा बेलायती नेपालीहरु देखिंदैनन् । यसको अर्थ जीवनका लागि संघर्ष नै छैन भन्न खोजिएको होइन, नत संर्घषरत युवाहरु नै छैन भन्न खोजिएको हो । यद्यपी समग्रतामा अरु ठाउँको तुलनामा बेलायती नेपालीहरुको जनजीविका स्थिर छ, उन्नत छ ।

सैनिक पृष्ठभूमिबाट आएका र नेपाली आदिवासी जनजाति कुलमा जन्मेका भएपनि आफ्नो भावी पुस्ताका लागि यो पुस्ताले गरेको संघर्ष र त्याग उदाहरणीय छ । अधिकांश घरहरुमा आफ्ना छोराछोरीको पढाईको कुरा भइरहेका छन् । स्कूलमा छोराछोरी पाएको स्ट्याण्डर्डमा खुशी र चिन्तित् हुने जमात ठूलो छ । कस्को छोराछोरीको पढाई कति पुग्यो, कस्को छोराछोरीले कुन यूनिभर्सिटीमा भर्ना पायो र के विषयमा पढ्दै छन् भन्ने बिषयमा कुराकानी भइरहेको देख्दा साँच्चि नै खुशीको सञ्चार हुन्छ ।

नेपालमा बिशेष गरेर लाहुरे परिवारहरुमा धन सम्पति, सुन र लवाई खुवाईको कुराकानीहरु ब्ढि हुने गरेको देखेको सुनेको हो । तर, तिनै समुदाय बेलायत आइपुगेपछि छोराछोरीको पढाई र उन्नत भविश्यका बारेमा छलफल गर्नु, चासो र चिन्ता बढ्नु भनेको साँच्चि नै राम्रो संकेत हो । वेलायतमा हुर्केका र जन्मीहुर्केका बेलायती नेपालीको दोस्रो पुस्ताको भविश्य साँच्चि नै उज्जवल छ भन्ने संकेत हो ।

बेलायती नेपालीहरुले विदेशी भूमिमा पनि नेपाली संस्कृति, भाषा र विभिन्न जातीय संस्कारहरुलाई गरिरहेको संरक्षण र सम्बद्र्धन साँच्चि नै सह्रानीय छ । विकसित मुलुकको उच्च रफ्तारको जीवन चार्यमा पनि विदाको समय मिलाएर जुन ढंगले नेपालीपन जोगाउनका लागि काम गरिरहेका छन्, त्यसले स्वदेशमै बसेकाहरुलाई पनि पाठ सिकाएको छ । अझ नेपालमा हुने जुन सुकै घट्ना र दुर्घट्नाहरुमा उनीहरुले आफुलाई पनि दुखेको अनुभूति गरेका छन्, त्यो महत्वपूर्ण कुरा हो । त्यसैले त नेपालमा हुने जुनसुकै घट्ना र दुर्घट्नाहरुमा पनि बेलायती नेपालीहरुमा सहयोगी हात बढाउने लहर चलेको छ । सातमै कतिवटा ‘च्यारिटी डिनर’ भइरहेका छन् । तिनमा पुगेर सहयोगी हात बढाउनु सानो मनले संभव छैन ।

अर्को एउटा महत्वपूर्ण परिवर्तन भनेको बेलायतबासी नेपालीहरुले आफुमा बढाएको उद्यमसिलता पनि हो । अरु केही देशमा देखिए जस्तो देशविदेशमा चर्चा कमाउने गरी बेलायतवासी नेपाली धनाढ्यको सूचिमा परेका त छैनन्, तर नेपालीको घनत्व बढेको स्थानहरुमा गरिएका साना ठूला उद्यमहरु उनीहरुमा बढेको उद्यमशिलताको नमूना हो । सयौंको संख्यामा होइन, हजारौंको संख्यामा नेपालीहरुले साना ठूला व्यवसाय गरेका छन् । रेष्टुरन्टदेखि रियलस्टेटसम्म नेपालीहरुले गरिरहेका छन् । त्यसको ग्राहक नेपाली प्रवासी मात्र होइन, बेलायती रैथाने र अरु देशबाट आएका आप्रवासीहरु पनि बनेका छन् । यि सबै संकेतहरुले बेलायतमा नेपाली समुदायको उपस्थिती संख्यात्मक हिसावले मात्र होइन, गुणत्मक रुपमा पनि अघि बढेको छ भन्दा अत्युक्ति नहोला । अझ दोस्रो पुस्तादेखि आप्रवासी नेपालीहरुको बेलायती भूमिमा देखिने खालको उपस्थिति हुनेमा शंका गरिरहनु पर्ने देखिन्न ।

