एटा संवाददाता
अल्डरसट । अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस) युकेले एक च्यारिटी कार्यक्रम आयोजना गरेको छ । गत शनिबार ३ नोभेम्बरका दिन अल्डरसटस्थित एम्पायर हलमा सो कार्यक्रम आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय नेपाली समाज, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी नेपालको प्रवासस्थित भातृ संगठन हो ।
भिजन नेपाल च्यारिटी नाईटको नाम दिइएको कार्यक्रममा नेपाली राजदूतावास लन्डनका द्वितीय सचिव एवं कार्यक्रमका प्रमुख अतिथि लव सुवेदीले अन्तर्राष्ट्रिय नेपाली समाज (आईएनएस) युकेले गरेको परोपकारी कार्यको प्रशंसा गरे । त्यस्तै, कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली समाज, विज्ञ विभागका संयोजक डा. रेशम थापाले नेपालको वर्तमान अर्थ व्यवस्थाबारे जानकारी दिँदै भविष्यमा कसरी दिगो बनाउन सकिन्छ भन्ने बारेमा पावर पोइन्ट प्रिजेन्टेसन दिएका थिए । त्यस्तै, ब्रिटेन नेपाल लयर्स एशोसिएसन युकेका प्रवक्ता गोविन्द बेल्वासेले गैरआवासीय नेपाली नागरिकताबारे आप्mनो धारणा प्रस्तुत् गरेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली समाज प्रवास संयोजक धनबहादुर गुरुङको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा समाजका अध्यक्ष ले. चन्द्र गुरुङले च्यारिटी कार्यक्रमको बारेमा जानकारी दिँदै च्यारिटीबाट संकलित रकम नेपालको टेलिमेडिसिन र शिक्षामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले प्रमुख अतिथि, अतिथि, प्रायोजक र सहभागी सबैलाई उपस्थिति र सहयोगका लागि धन्यवाद दिए । त्यस्तै, समाजसेवी डा. राधव धिताल ओबिई, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी र प्रोफेसर भरत सिम्खडालगायतले समेत आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा क्यान्सरबाट मुक्त भएका पाण्डव महतोले जर्मन म्याराथुनमा भाग लिएको जनाउँदै सन् २०२१ मा नेपालको पूर्वदेखि पश्चिमसम्म दौडने जानकारी दिए । कार्यक्रममा महतो र पुष्पा उप्रेतीलाई सम्मान समेत गरिएको थियो । त्यस्तै, मिस युके नेपाल २०११ की विजेता गौमाया गुरुङले आउँदो पुस ३ देखि ५ सम्म भूकम्पबाट प्रभावित गोर्खा जिल्लामा आफ्नो संयोजनमा हुन लागेको आँखा शिविरको बारेमा बोलेकी थिइन् । बेलायतमा रहेका नेपाली संघसंस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, उद्यमी, व्यापारी र व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय सदस्य सुरज मास्केले व्यापारमा लगानी र चुनौतीका विषयमा बोलेका थिए । त्यस्तै, सेनाप्ट गु्रपका युवा उद्यमीले इनर्जी लगायतका व्यवसाय बारे बोलेका थिए ।
कार्यक्रममा सोफिया गुरुङले मञ्जुश्री नृत्य प्रस्तुत् गरेकी थिइन् भने गायिका आँचल लामाले विभिन्न गीतहरु प्रस्तुत् गरेकी थिइन् । त्यस्तै, कार्यक्रमलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि उपाध्यक्ष हेम गुरुङ, उपाध्यक्ष सकुन गुरुङ, सुशीला गुरुङ र मान गुरुङलगायत कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुले विशेष भूमिका खेलेका थिए । कार्यक्रमको फोटोग्राफी मिलन तमुले गरे ।
अन्तर्राष्ट्रिय नेपाली समाज युकेका अध्यक्ष ले. चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा समाजका उपाध्यक्ष थम विकले स्वागत मन्तव्य दिएका थिए भने महासचिव कृष्ण गैरे र गौमाया गुरुङले सञ्चालन गरेका थिए ।






