अमेरिका १ अगस्ट २०२५ । तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ दम्पती तथा पूर्वउपाध्यक्षलाई अमेरिकामा स्वागत, सम्मान गरिएको छ ।
बिहीबार ३१ जुलाईमा गुरुङ सोसाइटी अफ न्यू ह्याम्पसायरले समाजको आफ्नै भवनमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरी अमेरिका भ्रमणमा रहेका तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र श्रीमती जयन्ती गुरुङ तथा पूर्वउपाध्यक्ष बिजु गुरुङलाई स्वागत सम्मान गरेको हो ।
कार्यक्रममा संस्थापक अध्यक्ष चित्रबहादुरले तमु समाज युकेको स्थापनाकालदेखि तमु समाजले गर्दै आइरहेको गतिबिधिबारे जानकारी गराएका थिए । सोही अवसरमा गुरुङ सोसाइटी अफ न्यू ह्याम्पसायरको विकासका लागि संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले ५ सय डलर आर्थिक सहयोग समाजका अध्यक्ष विकाश गुरुङलाई हस्तान्तरण गरेका थिए ।
उनले आफूहरुलाई स्वागत सम्मान गरेकोमा गुरुङ सोसाइटी अफ न्यू ह्याम्पसायरका अध्यक्ष विकास गुरुङ, संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारीहरू, सम्पूर्ण चेलीबेटीहरू, सदस्यहरू तथा कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा धन्यवाद व्यक्त गरेका छन् । उनले अमेरिकामा प्राप्त आत्मीय स्वागत सम्मान, भेटघाट कार्यक्रममा केवल व्यक्तिगत रूपमा होइन, सम्पूर्ण तमु समुदाय र हाम्रो साझा संस्कृति तथा पहिचानप्रतिको कदरको रूपमा लिएको बताए ।

गुरुङ सोसाइटी अफ न्यू ह्याम्पसायरले परदेशमा रहँदा पनि परम्परा, एकता र सम्बन्ध जोगाइराख्न जुन निष्ठापूर्वक प्रयास गरेको छ, त्यसप्रति गहिरो सम्मान व्यक्त गर्दै उनले तपाईंहरूको आतिथ्य, मायालु व्यवहार र सुन्दर व्यवस्थापन अत्यन्तै सराहनीय रहेको भन्दै प्रशंसा गरे ।

गुरुङ सोसाइटी अफ न्यू ह्याम्पसायरका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार सोम गुरुङले संस्थाको विगत, वर्तमानबारे संक्षिप्त जानकारी गराएका थिए ।
उपाध्यक्ष बबिता गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् भने महासचिव किरण गुरुङले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा समाजका सल्लाहकार, वर्तमान पदाधिकारी सदस्यहरुको उपस्थिति थियो ।