कमजोर पक्ष
समाज र समुदायको विकाससंगै सबै राम्रा मात्र हुदैनन् । कतिपय कमजोरीहरु पनि संगै आएका हुन्छन् । नेपाली समुदायले बेलायती भूमिका बसोबास सुरु गरेपनि छिटो छरितो बेलायती ढाँचलाई भने अझै अनुसरण गर्न सकेको छैन । नेपाली पाराकै ढिलासुस्ती त्यहाँ पनि लिएरै आएको देखियो । खास गरेर नेपाली कार्यक्रमहरुमा यो पारा धेरै देखिने गरेको छ । कार्यक्रमहरु बेलामा सुरु नहुने नेपाली रोग बेलायतमा पनि ज्यूकात्यू देखें । एकै जनाले धेरै कार्यक्रम भ्याउने चलनले पनि यस्तो भएको हुन सक्छ । कार्यक्रम बेलामा सुरु नभएपछि बेलामा सकिंदैन पनि । त्यसको मार धेरैलाई पर्छ तर त्यसमा कसैको खास गुनासो पनि सुनिंदैन । कार्यक्रममा ढिलो आउने प्रमुख अतिथि र छिटो निस्कने पनि उनै, उनैले अर्को कार्यक्रमलाई पनि ढिलो बनाई दिन्छन् । बिशेष गरेर पश्चिमाहरु भनेको बेलामा सुरु गर्छन्, भनेको बेला सिध्याउछन्, त्यसले समयको बर्बादी राकिन्छ, व्यवस्थापनमा सघाउ पुग्छ ।

तिनै कार्यक्रमहरुमा देखिने अर्को एउटा उदेगलाग्दो कुरा के हो भने नयाँ पुस्ताको सहभागिता नहुनु । बिशेष गरेर सप्ताहन्तमा हुने सबै कार्यक्रमहरुमा पाकाहरुकै जमघट हुन्छ । बेलायती जीवनशैलीमा घुलमिल हुन थालेको युवा पुस्ताको लागि यि कार्यक्रम नत चासोको विषय बनेका छ नत यि कार्यक्रमहरु उनीहरुका लागि फिट नै छन् । कतिपयको भनाईमा सम्झाई बुझाई गर्दा एक पटक पुगे पनि दोस्रो पटकदेखि जति सम्झाए पनि जान मान्दैनन् ।

यि कार्यक्रमहरुको प्रमुख उदेश्य नेपालीपनलाई जोगाउने, नेपालमा सहयोग गर्ने, नेपाली कला, संस्कृति र भाषाको संरक्षण गर्ने रहेको हुन्छ । तर, नयाँ पुस्ताको सहभागिता नै नभएपछि उदेश्य परिपूर्ती कसरी होला वा केही वर्षपछि हालत के होला ? यसमा देखिएको मुल समस्या कार्यक्रमहरु युवा पुस्ताको लागि फिट नहुनु नै हो । थाहा छैन, के गर्दा त्यही हुर्कंदै गरेका युवा पुस्ताको ध्यानाकर्षण गर्न सकिन्छ, तर त्यतातर्फ सोच्नु चाही आवश्यकता बनेको देखिन्छ । मेरो दुई साताको बसाईमा मैले एक शब्द अंग्रेजी बोल्नु परेन । सहभागी भएका कार्यक्रमहरुमा नेपाली नबुझ्ने एक जना पनि देखिन र नेपाली बाहेकका भाषामा बोलेको कही सुन्नु परेन । खास गरेर नेपाली संघसंस्थाहरु नेपालमा जसरी नै च्याउ जस्तै खुलेका छन् । अधिकांशका ध्याउन्न आफ्नो समाज घर बनाउने छ, त्यो पनि आफ्नो समाजका सदस्यहरुसंग पैसा उठाएर । नेपालमा पनि त्यसै गररिहेका छन् ।

