दसैं राजनीति कि संस्कृति ?

SHARE:

मोहन गोले तामाङ
यतिबेला हिन्दूहरुको महान् चाड भनिने बडादसैं सुरु भएको छ । रेडियो, टेलिभिजनमा दसैंको धुन गुन्जिरहेका छन् । पत्रपत्रिकामा दशैंया शुभकामनाले पेज भरिएको छ । सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक स्थानहरुमा दसैंको शुभकामना आदानप्रदान भइरहेको देख्न सकिन्छ । लाखौं निर्दोष प्राणीहरुलाई बली दिएर मनाइने पर्वमा समेत मान्छेहरु बुझेर या नबुझेर व्यर्थको शान्ति अलापीरहेका छन् । अनावश्यक खर्च, तडकभडक, आक्रमकशैलीको प्रचारप्रसार र चहलपहलको हिसाबले नेपालमा मानिने पर्वहरुमध्येकै सबैभन्दा ठूलो पर्व बडादसैं नै हो । त्यसैले त यसले राष्ट्रिय पर्व र बडापर्वको पदवी पायो ।

आधुनिक नेपालको विस्तार अघि यो पर्व बडापर्वको रुपमा स्थापित भएको कहींकतै पाइँदैन । त्यसताका यहाँका रैथाने जातिहरु उद्यौली उभौली, ल्होछार, लोसार, माघी, माघे संक्रान्तिजस्ता मौलिक संस्कृतिमा आधारित पर्वहरु मान्दथे । तर, राज्यसत्ताको श्रीपेच जुन समुदायको सर्दारहरुले लगाए, दसैं पनि उसँगसँगै उदाएको इतिहास छ । कुनै राजनीतिक घटनाक्रमपछि उदाउने संस्कार र यस्ता पर्वहरु राजनीतिक हो कि सांस्कृतिक हो ? यो हामीले बुझ्नुपर्दछ । ढिलै भएपनि पछिल्लो चरणमा यससम्बन्धी बहसको प्रारम्भ भएको छ । कुनै पनि पर्व राजनीति हो कि संस्कृति हो भन्ने कुराको निक्र्योल यसको सुरुआती इतिहास अध्ययनबाट निर्धारण गर्न सकिने कुरा हो । कुन प्रसंगबाट त्यो पर्व मान्न थालियो भन्ने ऐतिहासिक पक्षलाई बुझेर मात्र राजनीति वा संस्कृतिको टुंगोमा पुग्न सकिन्छ ।

मानव समुदायको प्रकृतिसँगको तादम्यता र निरन्तर सम्पर्कबाट स्थापित पर्वहरु जसले समय सूचनाको समेत काम गर्दछ भने त्यस्तो पर्वहरु सांस्कतिक पर्व हो । जसले मानिसको दैनिक जीवन प्रक्रियासँग सामिप्यता राख्दछ र त्यस भूगोलभित्र बस्ने सबैको लागि त्यो साझा नियम बन्दछ । यदि उसले त्यसलाई अस्वीकार गरेको खण्डमा लगत्तै उसको जीवनमा त्यसको प्रभाव पर्दछ । जस्तोः तामाङ समुदायले मान्ने सोनाम ल्होछार पर्वलाई उदाहरणको रुपमा लिउँ । यो पर्व तामाङको जन्मेदेखि मृत्युसम्म अति आवश्यकीय ल्हो परम्परामा आधारित छ । उसको जीवनको प्रत्येक घडी, प्रत्येक दिन त्यही परम्परा र विश्वासबाट सञ्चालित हुन्छ । प्रकृतिको गतिसँग सम्बन्धित पर्व हुनाले यसले कुन समयमा कुन खेतिपाती लगाउने, कुनबेला कुन बाली सप्रिने, बिग्रने तथा कुनबेला बर्षात् हुने र खडेरी पर्ने आदि कुराको समेत जानकारी दिन्छ । तसर्थ, आदिवासी ज्ञानबाट स्थापित यस्तो ल्हो विज्ञानलाई अस्वीकार गरेर तामाङ समुदायको मौलिक जीवनशैली अघि बढ्नै सक्दैन । त्यस्तै उद्यौली, उभौली पर्वको मान्यताअनुसार जाडोमा उसले हिमाली क्षेत्र छोडेर उधों नझरे कठ्याँग्रिएर मर्नुपर्छ । उसको कृषि जीवनमा असर पुग्छ र पालेको वस्तुभाउसमेत मर्ने हुन्छ । बसोबासको हिसाबले फेरि गर्मी सिजनमा उभों लाग्नुपर्छ । यस्तो विज्ञानसम्मत महत्व बोकेको पर्वलाई अस्वीकार गरेर उसको रैथाने जीवन प्रक्रिया चल्दैन । त्यसकारण सांस्कृतिक पर्व भनेको त्यो हो, जो रमाइलोको लागि मात्र मनाइँदैन । जीवन धान्नको लागि अनिवार्य रुपले प्रकृतिको नियमभित्र रहेर मान्ने गरिन्छ ।

