खिम घले
‘नाम होस् या बद्नाम तर गुमनाम नहोस्’ भन्ने उखान नेकपाका नेता वामदेव गौतमसँग मिल्छ । त्यसैले उनी चर्चामा आइरहन्छन् अनेक बहानामा । तर, चर्चाले कहिले उनलाई फाइदै पनि पुर्याएको होला, अधिकांश समय बेफाइदा ।
दशैंको मुखैमा आएर एक पटक फेरि वामदेव गौतमको चर्चा चुलियो । उनको यो चर्चामा उनी आफै र केही उनका वरिपरिका बाहेक धेरै विरुद्ध खनिए । अन्तत् आफै पछि सर्नु पर्यो । यसले वामदेवलाई त घाटा पुग्यो नै पार्टी र काठमाडौं ७ का सांसद रामबीर मानन्धरलाई समेत समस्यामा पारेको छ । भन्नेहरु भन्न थालेका छन्, वामदेवका कारण रामवीरको राजनीतिसमेत दाउमा पर्यो ।
एमाले र माओवादी मिलेर लडेको चुनावमा वर्दियाबाट चुनावी मैदानमा उत्रिएका वामदेव गौतमले हार व्योहोर्नु पर्यो । खासमा एमाले र माओवादीलाई मिलाउने सुत्रधारको रुपमा समेत चर्चामा आउने गरेका वामदेव मुलुक भर नै गठबन्धनको पक्षमा लहर आएर झण्डै दुई तिहाई बहुमतको नजिक पुगेको बेला हार्नु आफैमा अश्चर्यको विषय थियो । धेरैले अश्चर्य माने । तर, यसरी हार्नुमा अरुको दोष थिएन, जीवनको पुरै समय राजनीतिमा विताएका वामदेवको आफ्नै कारणहरु थिए । नत्र मुलुकभरको जनलहरमा वर्दिया विपरित दिशामा हुनुपर्ने कुनै कारण थिएन । शक्तिशाली नेताले कमजोर कार्यक्षेत्र रोजेको पनि होइन । नत पहिलो पटक लडेका हुन् ।
तर, वामदेव हारे । यसका धेरै कारणहरु स्थानीय कार्यकर्ताले बताएका छन् । पहिलो त वामदेवले आफुलाई राष्ट्रिय नेताको रुपमा जति चर्चित बनाए,स्थानीय जनताको लागि केही गरेनन् । खासमा उनले फर्केर हेरेनन्, आफुलाई भोट दिने जनतालाई । उनको कार्यक्षेत्र पहिले प्युठान थियो । पछि सुगम खोज्दै बर्दिया झरे । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, तर उनले कहिल्यै आफ्नो क्षेत्रको रुपमा बर्दियालाई स्वीकार नै गरेन । साँसद हुने एउटा कडि मात्र सम्झे ।
पटक पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका वामदेवका लागि आफ्नो क्षेत्रमा विकास निर्माणको काम गर्नु खासै ठूलो कुरा थिएन । तर, उनले त्यसो गरेनन् । धेरैले भनेका छन्, उनले वेवास्ता गरे । चुनाव लड्ने बेलामा मात्र आए । के चुनाव जितेर गएपछि जनतालाई वेवास्ता गर्ने नेतालाई फेरी भोट दिइरहने कुनै बाध्यता छ जनतालाई? गोप्य मतदानबाट देखाई दिए जनताले ।
अनि उनले चुनावका बेला भनेको एउटा भनाईले मतदाता मात्र होइन, पुरै कार्यकर्ता पंक्ति बित्रिएको, निरास भएको बताउनेहरु छन् । उनले हरेक चुनावी सभामा छोरा चिन्तन्लाई संगै लिएर गएका रहेछन् र भन्दारहेछन्, हेर्नुस् म बुढो हुन थालें अव यो मेरो अन्तिम् पटक हो । अव चुनाव लड्दिन । एक पटकलाई मलाई भोट दिनुस्, अर्को चोटीदेखि चिन्तन् आउँछन् ।
