काठमाडौं । जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगर, नेपाल मगर संघका अध्यक्ष नविन रोका मगरले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन मगर ‘अनन्त’लाई सम्मानकासाथ जीतबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानले मगर भाषा तथा साहित्यमा योगदान पु-याएका तीन प्रतिभालाई पुरस्कृत गरेका छन् ।

जीबसीम साहित्य पुरस्कार–२०७३, हरिनास–४, स्याङ्जा निवासी रुद्र ‘सन्देस’ मगरलाई जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७३, हिरासिंह थापा (सामेसेन) मगरलाई र जीबसीम नवप्रतिभा साहित्य पुरस्कार–२०७३, निसी–२, बाग्लुङ निवासी लक्ष्मण घर्ति मगरलाई प्रदान गरिएको हो ।
राजधानीमा चैत ३० गते आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्री ‘अनन्त’ ले मगर ढूटमा कविता संग्रह ’बिकोलेसा’ (दुख्दोरहेछ–२०५६) र मुक्तक संग्रह ’आर्मिटमा’ (सम्झना–२०६७) लेखेका ‘सन्देस’ मगरलाई रु. ६० हजार र अठार मगर खाम कविता संग्रह ’रिहित्ला’ (पैताला) लेखेका घर्ति मगरलाई रु. १० हजार नगद सहित सम्मानपत्र प्रदान गरेका हुन् । दुबै पुरस्कार मगर भाषाका आदिकवि जीतबहादुर सिंजाली मगरको नाममा स्थापना गरिएको हो । जीबसीम साहित्य पुरस्कार बार्षिक रु. ५,००० वृद्धि गर्दै रु. दुइ लाख पु-याउने लक्ष्य रहेको छ ।
नवप्रतिभा साहित्य पुरस्कारका कोष संरक्षक युके निवासी चिम्खोले काँइला (दुत पुन) हुन् ।
यसैगरी जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०७३, नेपाल मगर संघ, जिल्ला समिति काठमाडौंको एकदशक नेतृत्वकर्ता मगर जातिको उत्थान र भाषा, संस्कृति, इतिहास सम्बन्धी अध्ययेता चारदशक अनवरत लेखनपछि ’मगर (ढुट)–खस–अंग्रेजी आखर गोमहोक’ (मगर (ढुट)–खस–अंग्रेजी शब्दकोश) मगर वृहत शब्दकोषका संकलक र लेखक हिरासिंह थापा (सामेसेन) मगरलाई प्रदान गरिएको रु. ३० हजार राशीको यो पुरस्कार नेपाल मगर संघका पूर्व सचिव स्व. जयबहादुर हितान मगरको स्मृतिमा उनका छोरा विजय हितान मगरले स्थापना गरेका हुन् ।
प्रतिष्ठानका कोष संरक्षक बनेका प्रोफेसर, डा. त्रिलोकपति थापा मगर (काठमाडौं), मानबहादुर बुढा मगर (ललितपुर), हुमबहादुर थापा मगर (ललितपुर), थर्क राना मगर, (पर्वत हाल युके), ओम जर्घा मगर (पाल्पा) लाई प्रमुख अतिथिले प्रमाणपत्र, ट्रफी प्रदान गरी सम्मान गरेका थिए भने मनका सहयोगीहरु वीरबहादुर गाहा थापा मगर, मुसाहाङ झेंडी मगर, स्याङ्जा, मगर व्यवसायी समाज (बैदेशिक रोजगार), काठमाडौं नेपाल, सिद्धार्थ बहुउदेश्यीय सहकारी संस्था लि. सुर्खेतलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री ‘अनन्त’, अध्यक्ष राष्ट्रिय भाषा आयोगका अध्यक्ष, डा. लवदेव अवस्थी, नेपाल मगर संघका अध्यक्ष नविन रोका मगर, नेपाली पुरस्कारको इतिहास पुस्तक लेखक तथा साहित्यकार डा. डिल्लीराम मिश्र, साहित्यकार एवं उज्यालो एफएमका कार्यक्रम संयोजक अच्युत घिमिरे, पुरस्कृत व्यक्तित्वद्धय रुद्र ‘सन्देस’ मगर, लक्ष्मण घर्ति मगरले मातृभाषा साहित्य र लेखनको महत्वबारे चर्चा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरको सभातित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन अठार मगर खाम भाषामा जीवन रोका मगरले गरेका थिए ।