तर कसैले कसैको हत्या गरेको, कोहीमाथि कसैले विजय प्राप्त गरेको, कोहीमाथि हावी भएको अवसरमा या कुनै प्रभुत्वशाली समुदायको निश्चित मान्यताहरु जर्बजस्त अन्य समुदायमा लागू गराउन मानिएको चाड हो भने त्यो राजनीतिक पर्व हो भनेर बुझ्नुपर्छ । जुन पर्व नमान्दा उसको प्राकृतिक जीवनमा कुनै प्रभाव पर्दैन तर उप्रति सत्ताको राजनीतिक कुदृष्टि रहन्छ । उसलाई समाजमा सत्ताबाट प्रायोजित प्रचारको विरोधी पात्रको रुपमा चिनाइन्छ । यसबाट दसैं नमान्दा रैथाने समुदायले विगतमा देशद्रोही, अराष्ट्रिय तत्वजस्ता आरोपको सामना गर्नुपर्‍यो भने अहिले बिखण्डनकारी, जातिवादी, संस्कृतिविरोधी र एकताविरोधी जस्ता आरोपको सामना गर्नु परिरहेको छ । यो पढेपछि लेखकलाई पनि त्यही लाईनमा उभ्याइने छन् । तर सत्य त केलाउनै पर्छ । यसलाई बुझ्न दसैंशास्त्रको इतिहासले के बताउँछ ? भन्ने पाटोलाई नै मुख्यगरी हेर्नु आवश्यक छ ।

खासगरी नेपालमा दुईवटा दसैं मान्ने गरिन्छ । एउटा सानो चैते दसैं, जो चैत महिनाको कृष्ण अष्टमीमा मनाइन्छ । अर्को बडादसैं, जो असोज–कात्तिक महिनातिर घटस्थापनाको दिनदेखि सुरु भई पुर्णेसम्म लगभग १५ दिन जति मनाइन्छ । उत्पादन कार्यलाई समेत प्रभावित पार्ने गरी १५ दिनसम्म दसैं मनाउँदा आर्थिक अवस्था कमजोर भएका कतिपय घरपरिवारको सदस्यहरु दसैं मानेकै कारण मुगलान भासिनु पर्ने अवस्थासमेत आउँछ । त्यसैले नेपाली समाजमा एउटा चल्तीको उखान छ– आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई ।

