गुरुङ रामप्रकाश ‘समथिङ’
कुनै समय नेपालका राजाका पालाका एक जनजाति मन्त्रीले दसैं र तिहारका खुव विरोध गरेका थिए पाँचथर जिल्लाकै सदरमुकाम फिदिम बजारमा । जनजातिहरुले दसैं तिहार मान्नु हुँदैन । दसैंमा टीका लाउनु हँुदैनसम्म भन्न भ्याएका थिए । भाषण गरिरहेको बेलामा उनी मन्त्री भएका थिएनन् । राजनीतिक पार्टीका गढबढी भएको बेलामा राजाले उनलाई सीधै मन्त्रीमा नियुक्त गरे । पछि आउने दसैंमा उनले राजालाई भेटे । राजाको हातबाट टीका लगाई आशीर्वाद लिए । दसैं तिहारमा टीकाको विरोध गर्ने जनजाति मन्त्री पनि थिए । उनले पनि राजालाई दाम राखेर ढोगे । अनि राजाको हातबाट टीका ग्रहण गरेका थिए ।
अहिले पनि देखिन्छ र सुनिन्छ पनि । अनि भन्नेहरु र दसैं तथा तिहारको शुभकामना दिनेहरुले पनि भन्छ । हिन्दुहरुको महान् चाड दसैं तथा तिहारको हार्दिक मंगलमय शुभकामना । यता हिन्दु धर्म नमान्नेहरु अनि अरु धर्म मान्नेहरु भनिरहेका थिए । दसैं तिहार हिन्दु धर्म मान्नेहरुको चाड हो । हामी त बौद्ध धर्म मान्नेहरु ल्होसार तथा वैशाख पूर्णिमा मनाउने, किरातहरु चासोक तङनाम मनाउने र इसाइहरुले क्रिसमस डे भव्य रुपमा मनाउने भनेको पनि सुनेकै हो । यस्ता विरोधका भाषण गर्नेहरु फेरि सर्वसाधारण नभएर जनजातिका नेता भनाउँदाहरुले नै हो ।
एकातिर भाषणमा दसैं तिहार नमनाउने पनि भनिरहन्छ । अर्कोतिर दसैं र तिहारमा हेर्नु पर्छ उनीहरु दसैंमा निधारभरि सेतो नलगाइ रातो रङको टीका अनि तिहारमा चार पाँच रङको रङगीविरङगी निधारमा टीका र कम्मरसम्म छुने गरीको भेटेमा तिवारी फूलको माला र नभेटेमा प्लास्टिककै माला भए पनि लाएर हिँडेको देखेकै हो । अनि दसैं र तिहारकै विरोध गरिरहने जनजातिहरुकै जातिगत संस्थाहरु हप्तौ दिनसम्म संस्था व्यवस्थापनको लागि भन्दै नाच लाएर घर–घरमा पुगेर पैसा संकलन गरिरहेको हुन्छ । एकातिर विरोध र अर्कोतिर अवसर । यो विरोधाभाष भएन र ? फेरि सरकार पनि हिन्दु धर्म मान्नहरुले र बौद्ध, किरात र इसाइ धर्म मान्नेहरुले मनाउने चाडको अवसरमा दिने बिदामा विभेद गर्छ । सरकारले बिदा दिँदा कि त नेपालीहरुको राष्ट्रिय चाड भनेर बिदा दिनु पर्ने हो । हैन भने हिन्दु धर्महरुको महान् चाड भनेर सरकारले सात–सात दिन बिदा दिन्छ भने बौद्ध धर्म मान्नेहरुका लागि ल्होसारमा पनि सात दिन । किरात धर्म मान्नेहरुका लागि चासोक तङनामको बेलामा सात दिन र इसाइ धर्म मान्नेहरुका लागि क्रिसमस डेमा पनि सात दिनका दरले बिदा दिनु पर्ने हो ।
एकातिर चाडको अवसरमा सरकारले दिने बिदामा विभेद अर्कोतिर जनजातिहरुले गर्ने विरोध र फेरि तिहारमा जातिगत संस्थाको व्यवस्थापन भन्दै नाच लाएर संकलन गर्ने पैसा । सबै जातिको सबै व्यक्ति देशको नीति निर्माण गर्ने ठाउँमा पुग्दैन । नेतृत्व तहमा पुगेकाहरुले प्रत्येक जातिका मानिसहरुले मानेका धर्म गुरुहरु राखेर जनजातिहरुले दशै तिहार मान्नु हुने कि नहुने भन्ने विषयमा छलफल चलाए प्रस्ट हुन्थे होलान् । सामान्य मान्छेहरुले त्यो पनि गाउँघरमा त्यस्तो छलफल गरेर ल दसैं र तिहार नमनाउने र टीका पनि नलाउने भनेर निर्णय गरी कार्यान्वयनमा गयो भने जनजाति नेताहरु राजाको/राष्ट्रपतिको हातबाट टीका थाप्न लाइनमा बसिदिन्छ । अहिलेको सञ्चार कस्तो छ भन्ने त हामी सबैलाई अवगत भएकै हो । अनि त्यति बेला ती सामान्य मान्छेलाई छिमेकीले तपाई टीकाको बहिष्कार गर्नु हुन्छ । तर तपाईको जनजाति नेताले राजाको/राष्ट्रपतिको हातबाट रातो टीका दसैंमा लाए त भनेर नकारात्मक तरिकाले भन्ने गर्दछ । त्यसैले दसैं तिहार मान्ने कि नमान्ने र टीका लाउने कि नलाउने भन्ने विषयमा अन्योल र जनजाति बीचमा भएको विरोधाभाष हटाउन पाएको भए राम्रै हुन्थ्यो हाला कि ?
सन्दर्भ सामाग्री
१. लेखक रामप्रकाश समथिङ, जिल्ला विकास समितिको कार्यालय फिदिम, पाँचथर र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरद्धारा प्रकाशित– पाँचथरका आदिवासी जनजातिहरु जेष्ठ–२०६६
२. लेखक प्राज्ञ इन्द्रबहादुर गुरुङ, काशीपरी गुरुङद्धारा प्रकाशित तमु (गुरुङ) साँस्कृतिक दिग्दर्शन–असोज २०६८
३. लेखकद्धय ताम्ला उक्याव र श्याम अधिकारी, श्री ५ को सरकार (हाल नेपाल सरकार) स्थानीय विकास मन्त्रालय राष्ट्रिय जनजाति विकास समिति काठमाडौद्धारा प्रकाशित नेपालका जनजातिहरु बैशाख–२०५७
४. लेखक मधुसुदन पाण्डेय, पैरबी प्रकाशनद्धारा प्रकाशित नेपालका जनजातिहरु– २०६१
५. सम्पादक पवन चामलिङ ‘किरण’ निर्माण प्रकाशन गुम्पा घुर्पिसे, नाम्ची, दक्षिण सिक्किमद्धारा प्रकाशित वर्ष १९, अंक ३४—निर्माण सँस्कृति विशेषाङक, अप्रिल– सन १९९९
६. लेखक डा.हर्क गुरुङद्धारा लिखित नेपाल आदिवासी जनजाति महासंघद्धारा प्रकाशित–जनजाति सेरोफेरो मे—२००६






