
लन्डन ६ अगस्ट २०२५ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ डा. श्रीधर खनालको ‘सावर्णि’ लाई प्रदान गर्ने घोषणा गरेको छ ।
१० उत्कृष्ट पुस्तकहरूबाट सार्वर्णि उपन्यासलाई पुरस्कार प्रदान गर्ने पुरस्कार समितिले सर्वसम्मतिले निर्णय गरेको संयोजक डा. रुपक श्रेष्ठले जानकारी दिए । पुरस्कारको राशि ५ सय पाउण्ड रहेको छ। वि.स २०८१ सालमा एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको थियो।
संयोजक श्रेष्ठका अनुसार सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारले नेपाली साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारलाई सम्मान गर्दै आएको छ।
पेशाले बालरोग विशेषज्ञ डा. खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुन् । फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ। ‘सावर्णि’बाट प्राप्त रोयल्टीको केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउँदै आएको छ। पुस्तकलाई बुकहिलले बजारमा ल्याएको थियो।
पुरस्कार यही अगस्ट ९ तारिख लन्डनमा आयोजना गरिने भानु तथा ईश्वर जयन्ती कार्यक्रमका अवसरमा पुरस्कृत गरिने जानकारी पुरस्कार समितिका संयोजक श्रेष्ठले दिए ।






