लन्डन १९ अप्रिल २०२५ । युगकवि सिद्धिचरण श्रेष्ठको खण्ड काव्यमा आधारित नेपाली नाटक ‘भिमसेन थापा’ बेलायतमा लगातार मञ्चन हुने भएको छ ।
सनमकुमार बैराग निर्देशित नाटक भिमसेन थापा २७ अप्रिलदेखि बेलायतका विभिन्न सहरमा मञ्चन हुन लागेको हो । भिजन संसारको प्रस्तुति रहेको नाटक अप्रिल २७ मा साउथ ह्यारोको ह्यारो बोरो फुटबल क्लब, मे ४ र ५ मा इडिनवर्गस्थित हिमालय सेन्टर, मे १० मा साउथ रेडिङ कम्युनिटी हल र १७ मे मा वुलविच ट्रामसेडमा प्रदर्शन मिति तय भएको आयोजक संस्थाहरु नेप्लिज लिटरेचर डेभलपमेन्ट काउन्सिल यूके, हिमालयन सेन्टर, नेपाल स्कटल्यान्ड एसोसिएसन, डान्स नमस्ते फस्ट एडुकेट नेपाल यूकेले जनाएका छन् ।
नाटक हेर्न तोकिएको ठाउँमा बेलुकी साढे ६ बजे पुगिसक्नु पर्ने छ । प्रतिव्यक्ति २० पाउन्ड प्रवेश शुल्क रहेको छ । नाटकको न्यारेसन दुबसु क्षत्री, खगेन्द्र नेपाली, ज्ञानेन्द्र राउत, दुर्गा गुरुङले तयार पारेका हुन् । कोरियोग्राफर चरन प्रधान र सहनिर्माता दिल घले रहेका छन् ।






