
लन्डन २८ जून २०२५ । लिम्बुवान स्वायत्तताको पक्षमा सामाजिक ढङ्गले साढे एक दशकदेखि क्रियाशील लिम्बुवान नागरिक समाज यूकेले इतिहासकार, साहित्यकार, भाषाविद् स्व. इमानसिंह चेम्जोङलाई काङ्सोरे पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
सन् २००९ मा बेलायतमा स्थापना भएको समाजले लिम्बुवान प्राप्तिका लागि योगदान पुर्याउँदै आएका व्यक्तित्वलाई तीन–तीन वर्षमा पुरस्कार प्रदान गर्दै आएको छ। सन् २०२२ (वि.सं. २०७९) मा पहिलोपटक पाँथर याम्बोङका नेता वीर नेम्वाङलाई सो पुरस्कार प्रदान गरिएको थियो।
यस वर्षको काङ्सोरे पुरस्कार (सन् २०२५/वि.सं. २०८२) स्व. चेम्जोङलाई मरणोपरान्त प्रदान गरिने समाजले जनाएको छ। इतिहास, भाषा, लिपि, अनुसन्धान, प्राज्ञिक अन्वेषण तथा लिम्बुवानको राजनीतिक चेतनामा पुर्याएको योगदानका आधारमा पुरस्कार छनोट समितिले उनलाई योग्य ठहर गरेको हो।
पुरस्कार असार २१ गते शनिबार (जुलाई ५) लिम्बुवानको विजयपुर नगरी धरानमा प्रदान गरिनेछ। पुरस्कार राशिमा नगद एक लाख रुपैयाँ र ताम्रपत्र रहेको छ।
लिम्बुवानका सेनापति काङ्सोरे लिम्बुको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार सन् १७७४ मा गोरखाली सेनासँगको युद्धमा अरुण र सभाया खोलाको दोभानमा सहादत प्राप्त गरेका काङ्सोरेको सम्मानमा प्रदान गरिन्छ ।






