लन्डन २२ जुलाई २०२५ । विश्व नेपाली साहित्य महासंघ (विनेसाम) पश्चिम शाखा बेलायतको आयोजनामा तेस्रो वार्षिक प्रत्यक्ष साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।
२० जुलाई २०२५ आइतबार स्वीन्डेनमा साहित्यिक गोष्ठी सम्पन्न भएको हो । विश्व नेपाली साहित्य महासंघ पश्चिम शाखा बेलायतका अध्यक्ष लाल सुन्दर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मदन पुरस्कारलगायत विविध ९ पुरस्कारबाट सम्मानित वरिष्ठ साहित्यकार युवराज नयाँघरे विशेष अतिथि,विनेसाम केन्द्रीय सल्लाहकार तथा एनआरएनए आईसीसी उपाध्यक्ष विश्वासदीप तिगेला र विजय हितानको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
जीत बुढाथोकी छन्त्यालले सञ्चालन गरेको कार्यक्रमको पहिलो चरणमा विनेसाम पश्चिम शाखा बेलायतका वरिष्ठ उपाध्यक्ष गोमा रानाद्वारा स्वागत मन्तव्य दिएकी थिइन् । उपाध्यक्ष गङ्गा गाहा थापाले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् भने संरक्षक डा.सुमाया राईले शुभकामना मन्तव्य दिएकी थिइन् । साथै विनेसाम पश्चिम शाखा बेलायतका उपाध्यक्ष शान्ति लिम्बु र गङ्गा गाहा थापाले प्रमुख अतिथिलगायत विभिन्न संस्थाबाट उपस्थित अतिथिहरूलाई खादाले स्वागत गरेका थिए ।
दोस्रो चरणमा विभिन्न परिकारका भोजन लिएर पुनः तेस्रो चरणमा विजय हितान, विश्वासदीप तिगेलालगायत सहभागी सबैले आ-आफ्ना मन्तव्यसहित रचना वाचन गरेर भरपूर मनोरञ्जन लिएको र कार्यक्रम सफल रहेको भन्दै साहित्यकार विजय हितानले समीक्षा सम्प्रेषण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नयाँघरेको सम्बोधनले सबैलाई आकर्षित बनाएको थियो । उनले नेपालको ७७ वटै जिल्ला दुई/दुई पटक घुमेको जानकारीसँगै २९ भन्दा बढी विदेश भ्रमणको स्मरण गराएको विनेसाम पश्चिम शाखा बेलायतका सचिव जीत बुढाथोकी छन्त्यालले जानकारी दिए ।
सोही अवसरमा साहित्यकार विनोद बरालद्वारा प्रकाशित पुस्तक ममका पाइलाहरू विमोचन पनि गरियो । कार्यक्रममा अध्यक्ष लालसुन्दर राई,प्रमुख अतिथि वरिष्ठ साहित्यकार युवराज नयाँघरे,विशेष अतिथि विनेसाम केन्द्रीय सल्लाहकार तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष साथै नेपाली समाचार डट्कमका प्रधान सम्पादक विश्वासदीप तिगेला, विशेष अतिथि विजय हितान, संरक्षक सुमाया राई,कल्पना चाम्लिङ राई,गोमा राना,शान्ति लिम्बु, गङ्गा गाहा थापा,प्रतिमा केसी,राजन राई,विनोद बराल, जीत बुढाथोकी छन्त्याल,होम किरात सुनुवार,तारामोती लिम्बु,लाल लिङ्देन लिम्बु,मनु पाइजा,लोक थापा,रुद्र पाइजा,महानन्द लिम्बु, सुर्य गुरुङ,सुनीता राईलगायत दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति थियो ।
सभाध्यक्ष लालसुन्दर राईद्वारा उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै कार्यक्रम समापन गरेका थिए ।







