नगेन्द्रराज नेम्बाङ्ग
स्यान्डहस्र्ट । किरात याक्थुङ्ग चुम्लुङ्ग (कियाचु) रसमुर शाखाले विविध कार्यक्रमका साथ बलिहाङ्ग तङ्नाम (दिपावली) मनाएका छन् । गत शनिबार ३ नोभेम्बरका दिन रसमुर क्षेत्रमा बसोबास गर्ने लिम्बुहरुको बाक्लो उपस्थितिमा स्यान्डहस्र्टमा मनाइएको हो । बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका लिम्बुहरुले बलिहाङ्ग तङ्नाम मनाउने क्रममा रसमुर शाखाले पनि मनाएको हो ।
प्रमुख अतिथि फेदाङ्गमा विरध्वज आङबोहाङ्ग, कियाचु रसमुर शाखा अध्यक्ष जित प्रकाश मेन्याङ्बो र बिशेष अतिथि एवं नेपालबाट आएकी गायिका अमृता सम्बाहाङफेले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी सो कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थाप्रति तन, मन, धन र अमूल्य योगदान दिएका विरध्वोज आङबुहाङ्ग, फागोहाङ्ग लिम्बु र जेष्ठ नागरिक पदम लिम्बुलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
लिम्बु संस्कृतिलाई संरक्षण र संस्थाका लागि रकम संकलन गर्न ‘नामलिङ्गेक लारिङगेक’ देउसी भैलो खेलेका थिए । लिम्बुहरुको लोकप्रिय केलाङ्ग (च्याम्ब्रुङ) नाच प्रस्तुत् गरेर उपस्थित अतिथि तथा मान्यजनहरुलाई स्वागत गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा गायिका अमृता सम्बाहाङ्फेले विभिन्न नेपाली गीतहरु गाएर दर्शकहरुलाई नचाएका थिए । त्यस्तै, स्थानीय कलाकारहरु आसराज बोखिम, पूर्ण साउदिन, युवराज इस्बा र इन्द्र पङधाक लिम्बुले गीत गाएर कार्यक्रमको रौनकता बढाएका थिए ।
बलिहाङ्ग तङ्गनामको शुभअवसर पारी कियाचु युकेको निमन्त्रणामा नेपालबाट आएका कलाकारहरु अमृता सम्बाहाङफे र गायक ब्रविन शेर्मालाई सम्मान तथा बिदाई गरिएको थियो । उनीहरुलाई कियाचु युकेका अध्यक्ष तिल बिक्रम सम्बाहाङफे, सल्लाहकार दिलसिं मेन्याङबो, वरिष्ठ उपाध्यक्ष नगेन्द्र राज नेम्वाङ्ग, उपाध्यक्ष विमला सेने र महासचिव गणेश इजमले संयुक्त रुपमा खादा ओढाई सम्मान गर्दै प्रशंसापत्र र केही नगद पनि प्रदान गरिएको थियो । कलाकारहरुलाई सम्मान गर्ने क्रममा सेवारो कलाकार संघ युकेले पनि कलाकारहरुलाई सम्मान गरेका थिए । सो अवसरमा संघकी उपाध्यक्ष रिता फोम्बो, महासचिव जय मादेम्वा, विमला सेने, ईन्द्र पङधाक र युवराज इस्वोले खादा ओढाई सम्मान गरे । कार्यक्रममा संस्थाका सल्लाहकारहरु रकमसिंह बेघा, लिला सेलिङ्ग माबो, मेजर दिल आङबोहाङ, पाँचथर समाज सेवाका अध्यक्ष चन्द्र सुन्दास र तेह्रथुम समाजका पूर्व अध्यक्ष सूर्य खापुङलगायतको बिशेष उपस्थिति रहेको थियो ।
कियाचु रसमुर शाखा अध्यक्ष जित प्रकाश मेन्याङबोको अध्यक्षतामा सम्पन्न बलिहाङ्ग तङ्गनाम कार्यक्रममा उपाध्यक्ष पूर्ण साउदेनले स्वागत मन्तब्य राखेका थिए भने सचिव भगिश्वर चोङबाङले कार्यक्रम संचालन गरेका थिए ।






