नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको आयोजना १६औं अभिव्यक्ति शृङ्खला कार्यक्रम सम्पन्न

SHARE:

लन्डन ९ जून २०२५ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतको आयोजना १६औं अभिव्यक्ति शृङ्खला कार्यक्रम सम्पन्न भएको छ । शनिबार ७ जुन २०२५ मा आसफोर्डस्थित साइमन चर्चहलमा भएको कार्यक्रममा कवि तथा समालोचक देवेन्द्र खेरेसलाई मञ्च प्रदान गरिएको थियो । करिब दुई घण्टा चलेको कार्यक्रममा स्रस्टा खेरेसले १५ थान आफ्ना उत्कृष्ट रचनाहरू प्रस्तुत गरी उपस्थित दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए । रचना प्रस्तुतिका लागि सशक्त युवा कविहरू निर्भीकजंग रायमाझी र अन्जु अन्जलीले साथ दिएका थिए ।

अभिव्यक्ति शृङ्खलाका सभापति र प्रमुख अथिति बेलायतका लागि नेपाली राजदूत चन्द्रप्रसाद घिमिरेले पानसमा दिप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए । राजदूत घिमिरेले कार्यक्रममा नेपाली भादगाउँले टोपी र ताम्रपत्रले स्रष्ट खेरेसलाई सम्मान गरे । कार्यक्रममा संस्थाद्वारा प्रकाशित वरिष्ठ कवि तथा मुन्घुम अन्वेषक बैरागी काइँलाको सामाजिक तथा सृजनात्मक आयामको बारेमा लेखिएको कृति ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ प्रमुख अतिथि घिमिरे र प्रतिष्ठानका अध्यक्ष टंक वनेमले लोकार्पण गरेका थिए । उक्त कृतिमा विभिन्न कवि, लेखक तथा प्राज्ञहरूको गहन लेखहरू समावेश छ ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राजदूत चन्द्रप्रसादले खेरेसका कविताहरू सुनेर एक अंग्रेजी भनाइ “तिमीसँग घडी छ तर हामीसँग समय छ”को सम्झना आएको बताए । उक्त भनाइको मर्मलाई कविताले बोकेको उल्लेख गरे । ‘कतै कविले विगतलाई बोकेर हिँडेको त हैन भन्ने प्रस्तुत कविताहरूमा महसुस भयो,’ उनले भने ।

‘मानिस जहाँ पुगे पनि आफ्नो गाउँ, आफ्नो देश, आफ्नो माटो र भाषालाई छोड्न सकिँदैन । त्यो छोड्न नसक्नुको भाव छ, त्यो कवितामा ओतप्रोत भएको पाएँ,’ उनले भने । राजदूत घिमिरेले सबैले कवितामा डुबेर, कविता बोकेर घर जान अनुरोध गरे ।

यसैगरी सभापति टंक वनेमले कवि देवेन्द्र खेरेसको सृजनात्मक यात्राको संक्षिप्त परिचय दिँदै प्रवास जीवन भोगाईका पाटाहरूलाई कवितामा उतारेको बताए ।

दोस्रो भागमा संस्थाका महासचिव गुरूङले अभिव्यक्ति शृङ्खलाको संक्षिप्त परिचय दिँदै स्रस्टाका बायोग्राफी पढेर सुनाउनुका साथै हालसम्म अभिव्यक्ति शृङ्खलामा मन्च प्रदान गरिएका श्रस्टाहरुको नामावली वाचन गरे । ५० को दशकबाट कविता लेख्न सुरू गरेका खेरेसका दई कृतिहरू रूङ्रीको बयान र नदी किनारा (कवितासङ्ग्रह २०६५) र कोलम्बस यात्रा (कवितासङ्ग्रह २०७५) प्रकाशित छन् । कवि खेरेस हङकङ डायस्पोराबाट नेपाली कविता साहित्यमा उदाएका एक सशक्त कवि हुन् ।

