लन्डन २० अक्टुबर २०२५ । बेलायतमा रहेका साहित्यकार तथा समाजसेवी सुमलकुमार गुरुङलाई ‘आदर्श तमु अवार्ड-२०२५’ प्रदान गरिएको छ ।
तमु धीं यूकेले १८ अक्टुबरमा अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको आजीवन सदस्य रात्रिभोज कार्यक्रममा सुमलकुमार गुरुङसहित ६ जना समाजसेवीलाई आदर्श तमु अवार्ड दिइएको हो । अवार्ड पाउने अन्यमा शान्त तमुस्यो, क्या. देवबहादुर घले, श्रीप्रसाद तमु, धनकाजी तमु र ले.रि. मुक्तिजङ तमु रहेका छन् ।
सम्मानित व्यक्तिहरूलाई प्रमुख अतिथि विपिन दुवाडी, अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला गुरुङ, वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, उपाध्यक्ष कमल गुरुङलगायतले फेटा, पछ्यौरा, खादा, दोसल्ला, मायाको चिनो, पुष्पगुच्छा प्रदान गरे ।

सम्मानित हुने व्यक्तिहरूको संक्षिप्त जीवनी विमल गुरुङ र हेलिसा गुरुङले प्रस्तुत गरेका थिए । यो अवार्ड सन् २०१३ देखि तमु धीं युकेका सदस्यहरूको उत्कृष्ट कार्यका लागि प्रदान गरिँदै आएको छ ।
सम्मानित सुमलकुमारले आयोजक तमुधीं यूकेलाई धन्यवाद दिएका छन् । ‘तमुधिं यूकेको आजीवन रात्रिभोजको अवसरमा मलाई आदर्श तमु अवार्डबाट विभूषित गर्यो । जीवनको यस मोडमा मलाई यस अवार्डबाट विभूषित गरेकोमा तमुधिं यूकेका अध्यक्ष, सम्पूर्ण कार्यकारी समिति, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, आजीवन सदस्यहरू र ट्रस्टीहरूमा म र मेरी श्रीमती सारादेवी गुरूङ हार्दिक आभार र धन्यवाद व्यक्त गक्दछौं,’ उनले फेसबुकमा लेखेका छन् ।

२०१३ सालमा १ जना, २०१४ सालमा १ जना, २०१५ सालमा ३ जना, २०१६ सालमा ३ जना, २०१७ सालमा ४ जना, २०१८ सालमा ४ जना, २०१९ सालमा ५ जना, २०२० सालमा १ जना, २०२१ सालमा ५ जना, २०२२ सालमा ५ जना, २०२३ सालमा ५ जना २०२४ सालमा ५ जना सम्मानित भएका थिए ।
यस्तै नन्दकुमारी गुरुङ, नरजङ्ग गुरुङ, भक्तबहादुर गुरुङ, खेमसिङ गुरुङ र डेबिट अर्मिटेजलाई विशेष सम्मान गरिएको थियो ।







