नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले प्रतिभा सम्मान किरातीलाई र पुरस्कार चौधरीलाई दिने

SHARE:

लन्डन १८ अक्टुबर २०२५ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले वरिष्ठ कवि जसराज किरातीलाई ‘विशिष्ट प्रतिभा सम्मान–२०२५’ र युवा पत्रकार तथा लेखक बिजेता कर्ण चौधरीलाई ‘प्रतिभा पुरस्कार–२०२५’ प्रदान गर्ने निर्णय गरेको छ । सम्मानमा नगद एक लाख, ताम्रपत्र र दोसल्ला रहेको छ भने पुरस्कारमा नगद एक लाख राशि र ताम्रपत्र रहेको छ ।

संस्थाले विशेष परिस्थितिमा मात्र विशिष्ट सम्मानको व्यवस्ता गरेको छ । यसअघि संस्थाले सर्वोच्च कवि बैरागी काइँलालाई मात्र विशिष्ट सम्मानले सम्मानित गरेको छ ।

सन् १९८१ सालमा धनुषाको जनकपुरधाममा जन्मेकी चौधरीले मैथिली भाषा साहित्य तथा नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहेकी छन् । ४४ वर्षीया चौधरीले आरआर बहुमुखी क्याम्पस जनकपुरबाट नेपालीमा स्नातकोत्तर र पत्रकारिता विषयमा स्नातक अध्यायन पूरा गरेकी छन् । उनको ‘धाराक विरूद्ध’कवितासङ्ग्रह सन् २०१९ (मैथिली) र ‘कर्फ्यु’ कथासङ्ग्रह सन् २०२० (मैथिली) तथा ‘चुप्पी चिकरैछ निःशब्ध निशब्ध’, २०२१, एक पंक्ति कवितासङ्ग्रह (लेखिकाद्वारा प्रथम प्रयोग) कृतिहरु प्रकाशित छन् ।

चर्चित साहित्यकार मनु ब्राजाकीकृत ‘तिम्री स्वास्नी र म’को मैथिली अनुवाद ‘तोहर कनियाँ आ हम’ सन् २०२२ र ‘ऋतम्भरा’ नीरजा रेणु कृत मैथिली कथासङ्ग्रहको नेपाली अनुवाद, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशोन्मुख रहेको छ ।
यस्तै विश्वेश्वरप्रसाद कोइरालाका कथा साहित्यकी नारी पात्रको मनोविश्लेषणात्मक अध्ययन, विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा मधेश, मैथिली साहित्यको इतिहास र मैथिली चित्रकलाको इतिहास र वर्तमान अवस्था विषयहरूमा शोधकार्य सम्पन्न गरेकी छन् ।

यसैगरी उनले नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित आँगन पत्रिकाको सम्पादन समेत गरेकी छन् ।

यसैगरी विसं २००२ साउन १७ गते मैचुङगाउँ, बुइपा–६, खोटाङमा जन्मेका जसराज किराती बाल्यकालदेखि नै कविता लेखनमा सक्रिय रहँदै आएका छन् । उनको पहिलो कृति ‘उज्यालो खोज्ने आँखाहरू’, कवितासङ्ग्रह, २०३६, ‘जसराज किरातीका कविता’, कवितासङ्ग्रह, २०५७ र ‘जसराज किरातीका प्रतिनिधि कविताहरू’ कवितासङ्ग्रह, २०६४ प्रकाशित छन् ।

नेपालमा छापाखानाको विकास राम्ररी नहुँदै उनले हस्तलिखित साहित्यिक पत्रिका गोरेटो २०२० सालमा सम्पादन गरेका थिए । यसैगरी ‘अर्धचन्द्र’ दैमासिक २०२०, ‘आक्रोश’ २०२६ र ‘हलेसी पुञ्ज’ २०४१ सालमा प्रकाशित पत्रिकाहरू किरातीको सम्पादन रहेका छन् । छ दशकसम्म लगातार नेपाली कविता लेखनमा उनको अतुलनीय योगदानको कदर गर्दै किरातीलाई विशिष्ट सम्मान प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।

चौधरी र किरातीलाई आगामी मंसिरमा काठमाडौंमा कार्यक्रम गरी पुरस्कार तथा सम्मान प्रदान गरिनेछ ।

सन् २००८ सालमा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व.ईश्वर मानन्धर, स्व.अम्बर गुरुङ, स्व.जीवी लुगुन, स्व.भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भटराई, बूँद राना, टेकवीर मुखिया, प्रधुन्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, बेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा कृष्णहरि बराल, दिप श्रेष्ठ, गणेश रसिक र राजेश्वर थापा सम्मानित भइसकेका छन् ।

यसैगरी ‘प्रतिभा पुरस्कार’बाट यसअघि नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फुलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ, बिमला तुम्खेवा, गणेश गुरुङ, सुदिप पाख्रीन र प्रदिप मेयाङ्बो, सन्ध्या सुब्बा (सिङजाङगो) पुरस्कृत भइसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!