यि संघसंस्था र तिनका अगुवाहरु नेपाली खाना खान्छन्, नेपालीमै काम चल्छ, नेपाली टिभी हेर्छन्, गाडीमा नै नेपाली रेडियो सुन्छन् । कार्यक्रमहरु गर्दा पनि जति सक्दो विशुद्ध नेपाली बनाउने कोशिस गरेको देखिन्छ । यो एक जना नेपालीको नाताले खुशीको कुरा हो । मैले अघि नै भनिसकें बेलायतमा बसोबास गर्छन्, नेपालमै सुत्छन्, नेपालमै उठ्छन् । यसो भन्दा ठिक होला, एउटा मिनी नेपाल बनेको छ, बनाएका छन् । तर, एउटा पाटो खट्किने खालको छ । त्यो, बेलायती समाजसंगको एकीकरण चाही कहिले हुने त? कि त्यो दोस्रो पुस्ताका लागि छाडि दिने?

आप्रवासी अल्पसंख्यक समुदायको रुपमा बेलायती सामाजिक, राजनीतिक र साँस्कृतिक क्षेत्रमा आफ्नो पहिचानसहितको हिस्सा चाही कहिले लिने त? नेपालको सरकारको समर्थन र अलोचनामा आफ्नो सारा उर्जा खर्च गरिरहेकाहरुले बेलायती राजनीतिक प्रकृयामा हिस्सेदारी कहिले खोज्ने? अव बेला भएन र? केहीले प्रयास गरेको देखिए पनि समुदायमा नेपालका राजनीतिक दलका भातृ संगठन चलाउनेहरुलाई भन्दा पनि कम आँकिएको देखिन्छ । दर्तासम्म नहुने भातृ संगठन चलाउनेहरुलाई समुदायले जति सम्मान दिइरहेको छ, बेलायती राजनीतिमा हिस्सेदारी खोजिरहेका नेपालीहरुलाई सहयोग त्यो भन्दा कम देखिएको छ । केही संस्थाहरुले स्थानीय काउन्सिलहरुसंग समाज घर लिएका र पाएका पनि छन् । के नेपाली समुदायको विकासमा जनप्रतिनिधिहरुको दायित्व हुँदैन र? काउन्सिलहरुले उनीहरुको विकास, सेवा र सुविधा पक्कै पनि हेर्छन् । नेपालमा आएर अल्पसंख्यकको हक अधिकारको बारेमा सिकाउन सक्ने बेलायतले आफ्नै मुलुकको अल्पसंख्यक समुदायलाई सहयोग नगर्ने कुरा भएन । कुरा यति होला, बेलायती नेपालीहरुले त्यो बाटोमा हिस्सेदारी कति खोज्यो भन्ने ।

अन्त्यमा, मैले सुरुमै भनें हरेक मानिसको बुझाईको सिमा हुन्छ । मैले अघिल्लो पटकको एक साता र यो पटकको दुई साताको बसाईमा बुझेको, सुनेको र भएको कुराकानीको आधारमा यो लेख तयार पारिएको हो । छुटेका र कम बुझेका विषयहरु होलान् । मेरो बसाईको क्रममा बेलायतबासी नेपालीहरुले दिएको माया र सद्भाव नेपालीपनकै एउटा नमूना हो । मेरो बुझाईमा बेलायती समाज र राजनीतिमा हिस्सेदारी खोज्ने भनेको पिठो जस्तो उनीहरुसंगै मिसिने भनेको होइन, क्वाटी जस्तो आफ्नो अस्तित्वसहित सहभागी हुने भनेको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!