हामीमा धेरै मान्छेहरु यस्ता चेतनाको छौं जो दसैंको ऐतिहासिक पक्षको बारेमा सामान्य जानकारी पनि राख्दैनौं । दसैंशास्त्रसँग जोडिएको देवी भनिने पात्र दुर्गा र राक्षस भनिने पात्र महिषासुरको कथा रेडियोमा सुन्छौं । टेलिभिजनमा हेर्छौं तर प्रश्न गर्दैनौं । किनकि नेपालको राज्य धर्मले हामीलाई प्रश्नबिनाको मान्छे बनाइदिएको छ । चोकचोकमा दुर्गा, महिषासुरको युद्ध भएको र बध गरिएको मूर्ति बनाएर पूजा गरिन्छ, नाटक खेलाउने र भजन गाइरहेका हुन्छन् । हामी मानवनिर्मित मूर्तिलाई श्रद्धापूर्वक ढोगेर ढुक्कसाथ घर फर्किन्छौं । ठूलै फल प्राप्ति हुने आशा पनि गर्छौं तर हाम्रो मनमा कुनै प्रश्न उब्जिदैन । किनकि हिन्दू राष्ट्रको ईश्वरवादले हाम्रो भौतिकवादी चिन्तनलाई मारिदिएको छ । जो शक्तिशाली ईश्वरको अगाडि मृत्युशैय्याबाट उठेर तर्क गर्ने हिम्मत राख्दैन । यो सवालमा आफूलाई ठूला कम्युनिस्ट हुँ भन्ने कमरेडले पनि रामनामी बर्को ओढेर लाजले मुख छोपेको देखेको छु ।

हामीले बुझ्नुपर्ने पक्ष के हो भने कुनै पनि पर्व सांस्कृतिक हो भने त्यसले कसैको हार, जीतको कथासँग सम्बन्ध राख्दैन । दसैंसँग जोडिएको कथामा दूर्गालाई सत्यको प्रतिक र महिषासुरलाई असत्यको प्रतिकको रुपमा चित्रण गरिएको छ । हिन्दू पुराणका लेखकहरुले दूर्गालाई कहीं नभएकी बिछट्टै राम्री, मृग नयनी, हात्तीको सुडजस्तो हातपाखुरा भएकी, ३२ लक्षणले युक्त सुन्दरी र अनार्य नश्लका राजा महिषासुरलाई कालो अनुहारको, अलछिना, लामालामा दाह्रा पलाएको र हेर्दै डरलाग्दो भनेर ब्याख्या गरेको छ । दुर्गा आर्य कन्या हुन्, जसलाई पछि दुर्गा माता भनेर पूजा गरियो भने महिषासुरलाई कसैले यादव वंशका, कसैले द्रबिडियन वा किराती मूलका हुनसक्ने अनुमान गरेका छन् । जसले गर्दा अहिले पनि भारतको उडिसा, झारखण्ड क्षेत्रका आदिवासीहरुले यो उत्सवको विरोध गर्छन् । त्यही पुराणे ब्याख्याअनुसार मुर्तिकारहरुले पनि महिषासुरको डरलाग्दो आकृतिको मूर्ति बनाइदिए । वास्तवमा आर्य मान्यता अस्वीकार गर्ने महिषासुरको बध गर्न इन्द्रले यो प्रपञ्च रचेका हुन् । आफूले जित्न नसकेपछि अन्तमा दुर्गा नामको कन्यालाई पठाएर महिषासुरको बध गरियो । यो युद्ध चैत महिनाको कृष्ण अष्टमीदेखि सुरुआत भई असोज कातिक शुक्लपक्षमा पर्ने महानवमीको रात महिषासुरको बधसँगै अन्त भएको थियो । यसकारण चैत कृष्ण अष्टमी जो युद्ध सुरुआत भएको दिन हो, त्यसलाई सानो सुरुआती चैते दसैं भनियो । जसमा टीका लगाइँदैन, मासुभात खाएर रमाइलो मात्र गरिन्छ भने कात्तिक कृष्णपक्षको दशमी तिथि जो विजय प्राप्त गरिसकेको हुँदा टीका लगाउने परम्परा बसाइयो । महानवमीको राति महिषासुरको बध गरेर त्यसको भोलिपल्ट उसको रगतमा चामल मुछेर टीका लगाउँदै सबै आर्यगणले विजयोत्सव मनाए । एक हप्तासम्म आफ्नो समुदायमा टीका लगाएर खुसीयाली मनाउन उर्दी जारी गरे । जसले गर्दा अहिले पनि रातो रंगलाई महिषासुरको रगतको प्रतिक मानेर टीका लगाउने गरिन्छ । त्यसैले यस्तो टीका जो विजय प्राप्त गरेका समुदाय हुन्, उनले आफ्नो पूर्खाको वीरताको मालश्री गाउँदै खुसी मनाउनु स्वाभाविक होला । तर हारेका जनजातिहरुले पनि रातो टीका लगाएर खुसी मनाउनु अज्ञानता सिवाय अरु केही होइन ।

