लन्डन १४ जुलाई । नेपाली साहित्य विकास परिषद् युकेले २१२औँ भानु जयन्ती विभिन्न कार्यक्रम गरी मनाएको छ । अल्डरसटस्थित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरमा १३ जुलाई २०२५ मा सम्मान, कविता वाचन र प्रवचन लगायतका विविध साहित्यिक कार्यक्रम गरी भानुजयन्ती मनाइएको हो । प्रारम्भमा आदिकवि भानुभक्त आचार्यको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
समारोहका प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्वअध्यक्ष डा. राघवप्रसाद धिताल ओबीईले शिव कल्चरल एन्ड कम्युनिटी सेन्टर परिवारलाई प्रशंसापत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रममा सम्बोधनका क्रममा वरिष्ठ प्रमुख सल्लाहकार धितालले नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिवृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गर्दै बेलायतमा नेपाली भाषा साहित्यको विकासमा वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् युके स्थापना गरेर बेलायतमा नेपाली भाषा साहित्यको जग बसाउन विशिष्ट योगदान पुर्याएको उल्लेख गरे ।
समारोहमा स्वागत मन्तव्य राख्दै परिषद्का वरिष्ठ सहअध्यक्ष ध्रुव केसीले अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए त्यो आफैमा एक साहसिक कदम रहेको र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
परिषदका अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद् युकेले स्थापनाकालदेखि नै बेलायतमा भानुजयन्ती मनाउँदै आएको उल्लेख गर्दै नेपाली पहिचान युगयुगसम्म जिवन्त राख्न भाषा, साहित्य, संस्कृतिजस्ता चिनारीहरू जोगाउँदै लैजानु पर्ने औचित्यतर्फ प्रकाश पारे । यसअघि परिषद्का पूर्वअध्यक्ष हरिसिंह थापाले शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर अल्डरसटले विदेशमा नेपाली भाषा, धर्म, संस्कृतिलाई जीवन्त राख्न अनुकरणीय कार्य गरेको चर्चा गरे । साथै उनले आदिकवि भानुको योगदान र प्रेरणा नेपाली समाजमा अभिन्न रूपले भिजेको भन्दै नेपाली साहित्य विकास परिषद्ले बेलायतमा भानुको सम्मान र कीर्तित्व फैलाउने कार्य परिषद्को स्थापनाकालदेखि नै निरन्तर गर्दै आएको चर्चा गरे ।
परिषद्की सहअध्यक्ष डा.सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गरे । बेलायतमा परिषद्ले भानुको सम्झनामा हरेक वर्ष भानु जयन्ती मनाएर साहित्यिक गतिविधि मात्र बढाएको होइन समाजलाई सिर्जनशील हुन पनि प्रेरणा जगाइरहेको उनको भनाइ छ ।
स्वागत मन्तव्यका क्रममा परिषद्का वरिष्ठ सहअध्यक्ष ध्रुव केसीले सिर्जनशील भएर नेपाली भाषा साहित्यको गोडमेलमा लाग्यौ भने आदिकविप्रति सच्चा श्रद्धाञ्जलली हुने बताए । उनले परिषद्ले यही उद्देश्य बोकेर परिषद्को स्थापनाकालदेखि भानु जयन्ती मनाउँदै आएको चर्चा गरे ।

तनहुँ समाज यूकेका पूर्वअध्यक्ष तथा संरक्षक लेखबहादुर गुरुङले परिषद्ले भानुभक्त जयन्ती मनाएर चालीस वर्षपछि आफ्नो मानसपटल भानुभक्तको सम्झना जगाएर प्रशंनीय कार्य गरेको बताए ।
परिषद्को तर्फबाट सहअध्यक्ष वाचस्पति रेग्मीबाट समारोहलाई सफल बनाउन उपस्थित सबै लब्धप्रतिष्ठित व्यक्तित्वहरु र आर्थिक तथा भौतिक सहयोग पुर्याउने विशिष्ट पदाधिकारी व्यक्तित्वहरू डा. राघवप्रसाद धिताल ओबीई तथा डा.जनककुमारी धिताल, शुषमा भट्टराई, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर परिवार,घन बहादुर थापा मगर तथा कृष्णा थापा मगर, ध्रुव केसी,डा.सुधा श्रेष्ठ, मनोज अन्जान,विरेन्द्र कुँवर, मदन थापालाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिंह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गरेका थिए ।
दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा कविता वाचन गर्ने कवि कवयित्रीहरूमा वसन्त रायक्षेत्री, हरिसंह थापा, ध्रुव केसी, डा. सुधा श्रेष्ठ, हरि विभोर कार्की, विनोद पराजुली, मनोज अन्जान, पवन दाहाल, मदन थापा, मधुसूधन सत्याल, शुषमा भट्टराई, विरेन्द्र कुँवर, विक्रम भट्टराई, लेख गुरुङ, किशोर गुरुङ, कोमल मल्ल हुनुहुन्थ्यो भने घन बहादुर थापा मगर, वासु शर्मा र वासुदेव सापकोटाको कविता कोमल मल्ल बट वाचन गरियो ।
समारोहमा शिवनामी खादा लगाई अतिथि सबैलाई सम्मान गर्दै अध्यक्ष विक्रम भट्टराईले यस्ता कार्यक्रम भविष्यमा पनि गर्न सहयोगको ढोगा खुला रहने बताए । सहअध्यक्ष डा.सुधा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रम अध्यक्ष कोमल मल्लको सभापतित्वमा भएको थियो ।






