काठमाडौँ ३१ मे २०२५ । काठमाडौँको प्रज्ञा प्रतिष्ठान भवनमा शनिबार ‘दशौं वातावरण साहित्य गोष्ठी’ भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली पर्या साहित्य प्रतिष्ठानको आयोजनामा तथा साहित्य पोष्टको सह–आयोजनामा शनिबार उक्त गोष्ठी सम्पन्न भएको हो । वातावरण र साहित्यको अन्तर्सम्बन्धलाई उजागर गर्दै आयोजना गरिएको यस विशेष कार्यक्रममा वातावरणीय चेतनालाई समकालीन साहित्यिक विमर्शको मूल धारमा ल्याउने प्रयास गरिएको थियो।
गोष्ठीको प्रमुख आकर्षणका रूपमा कवि तथा वातावरणविद् विजय हितानद्वारा लिखित पर्या कविता संग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ को लोकार्पण गरिएको हो। वातावरणीय चेतना, मानव अस्तित्व र प्रकृतिको सजीव सम्बन्धबारे गहिरो अनुभूति प्रस्तुत गर्ने उक्त काव्यसंग्रह नेपाली साहित्यमा एक सशक्त हस्तक्षेपको रूपमा प्रस्तुत भएको आयोजकले जनाएको छ ।
संग्रहमा जलवायु परिवर्तन, प्राकृतिक विपद्, मानव स्वार्थ र प्रकृतिमाथिको दोहनप्रति गहिरो प्रश्न खडा गरिएका छन्। कवि हितानले वातावरण विज्ञानमा स्नातक गरेका छन् र झन्डै दुई दशकदेखि वातावरणीय संरक्षण र जनचेतनाको क्षेत्रमा सक्रिय छन्।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ डा.अभि सुवेदीले काव्यसंग्रहको प्रशंसा गर्दै कविता केवल भावनाको अभिव्यक्तिमात्र नभएर, चेतनाको हस्तान्तरण पनि रहेको बताए । उनले भने,“विजय हितानको काव्यभित्र हामीले वातावरणीय मुद्दाप्रति आत्मीयता र संलग्नताको आह्वान देख्न सक्छौं।”
की–नोट स्पिकरका रूपमा उपस्थित डा. गोविन्दराज भट्टराईले भने, “अब वातावरणीय बहस केवल वैज्ञानिक परिधिभित्र सीमित छैन, साहित्यले पनि त्यसलाई धारिलो ढंगले उठाउन थालेको छ । विजय हितान जस्ता सर्जकहरू यस यात्राका अगुवा हुन्।”
कार्यक्रममा वक्ताका रूपमा डा.गीता त्रिपाठी र डा.अशोक थापाले कविता संग्रह ‘मलाई आर्यघाट लगेर नजलाउनु’ र पर्या निबन्ध संग्रहको समीक्षात्मक मूल्यांकन प्रस्तुत गरेका थिए। डा.त्रिपाठीले हितानका कविताहरूमा देखिएको संवेदना, प्रतीक र प्रकृतिप्रतिको प्रतिबद्धता उल्लेखनीय भएको बताइन्। उनले भनिन्, “यी कविताहरू केवल भावनामा बहिने रचना होइनन्, तिनीहरू चेतनाको झट्का हुन् । जसले हामीलाई भोगिरहेका वातावरणीय संकटप्रति उत्तरदायी बनाउँछ।”
त्यस्तै, डा.अशोक थापाले पर्या निबन्धहरूको संरचना, तर्क र अभिव्यक्तिको शैलीको प्रशंसा गर्दै यस्ता निबन्धहरूले भविष्यको नीति निर्माणमा समेत योगदान पुर्याउने सम्भावना रहेको बताए । उनले भने, “यस्ता निबन्धहरू केवल प्रतियोगिताका लागि लेखिएका होइनन्, तिनीहरू नयाँ पुस्तामा वातावरणप्रति जिम्मेवार चेतनाको बीजारोपण हुन्।”
यसै अवसरमा देशभरबाट प्राप्त १०८ निबन्धहरूमध्ये उत्कृष्ट ३२ निबन्धहरूको संग्रह विमोचित गरिएको थियो। साथै, प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने निबन्धकारलाई पुरस्कार प्रदान गरिनुका साथै बाँकी २९ प्रतियोगीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमको सञ्चालन तथा संयोजन कवि विजय हितानले स्वयं गरेका थिए। गोष्ठीको समापनमा उनले भने, “आज हामी वातावरणीय संकटको डिलमा छौं। यो संकटविरुद्धको संघर्ष केवल वैज्ञानिक र राजनीतिक जिम्मेवारी होइन, साहित्यले पनि समवेत स्वरमा त्यसमा उत्रनुपर्छ। मलाई लाग्छ, लेखन अब थप गम्भीर र प्रतिबद्ध हुनुपर्छ।”
गोष्ठीमा विभिन्न क्षेत्रका साहित्यकार, वातावरणविद्, विद्यार्थी, पत्रकार र सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले वातावरण र साहित्यबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजान महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।