कतिपयले उनको यही भनाईले हार्ने माहोल बनेको बताउँछन् । कतिपय जिल्लाका बरिष्ठ कार्यकर्ताहरुले पनि यसलाई पचाउन सकेनन् । उनीहरुले भन्ने गरेका थिए, ‘आफुले त भोट नहाल्ने कुरा भएन । तर जनतालाई कसरी भोट माग्नु ?’ के बर्दिया वामदेवको पुख्र्यौली सम्पति हो र? उनको शेखपछि छोराले चुनाव लड्ने ? एकातिर जनतामा उनले केही नगरेको गुनासो अर्कोतिर अहिले म अन्तिम् चोटी अव छोरा लड्छन् भन्नुको अर्थ त्यहाँका तमाम् कार्यकर्ताहरु साँसदको चुनाव लड्न र राजनीतिमा अघि बढ्न आएकाहरुको आकांक्षमा कुठराघात थियो । उनीहरुले खुलेर सहयोग गर्न सकेनन् । छोराको लागि राजनीति सुरक्षित गर्ने चाहनामा वामदेवले त्यहाँ आफैलाई असुरक्षित बनाए ।
यसरी हारेका वामदेवको सांसद बन्ने चाहना भने मरेन । जनताले अस्वीकार गरिसकेपछि पनि उनले विभिन्न क्षेत्रमा उपचुनाव गराएर भएपनि आफु सांसद बन्ने प्रपञ्च मिलाउन खोजे । यसका लागि सबैभन्दा पहिला उनले कर्णाली रोजे । विकट कर्णालीको प्रतिनिधित्व गर्ने डोल्पामा आँखा लगाए । तर, त्यहाँका कार्यकर्ताले उनलाई रुचाएनन् । स्थानीय प्रतिनिधिको सट्टामा उनीहरुले केन्द्रिय प्रतिनिधिलाई नरुचाउनुको कारण भनेको उनीसंगको पहुँचको कुरा हो ।
यसले ठूला नेता पुगेपछि जनता र कार्यकर्ताहरु पछि लाग्छन् भन्ने उनको भ्रम त्यहाँ तोडियो । त्यहाँका सांसद पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले छाडेपनि जनताले हराउँछन् भन्ने थाहा पाएपछि पार्टी पछि सर्यो । वामदेव पछि हट्न बाध्य भयो ।
त्यसपछि अरु ठाउँमा पनि वामदेवले आँखा लगाए । तर, उनको आँखा काठमाडौं ७ मा पुगेर अडिए । काठमाडौं ७ का सांसद रामबीर मानन्धरलाई फकाउन सुरु गरियो । यसमा नेकपाकै एकजना अध्यक्ष प्रचण्डको जोडबल बढि रह्यो । मानन्धरलाई पार्टीबाट एकातिर मन्त्री र राष्ट्रिय सभाको लोभ देखाइयो भने अर्कोतिर धम्कीको भाषा पनि प्रयोग हुन थाल्यो । उनले राजीनामा पत्र पार्टीमा बुझाए । पत्रकार सम्मेलन गरेर पार्टीको आग्रहमा राजीनामा दिएको भने ।
यो प्रकृयाले सामाजिक सञ्जालमा व्यापाक विरोधको सामना गुर्नपर्यो । यसले एकातिर हारेका व्यक्तिलाई सांसद बनाउनकै लागि जितेका व्यक्तिलाई बलिको बोको बनाउन लागेको भन्ने चर्चा भयो भने अर्कोतिर जनताको अभिमतको अबमुल्यांकन गर्न लागेको भन्ने आरोप लाग्यो । कतिपयले काठमाडौं ७ मा चुनाव लड्न आए हराउनु पर्छ भन्ने अभियानै चलाउन थाले ।
यसैबीच काठमाडौं ७ का प्रदेश सभा सांसद र स्थानीय जनप्रतिनिधिहरुले प्रधानमन्त्री केपी ओली र सहअध्यक्ष प्रचण्डलाई भेटेरै असन्तुष्टी व्यक्त गरे । खासमा उनीहरुले उपचुनाव गराउँद हुन सक्ने जोखिमका बारेमा पनि ब्रिफिङ गरे । यसरी चौतर्फी विरोधका साथै परिस्थिति अनुकल नदेखिएपछि पार्टी पछि सर्यो । वामदेव पनि पछि हट्यो ।
