
काठमाडौं १५ अगस्ट २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौंमा आयोजना हुने १२ औं अन्तर्राष्ट्रिय विश्व सम्मेलन तथा महाधिवेशनअन्तर्गत हुने आईसीसी निर्वाचन प्रक्रियाका लागि तयारी सुरु भएको छ ।
एनआरएनएको १०६ औं अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकको निर्णयअनुसार हुने विश्व सम्मेलन तथा महाधिवेशन अन्तर्गत आईसीसी निर्वाचन प्रक्रियाका लागि नियुक्त प्रमुख निर्वाचन आयुक्त अधिवक्ता डा. राजेन्द्र घिमिरे र संघका तर्फबाट अध्यक्ष डा. बद्री केसीबीच निर्वाचन प्रक्रिया सञ्चालन गर्न समझदारी पत्रमा बिहीबार हस्ताक्षर गरिएको हो ।
समझदारीपत्रमा निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विधिसम्मत रुपमा सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्ने सहमति जनाइएको छ । १२ औं महाधिवेशन तथा विश्व सम्मेलनमा विभिन्न मुलुकबाट प्रतिनिधिहरूको सहभागिता रहने एनआरएनएले जनाएको छ ।