नेपाली कविता लेखनमा अलग पहिचानको मान्यता राख्ने उनका कविताहरू काव्यिक इतिहासको एउटा महत्वपूर्ण खुराक बन्न सक्दछ । कवितामा नोस्टाल्जिक प्रेम, युगौँ देखिको आदिवासी पीडा र अस्तित्वको खोज र अन्वेषण भेटिन्छन् । प्रवासबाट आफ्नो जन्मभूमिलाई समर्पित कवितामा यन्त्रवत जीवनका भोगाइहरू छटपटिएका छन् । थोरै कविता लेखेर पनि परम्परालाई तोड्न सकिन्छ र नयाँ परम्पारको थालनी गर्न सकिन्छ भन्ने सबूत प्रमाणका रूपमा कवि खेरेसका कविताहरू बुझ्न सकिन्छ । कवितामा नेपालको पुरातनपन्थी सोचसँग विमती राख्छन् आक्रोशको ज्वारभाटा उकेल्छन् । कवि आफ्ना कविताहरूमा क्रमभङ्गताको पक्षमा उभिएका छन् ।

उनका कवितामा नवीन चिन्तन, नवीन शैली र नवीन विद्रोह भेट्न सकिन्छ । कविता सवै विषयवस्तुमा उनले धेरै ठाउँ आफू जन्मेको भूगोल छोडेर डायस्पोरामा हुनुको पीडालाई महत्वका साथ उठाएका छन् । समय अनुसार नयाँ चेतनाको विकासको वरण आजको मान्छेले गर्नुपर्ने तथ्यलाई अघि सारेका छन् । उनका कवितामा मिथक, बिम्व, प्रतीक र भाषाको समेत सुन्दर संयोजन भएको पाइन्छ ।

नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले स्थापनाकालदेखि बेलायतमा प्रत्येक वर्ष अभिव्यक्ति शृङ्खला आयोजना गरेर एकजना स्रस्टालाई मञ्च प्रदान गरेर स्रस्टाको सृजनाहरू प्रस्तुत गर्दै आइरहेको छ । सन् २००७ मा गायक तथा संगीतकार चोक गुरूङलाई मञ्च प्रदान गरी अभिव्यक्ति शृङ्खला सुरू गरिएको थियो । त्यसपछि कवि तथा निबन्धकार दयाकृष्ण राई, कवि तथा कथाकार टंक वनेम, संगीतज्ञ किसोर गुरूङ, कवि तथा गजलकार अञ्जु अञ्जली, गायक नोर्देन तेन्जिङ भूटीया, कवि तथा नाट्यकर्मी शशी थापा सुब्बा, कवि तथा कथाकार रक्ष राई र कवि तथा गीतकार निर्मला परिवेश राई, कवि डा. रूपक श्रेष्ठ,साहित्यकार गणेश राई, जानु काम्बाङले प्रस्तुति दिइसकेका छन् ।

सन् २०२० सालमा कोभिडको कारण रोकिएको शृंखला सन् २०२१ सालमा भर्चुअलमार्फत कवि कोमल मल्ललाई मञ्च प्रदान गरिएको थियो भने २०२३ मा गायक धन किरण गुरूङ र २०२४ मा गायक तथा साहित्यकार नरेश नातिले प्रस्तुति दिएका थिए ।

कार्यक्रमको अन्त्यमा सभापति नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका अध्यक्ष टंक वनेमले १६औं अभिव्याक्ति शृङ्खलाको स्रस्टा र कार्यक्रमलाई सफल पार्न प्रायोजन तथा व्यवस्थापनमा सहयोग पुर्‍याउने विभिन्न संघ संस्था, व्यक्ति/व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन दिँदै आगामी दिनहरूमा पनि सहयोग पाउने अपेक्षा राख्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

कार्यक्रममा आमन्त्रित विभिन्न संघसंस्थाका प्रमुखहरू, प्रतिनिधिहरू, कला, साहित्य, संगीत सम्बद्ध बौद्धिक व्यक्तित्वहरू र पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थित रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!