किन वामदेवलाई सांसद हुने उत्कठ चाहना हुने गर्दछ ? भन्ने प्रश्न यहाँनेर आउन सक्छ । यसमा वामदेवको आफ्नो व्यक्तिगत चाहनाका साथै पार्टीभित्रको डाइनमिक्सले पनि काम गरेको देखिन्छ ।
खासमा उनी आफै शक्तिका भोका त छन् नै पार्टीकै नेताहरुले पनि त्यो भोक जगाउने काम गरेको पाइन्छ । उनकै भनाई दुई पार्टी मिलाउने प्रमुख नेता उनी आफै हुन् । तर त्यो पार्टीले दुई तिहाई बहुमतको सरकार बनाउँदा प्रमुख मान्छे बाहिर बस्दा काम हुन सकेन भन्ने रहेको छ । यसले उनी सांसद मात्र बन्न चाहदैनन् । बरु त्यो भन्दा अघि बढेर मन्त्री र प्रधानमन्त्री पनि ताकिरहेका छन् ।
यो भोक जगाउन भने प्रचण्डलागयतका उनी पक्षीय नेताहरुको भूमिका रहेको छ । खासमा सरकार सञ्चालन र पार्टी एकीकरणका धेरै विषयहरुमा प्रधानमन्त्री ओलीप्रति प्रचण्ड सन्तुष्ट छैनन् । तर, उनले विरोध पनि गर्न सकेका छैनन् । अहिले नेकपामा कोही शक्तिशाली छन् भने तिनी ओली नै हुन् । साथै यति चाँढै विरोध गर्दा प्रचण्डलाई अप्ठ्यारो पर्न पनि सक्छ । त्यसैले उनले नत सरकारको बचाउ गर्ने नत विरोध गर्ने नीति लिएको छ ।
यस्तो अवस्थामा प्रचण्डलाई एक जना ओलीलाई टक्कर दिन सक्ने व्यक्ति चाहिएको छ, त्यो पनि आफ्नै संकेतमा । धेरैको बुझाईमा त्यो उपयुक्त पात्रा वामदेव हो । वामदेव र प्रचण्डबीचको घनिष्टताको बारेमा धेरै अघिदेखि चर्चा चल्ने गर्दछ । यसैकारण तत्कालिन एमालेभित्र वामदेवलाई पाखा लगाइएको मान्नेहरु पनि छन् ।
आफुलाई मन नपरेका कुराहरु ओलीकाबिरुद्धमा उठाउने अश्त्रको रुपमा वामदेवलाई अघि बढाउनकै लागि प्रचण्डले काँध थापिदिएका हुन् । यस पटक पार्टी सचिवालयको बैठकमा काठमाडौं ७ बाट वामदेवलाई उठाउने प्रस्ताव पनि उनैले गरेका हुन् । रामबीरलाई मनाउने काम पनि उनैले गरेको हुन् ।
बरु ओली पक्षले यसलाई असफल बनाउने कोशिस गर्यो, एकदमै साइलेन्ट्ली । यसको सिधै कुनै नेताले विरोध गरेनन् । तर, रक्षामन्त्री इश्वर पोखरेलदेखि भीम रावलसम्म यसमा लागे । यसमा कसैको आफ्नो पद गुम्ने डर थियो भने कसैलाई अलोचनाको सामना गर्नु पर्ने डर त कसैलाई अड्को आइलाग्ने त्रास । त्यसैले सबै मिलेर वातावरण यस्तो बनाइयो, वामदेव उठेमा हार्छ भन्ने माहोल बनाई दिए । प्रधानमन्त्री ओलीले पनि रामबीरको राजीनामालाई पार्टीमा अनुमोदन गर्न समय लगाई दिए । सबै मिलेर वामदेव रुपी भूतलाई पञ्छाए ।
तर, वामदेवको आकांक्ष र प्रचण्डको चालले विश्राम मात्र लिएको हो । जुनसुकै बेला जहाँसुकै उनीहरुको नजर पर्न सक्छ । जनताले पाँच वर्षका लागि दिएको मतादेश कुल्चिन सक्छ र पाँच वर्षका लागि वर्दियाका जनताले गरेको अस्वीकारको धज्जी उड्न सक्छ ।






