लन्डन । बेलायतमा बसोबास गर्ने नेपाल प्रहरीका पूर्वअधिकृतले माओवादी जनयुद्ध र प्रहरीसँग सम्बन्धित विषयमा रहेर एक पुस्तक प्रकाशन गरेका छन् ।

नेपाल प्रहरीका पूर्वप्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले माओवादीको १० वर्षे जनयुद्धले नेपाल प्रहरीको मनोबलमा पारेको असरको विषयमा केन्द्रित रहेर पुस्तक लेखेका हुन् । वि.सं. २०५२ देखि ६२ सालसम्म भएको माओवादी जनयुद्धको क्रममा करिब १७ हजार नेपाली मारिएकोमा १ हजार ४८६ प्रहरी कर्मचारी मारिए, करिब २ हजार ४०० घाइते भए, ११ हजार २८० (तत्कालिन प्रहरी संख्याको करिब २५५) जना प्रहरीले बीचमै जागिरबाट अवकाश लिएका थिए भने ७६४ प्रहरी कार्यालय ध्वस्त बनाइएको थियो ।
अन्तर्राष्ट्रिय खोज तथा पुस्तक प्रकाशन गर्ने संस्था लाम्बर्ट एकेडेमिक पब्लिसिङ्गबाट अंग्रेजी भाषामा गत हप्ता प्रकाशन भएको सो पुस्तकको मूल्य ४९.९० युरो (नेपाली रुपियाँ करिब ६५००) मूल्य रहेको छ ।
लेखक शिवजी श्रेष्ठले लन्डनस्थित सोआस युनिभर्सिटी अफ लन्डनका प्रोफेसर माइकल हटको उत्प्रेरणाले पुस्तक प्रकाशन गरेको बताए । प्रोफेसर हटले छ वर्षअघि एक कार्यक्रममा जनयुद्धको बारेमा धेरै माओवादी नेता तथा कार्यकर्ताहरुबाट पुस्तक प्रकाशन भए पनि पूर्व सुरक्षाकर्मीहरुबाट नगन्य मात्रामा लेख तथा पुस्तक आएको भन्दै पूर्वसुरक्षाकर्मीको नाताले श्रेष्ठलाई पुस्तक लेख्न घचघच्याएको थिए ।
सो पुस्तक चाँडै नै नेपाली भाषामा पनि प्रकाशित गरिने लेखक श्रेष्ठले बताए । पुस्तकमा नेपालको तत्कालीन राजनीतिक परिवेश, जनयुद्ध सुरु हुँदाको पृष्ठभूमि, तत्कालीन राजनीतिक परिस्थिति, सरकारको रवैया, सुरक्षा स्थिति, माओवादी जनयुद्ध र त्यसले नेपाल प्रहरीलाई पारेको असर विनापूर्वाग्रह विश्लेषण गरिएको छ । जसमा मुख्यतः नेपाल प्रहरी कर्मचारीको मनोबलमा पारेको असरलाई केलाउँदै त्यसमा सुधार ल्याउनको लागि सुझावसहित विश्लेषण गरिएको छ । बेलायतमा बसोबासरत पूर्व प्रहरी नायव उपरीक्षक श्रेष्ठ बेलाबेलामा नेपाली अनलाइन र छापाहरुमा पनि लेख प्रकाशन गरिरहन्छन् ।






