
नयाँ दिल्ली १२ जून २०२५ । भारतको पश्चिमी सहर अहमदाबादमा बिहीबार लन्डन जाने यात्रु विमान दुर्घटना भएको छ । विमानमा दुई सय ४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन् । एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ ।
लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् ।
भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताए । एएफपीका पत्रकारले विमानस्थनमा कालो धुवाँको बाक्लो मुस्लो देखे ।
भारतको नागरिक उड्डयन प्राधिकरणले भन्यो, “जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित दुई सय ४२ व्यक्ति सवार थिए ।” विमानमा एक सय ६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानाडाली यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ ।






