गुरुङ रामप्रकाश ‘समथिङ’
बाह्रगाउँले जातिको जनसंख्या कति हो त भन्ने तथ्याङक हेर्दा २०५८ सालको नेपालको राष्ट्रिय जनगणना अनुुसार एक हजार पाँचसय देखि दुई हजारसम्म रहेको तथ्याङक देखाएको छ । २०६८ को राष्ट्रिय जनगणना अनुसार बाह्रगाउँले जाति भनेर जनसंख्या उल्लेख भएको देखिन्न ।
नेपालको थोरै जसो जनसंख्यामा पर्ने जाति मध्येको एक जनजाति हो बाह्रगाउँले । नेपालको मुस्ताङ जिल्लाको थाकखोला, ल्होमान्थाङका र बाह्रगाउँ मुख्य बसोबास क्षेत्र भएका यी जाति हाल आएर मुक्तिनाथ, झोङ, कागबेनी र छुक्साङ गाउँतिर समेत बसेको भेटिन्छन् । यिनीहरु जात र थरको मिसावट भएकोले गुरुङ, विष्ट, ठकुरी र थकाली लेख्ने गरेको भेटिन्छ । आपूmले ठूला जातिका हुँ भन्नेहरुले विष्ट ठकुरी भन्ने गर्दछ । यिनीहरु बस्ने क्षेत्रलाई बाह्रगाउँले भनिएकोले त्यसै क्षेत्रको आधारमा बाह्रगाउँ जातिको नामाकरण भएको हो भन्ने भनाइहरु पनि रहेको पाइन्छ । तर यो नै सत्य हो भन्ने आधार भने पाइन्न । साच्चै भन्ने हो भने उनीहरु बसेको क्षेत्रमा बाह्र गाउँ नै थियो । तर ऐले त्यो बाह्र गाउँ अठार क्षेत्रमा विभाजित गरिएको छ ।
शिक्षा क्षेत्रमा बाह्रगाउँले जाति पछाडि नै देखिन्छ । शिक्षामा पछि परेपछि सरकारी तथा गैरसरकारी संस्थाको जागिरमा सहभागिता देखिन्न । सरकारी जागिरमा संलग्न नभएपछि उनीहरु कृषि पेशामा नै आश्रित भई बाँच्नु पर्ने हुन्छ । कृषि बाहेक उनीहरु घोडा, भेडा, च्याङग्रा, खच्चर र चौरी आदि पालेर आम्दानीको श्रोत बनाउने गर्दछ ।
बाह्रगाउँले जाति ल्होसारलाई नयाँ वर्षको रुपमा चार्ड मानी धुमधामका साथ मनाउने गर्दछ । यो चार्डलाई सबै भन्दा महत्वपूर्ण मानी मनाउने गर्दछ । ल्होसार संगै उनीहरु यार्तोङ भाद्र पूर्णिमामा पर्ने चार्ड पनि मनाउने गर्दछ । यो चार्ड मनाउने बेलामा गाउँका वरिपरिबाट घोडा चढेर आउने गर्दछ । बाह्रगाउँको क्षेत्रमा पर्ने उत्सव गुम्बामा भेला भएर पाँच दिनसम्म रमाइलो गरी मनाउने गर्दछ । विशेष गरी यो चार्ड मनाउने ठाउँमा अठार वर्षमाथि र पच्चिस वर्ष बीचका युवायुवतीहरुको सहभागिता हुने गर्दछ ।
बाह्रगाउँले जातिमा बिहे गर्नेको उमेरको हद खासै तोकिएको नभएता पनि सोह्र वर्ष उमेर पुगेपछि बिहे गर्न थाल्दछ । बाह्रगाउँले जातिमा पनि बहुपति विवाहको चलन कायमै छ । मागी विवाह, चोरी विवाह र प्रेम विवाह गर्ने चलन पनि बाह्रगाउँले जातिमा छदैछ । यो जातिमा कसैले भगाएर बिहे गरेमा केटा पक्षबाट केटीकोमा जाँडको सिसीसहित माफी माग्न जाने परम्परागत चलन भएकोले जाने गर्दछ । माफी माग्न जाँदा पनि सिधै केटीको घरमा गइन्न । केटीको घर भन्दा केही परबाट कराएर माफी माग्ने चलन छ । बहुपति प्रथा अन्तरगत गरिएको बिहेमा जेठा दाजुले बिहे गरेर ल्याएकी घरमा भए जति सबै भाइहरुको साझा स्वास्नीको रुपमा हुन्छे । घरबाट दाजु छुट्टिएर नगएसम्म सबैको साझा स्वास्नीको रुपमा हुन्छे । यदि छुट्टिएर गएमा अरु भाइहरुको हक पनि समाप्त हुन्छ ।
बाह्रगाउँले जातिले पनि बौद्ध धर्म मान्ने भएकोले सम्पूर्ण धार्मिक क्रियाकलापहरु बौद्ध धर्मको विधि विधान अनुसार नै सम्पन्न गर्दछन् । यिनीहरुको सम्पूर्ण संस्कारहरु गर्नको लागि लामालाई नै अगाडि सार्दछ । एका घरभित्रको मानिसको मृत्यु भएमा बाह्रगाउँले जातिमा तीन दिनसम्म सबैले नुन बार्ने चलन रहेको छ । आमा मर्दा दूध र बावु मर्दा तीन दिनसम्म मासु बार्दछ । लोग्ने वा स्वास्नीको मृत्युमा पनि यी जातिका मानिसहरुले नुन बार्ने चलन छ । मानिस मरेको तीन दिनसम्म बारी शुद्ध हुने गर्दछ । अनि एक महिना वा उन्नचासौ दिनमा घेवा गरी सबै मृत्यु कामबाट शुद्ध हुन्छन् ।
सन्दर्भ सामाग्री
१ लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिबासी जनजातिहरु जेष्ठ–२०६६
२ लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३ लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४ लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५ सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६ लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिबासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६
(अर्को अंक मार्फाली जातिबारे लेख प्रकाशन गरिनेछ ।)