अर्कोतर्फ आर्य कन्या दुर्गाले महानवमीमा अनार्य महिषासुरको बध गर्नु अघिको ६ महिनाभन्दा लामो समयसम्म इन्द्र र उसका फौजले महिषासुरसँग लडाइँ लडेका हुन् । दुर्गा एक्लैले यति लामो समयसम्म लडिरहनु कल्पनाभन्दा बाहिरको कुरा हो । लामो लडाइँमा पनि इन्द्रले महिषासुरलाई हराउन नसकेपछि दुर्गा नामको विषकन्यालाई पठाएर हत्या गर्न सफल भए । दुर्गा एउटा अवला नारी जसले कथामा वर्णन गरेजस्तो महिषासुर जस्तो वीर पुरुषलाई आमनेसामने लडेर मार्न सम्भव नै छैन । कथामा दुर्गाको १८ वटा हात, त्यत्तिकै संख्यामा खुट्टा भएको, सिंहमा चढेर हिँड्ने सिंहबाहिनी, छिनछिनमा रुप परिवर्तन गर्न सक्ने बहुरुपिणी भनेर व्याख्या गरिएको छ । महिषासुरलाई भने राँगाको रुपधारण गरेर आएको भनेको छ । जबकि युद्धमा राँगाभन्दा मान्छे भएर लड्नुमै सहज हुन्छ । यो जितारु कथाकारको अतिरञ्जित बढाइचढाई हो । अहिलेसम्म विज्ञानले दुईवटा भन्दा बढी हात भएको मान्छेको पुष्टि गरेको छैन । त्यसो त, हिन्दूको सबैभन्दा पुरानो ऋगबेदमा पृथ्वी चेप्टो छ, यसको बीच भागमा सबैभन्दा अग्लो सुमेरु पर्वत छ, पृथ्वीलाई शेषनागले अडाएको हुँदा नागले काँध फेर्दा भूकम्प गएको हो भनेर मनगढन्ते कुरा उल्लेख गरेका छन् । त्यस्ता हावादारी कुरा आजको २१ औं शताब्दीका बाहुन युवाहरुले घोकेको देख्दा भने लेखकलाई उदेक लागेर आउँछ । त्यसकारण दुर्गा त्यस्तो शक्तिशाली कन्या हुँदै होइनन्, हुनै सक्दैन । केही इतिहासकारको दाबीअनुसार उनी विषकन्या हुन् भन्नेमा चै सत्यको नजिक देखिन्छ ।

