लन्डन ५ सेप्टेम्बर २०२५ । एक सय दुई वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गर्दै संसारकै सबैभन्दा वृद्ध पर्वतारोही बन्न सफल हुनुभएको छ । यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको सुरुआतमा प्रमाणित गरेको हो ।
“म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ”, अकुजावाले एसोसिएटेड प्रेससँगको अन्तर्वार्तामा भन्नुभयो, “शिखरसम्म पुग्नु कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ । धेरै मानिसको सहयोगले मात्र यो सम्भव भयो ।”
अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी हुनुभएको थियो । टोलीले अगस्ट ५ मा समुद्री सतहदेखि तीन हजार सात सय ७६ मिटर (१२ हजार तीन सय ८८ फिट) उचाइमा रहेको जापानको सबैभन्दा अग्लो शिखरमा पुग्नु अघि ट्रेलमा दुई रात शिविरमा बिताएको थियो ।
पचहत्तर वर्षीया अर्की छोरी युकिकोले बुबाका कानमा प्रश्नहरू दोहोर्याउँदै सहयोग पुर्याउनुभयो । अकुजावालाई सुन्न कठिन छ । “उमेरसँगै कुनै पनि पर्वत सामान्य हुँदैन”, अकुजावाले भन्नुभयो, “जति सकिन्छ, चढ्नु राम्रो हुन्छ ।”
यो अकुजावाको पहिलो रेकर्ड तोड्ने आरोहण भने थिएन । उहाँ ९६ वर्षको उमेरमा नै फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बन्नुभएको थियो । त्यसपछि उहाँले मुटुको समस्या, असफल आरोहणका चोटपटक, दाद (चर्मरोग) र टाँका झेलेर पनि यात्रालाई निरन्तरता दिनुभएको थियो ।
फुजी आरोहण अघि उहाँले तीन महिनासम्म विशेष तालिम लिनुभयो । बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्नुहुन्थ्यो र हरेक हप्ता एकपटक प्रायः गुनमा र नजिकैको नागानो प्रान्तका पहाडहरू आरोहण गर्नुहुन्थ्यो । अकुजावाको पर्वतप्रेम युवावस्थामै सुरु भएको हो । टोकियोबाट करिब दुई सय ४१ किलोमिटर उत्तरपश्चिममा रहेको मायबासीस्थित घरमा, आफन्त र पर्वतचित्रहरूले घेरिएको बैठक कोठामा बस्दै उहाँले ८८ वर्षअघि आफूलाई पर्वततर्फ आकर्षित गरेको अनुभव सम्झिनुभयो । शिखरमा पुग्ने जादु निर्विवाद भए पनि, उहाँलाई बारम्बार फर्काइराख्ने शक्ति भने मानिसहरूसँगको सम्पर्क नै थियो ।
अकुजावा सक्षम विद्यार्थी हुनुहुन्थ्यो । उहाँले इन्जिन डिजाइन इन्जिनियरको रूपमा काम गर्नुभयो र पछि ८५ वर्षसम्म पशुधन कृत्रिम गर्भाधानकर्ताका रूपमा कार्यरत रहनुभयो ।
पहिले उहाँ एक्लै आरोहण गर्न रुचाउनुहुन्थ्यो, तर उमेर बढेसँगै अरूको सहयोगमा बढी निर्भर हुन थाल्नुभयो । हालैको कीर्तिमानी आरोहण पनि त्यही सहयोगकै कारण सम्भव भयो ।
“माउन्ट फुजी कठिन पर्वत होइन, तर यसपटक अघिल्ला सबै आरोहणभन्दा धेरै चुनौतीपूर्ण लाग्यो”, उहाँले भन्नुभयो, “मलाई पीडा थिएन, तर किन ढिलो हुँदैछु, किन सहनशक्ति छैन भन्ने सोचिरहेँ । धेरैअघि नै शारीरिक सीमा पार गरेको छु । अरूको शक्ति र सहयोगकै कारण मात्र सफल भएँ ।”