त्यसबेला दुई तरिकाले विषकन्या उत्पादन गरिन्थ्यो । एउटा सुन्दर युवतीको गुप्ताङ्गमा विषको अदृश्य लेप लगाउने र अर्को बच्चैदेखि विष सेवन गराई त्यसको मात्रा बढाउँदै लगी तरुनी हुने बेलासम्ममा जस्तोसुकै बिष पचाउन सक्ने विषकन्या उत्पादन हुन्थ्यो । त्यसकारण इन्द्रले युद्धमा महिषासुरलाई हराउन नसकेपछि उनको दरबारमा दुर्गा नामको बिषकन्या पठाएका हुन् । तिनै रुपवती विषकन्या दुर्गासँगको सम्पर्कबाट महिषासुरको मृत्यु हुन गएको हो । कथामा महिषासुरलाई मध्यरातको समयमा हत्या गरिएको उल्लेख छ । जब कि त्यसबेला युद्धको नियम दुवै पक्षले खुबै पालना गर्थे । उज्यालो भएपछि युद्ध सुरु भएको घोषणा गरेर नै लडाइँ लड्थे र साँझ परेपछि शंख बजाउँदै घोषणा गरेर नै युद्धविराम गरिन्थ्यो । त्यसैले उनलाई युद्धमा हराएर मारेको भए दिउँसो मार्नुपर्ने देखिन्छ । यसबाट बुझ्न सकिन्छ कि इन्द्रले युद्ध विरामको अवस्थामा रातको समय पारी युद्धमा थाकेर आराम गरेका महिषासुरको शयनकक्षमा बिषकन्या दुर्गालाई पठाएर नै हत्या गरिएको हो ।

किनकि त्यस कालखण्डमा विश्वविजेता सिकन्दरलाई समेत हत्या गराउन उनको राज्यमा शत्रुपक्षले विषकन्या पठाएको थियो । तर, गुरु अरस्तुले थाहा पाई उनलाई रोकेर बचाए । पछि परीक्षणको लागि दासहरुलाई चुम्बन गराउँदा उनीहरु मरेपछि सिकन्दरले ती कन्याको टाउको छिनाई आगोमा फ्याँक्न लगाए । चन्द्रगुप्तलाई समेत हत्या गर्न विषकन्या पठाएका थिए । बिषकन्याबाट हत्या गरिएका यस्ता थुप्रै घटनाहरु छन् । त्यसबेला आजको जस्तो शत्रुसँग लड्ने आधुनिक हातहतियार नहुँदा कि जालझेल, छलकपट गर्नुपथ्र्यो कि मल्ल युद्ध नै लड्नुपथ्र्यो । संसारकै महादानी राजाको रुपमा चिनिने बली राजालाई छलकपटबाट बिष्णुले पात्ताल पठाएको थियो । त्यसबेला आर्य नायक इन्द्र र उसको बंश, प्रजाति बस्ने सिन्धु नदीको उर्वर क्षेत्रलाई स्वर्ग, देवलोक भनि वर्णन गरिएको छ । यसैगरी गर्मी, भोक र रोगग्रस्त क्षेत्र अरब, अफ्रिकी क्षेत्रलाई पात्ताल, नर्कलोकको संकेत गरिएको छ । तर हिन्दू कथामा भनिएजस्तो काल्पनिक स्वर्गलोक र नर्कलोक कतै अस्तित्वमा भेटिँदैन ।

त्यसैले कथाले पुष्टि गर्छ– दसैं सांस्कृतिक पर्व होइन, राजनीतिक पर्व हो । एउटाले जितेको, अर्कोले हारेको दिनलाई सबैको साझा, एकता र विजयको सांस्कृतिक पर्व मान्न मिल्दैन । जितेकोले मान्नु स्वाभाविक होला तर हारेकोले पनि ६ महिना अघिदेखि गोठमा राँगा, सुंगुर पोस्नु, १५ दिन अघिदेखि दाँत तिखार्नुमा कुनै गुन्जाइस् छैन । हारेकोले त पश्चाताप गर्ने हो, समीक्षा गर्ने हो र कसरी जित्न सकिन्छ भनेर योजना बुन्ने हो । तसर्थ, दसैं जितेको विजित पक्षले आफ्नो वंशको कथालाई स्थापित गराउन सांस्कृतिक पर्वको हल्ला चलाए ।

हामी सत्य खोज्नेतिर नलागी हल्लाको पछि दौडियौ । दसैं मान्न अस्वीकार गर्ने रामलिहाङ र रिदामा दुई आठपहरिया युवाहरुलाई वि.सं. १९२४ मा जंगे राणाले हत्या गरेकोबाट पनि यो राजनीतिक पर्व हो भनेर बुझ्नमा सहयोग पुर्‍याउँछ । दुईजनालाई मारेपछि उसका अन्य आठपहरिया दाजुभाइहरुलाई राँगा र बोका काटेर दसैं मान्य बाध्य पारियो । दसैं नमाने रिदामाकै हालत हुने चेतावनी दिइयो । दसैं नमान्ने लिम्बूहरुको किपट खोस्ने धम्की दिइयो । सांस्कृतिक पर्व मान्नको लागि राज्यले यसरी आदेश दिनु पर्दैन, प्रकृतिले पो दण्डित गर्छन् ।

अहिले पनि राणा खलकमा बिजयादशमीको दिन खुल्ला ठाउँमा उभिएर हावामा नाङ्गो तरबार नचाउने चलन छ । यो एकप्रकारको राजनीतिक युद्ध अभ्यासको निरन्तरता हो । २००७ सालसम्म दसैं नमान्ने जनजातिहरुलाई कारबाही गरिन्थ्यो । दसैं सकिनासाथ छड्के निरीक्षणमा कालो दौरा सुरुवाल लगाएको सिपाहीहरु गाउँ गाउँमा खटाइन्थ्यो । उनीहरुले बलिपूजा गरे/नगरेको, ढोकामा रगतको पञ्जाछाप लगाए÷नलगाएको प्रमाण हेर्थे । दसैं भाग भनेर राँगा, सुंगुरको मासुमासु भएको साप्रो राणाको पहरेदारी काम गर्ने गाउँको तालुकदारलाई पुर्‍याइन्थ्यो । जसको घरमा पञ्जाछाप लगाएको हुँदैनथ्यो, उसलाई देशद्रोहीको आरोपमा दुःख दिने गरिन्थ्यो ।

त्यसकारण दसैं नितान्त राजनीतिक पर्व हो । जसलाई शासकहरुले काल्पनिक हिन्दू जीवनदर्शनको मुख्य आधार पर्वको रुपमा स्थापित गरे । कतिपय रैथाने सभ्यताले विकास गरेको मान्यतालाई पनि उनीहरुले यसमा मिसाइदिएका छन् । जस्तोः दसैंमा टीका लगाइसकेपछि टुसा आउने जमरालाई कानमा सिउरिदिन्छन् । जमरा रैथाने सभ्यताले विकास गरेको परम्परा हो । यस्तो छ्यासमिस देखेपछि हामी रनभुल्लमा पर्छौ र सामान्य चेतनाहरु जाँडको तालमा हाम्रै पर्व हो भन्दै बुरुक्क उफ्रिन्छन् । तर, फिरन्ते जीवन दर्शनले त्यत्तिसम्म ग्रहण गर्छ जतिले उसलाई घाटा हुँदैन, अर्थात् उसको मूल सिद्धान्तलाई बिगार्दैन । अरुलाई भ्रमित पार्नु र अन्ततः अरुको अस्तित्वलाई सिध्याउनु घुमुवाहरुको कर्म (काम) हो । किनकि अरुमाथि हावी नभई बाहिरिया जीवन प्रणाली नयाँ ठाउँमा बाँच्नै सक्दैन । यसको जीन नै माकुराको जस्तो हुन्छ । जसले माउँ पक्षलाई खाएर मात्र हुर्कन्छ । यस्ता दर्शनशास्त्रीय पक्षलाई बुझ्न हामीले न मान्छे मान्छे एकै हो भन्ने गीत गाएर हुन्छ न मान्छेको दुई जातमात्रै हो भन्ने सर्वहारा नारा उरालेर नै हुन्छ । त्यसैले धर्म होइन, दर्शनलाई बुझ्ने प्रयत्न गरौं । अन्तमा, हिन्दूहरुको पर्व दसैंको समस्त हिन्दूजनमा शुभकामना । धन्यवाद !

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!