जी–२० सम्मेलनमा बेलायती प्रधानमन्त्रीले भने, ‘विश्व चुनौती सामना गर्दै रचनात्मक भूमिका खेल्ने तरिका खोज्नु आवश्यक’

SHARE:


लन्डन २२ नोभेम्बर २०२५ । भूराजनीतिक विभाजन र प्रतिस्पर्धाले विश्वको आर्थिक सङ्कटलाई समाधान गर्न जी–२० को भूमिकामा प्रश्नचिन्ह् खडा भएको शिखर सम्मेलनमा नेताहरूले चेतावनी दिएका छन् । संयुक्त राज्य अमेरिकाले बहिष्कार गरेको सम्मेलनका अवसरमा अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्न सारेको प्रस्तावले शनिबार नेताहरूबीच छलफलसमेत भएको छ ।

अफ्रिकामा पहिलो पटक आयोजित जी–२० शिखर सम्मेलनमा भाग लिने युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्ध अन्त्य गर्न अघि सारेको एकपक्षीय योजनाको प्रतिक्रियाका लागि पनि सम्मेलनका अवसरमा छलफल गरेका थिए ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले शिखर सम्मेलनको सुरुमै सहकर्मी नेताहरूलाई चेतावनी दिँदै भन्नुभएको थियो, “हामी यस टेबलमा ठूला सङ्कटहरू सँगै समाधान गर्न सङ्घर्ष गरिरहेका छौँ र जी– २० एक चक्रको अन्त्यमा पुग्न सक्छ।”

“यसमा कुनै शङ्का छैन, अगाडिको बाटो कठिन छ”, बेलायती प्रधानमन्त्री केइर स्टार्मरले म्याक्रोँको भनाइप्रति सहमति जनाउँदै भन्नुभयो । “हामीले आज फेरि विश्व चुनौतीहरूको सामना गर्दै रचनात्मक भूमिका खेल्ने तरिकाहरू खोज्नु आवश्यक छ।”

चिनियाँ प्रधानमन्त्री ली चियाङले भन्नुभएको छ, “एकपक्षीयतावाद र संरक्षणवाद व्याप्त छ र धेरै मानिस विश्वव्यापी ऐक्यबद्धतामा के भइरहेको छ भनेर सोचिरहेका छन्।”

शिखर सम्मेलनका आयोजक दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले ट्रम्पको अनुपस्थितिलाई बेवास्ता गर्दै जी–२० अन्तर्राष्ट्रिय सहयोगका लागि महत्वपूर्ण रहेको तर्क गर्नुभयो ।

“जी–२० ले बहुपक्षीयवादको सान्दर्भिकतालाई जोड दिएको छ । यसले हामीले सामना गरिरहेका चुनौतीहरू सहयोग, सहकार्य र साझेदारीको माध्यमबाट मात्र समाधान गर्न सकिन्छ भन्ने मान्यता दिन्छ,” रामाफोसाले भन्नुभयो ।

जी–२० मा युरोपेली सङ्घ र अफ्रिकी सङ्घसहित १९ देश छन् र विश्वको कुल गार्हस्थ्य उत्पादनको ८५ प्रतिशत र दुई तिहाइ जनसङ्ख्याले ओगटेको छ ।

जोहानेसबर्ग शिखर सम्मेलनलाई अमेरिकी बहिष्कारले कमजोर बनाएको त थियो नै यसबाहेक चीनको राष्ट्रपति सी जिनपिङको अनुपस्थितिमा चिनिया प्रधानमन्त्री लीलाई पठाइनु र रूसले राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा क्रेमलिनका अधिकारी म्याक्सिम ओरेश्किनलाई पठाएपछि सम्मेलनले अपैक्षाकृत रौनक पाउन सकेको छैन ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको पक्राउ पूर्जीका कारण पुटिनको अनुपस्थितिलाई सामान्य लिइएको भएपनि अमेरिकी अनुपस्थितिले यसलाई कमजोर भूमिकामा देखाएको छ।

उपस्थित नेताहरूले आफ्नो बैठकको शुरुवातमा जी–२० शिखर सम्मेलनको घोषणापत्र पारित गरेका छन्, जसमा जलवायु, ऊर्जा, ऋण स्थिरता र एक महत्वपूर्ण खनिज सम्झौता र युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिको लागि संयुक्त आह्वान समावेश छ।

अर्जेन्टिनाका विदेश मन्त्री पाब्लो क्विर्नोले ट्रम्पको सहयोगी राष्ट्रपति जेभियर माइलीको अनुपस्थितिमा उभिएर दस्तावेजमा केही भूराजनीतिक मुद्दा र विशेष गरी इजरायल–प्यालेस्टाइन द्वन्द्वको बारेमा आपत्ति जनाउनुभएको छ।

रामाफोसाले भन्नुभयो, “भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी भएको सम्मेलनमा नेताहरूले घोषणालाई स्वीकार गरे ।

उद्घाटन समारोह समाप्त हुने बित्तिकै स्टार्मर, म्याक्रोँ र जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनका लागि ट्रम्पको योजनाको बारेमा छलफल गर्न अर्को एक बैठकमा जुटेका छन् ।

युरोपेली सङ्घका एक अधिकारीले भने, “युरोपका अन्य नेताहरू र अस्ट्रेलिया, क्यानडा र जापानका नेताहरूलाई पनि समावेश गर्न चाँडै यो बैठकलाई विस्तार गरिएको छ ।”

“हामी यसअघिका वार्ताका आधारमा अमेरिकी योजनालाई अझ सक्षम बनाउने दिशामा काम गरिरहेका छौं,” एक युरोपेली कुटनीतिक स्रोतले एएफपीलाई भनेको छ ।

स्रोतका अनुसार वासिङटनसँग केही संवाद भएको थियो तर कुनै पनि नेताले ट्रम्पलाई भेट्ने कुनै योजना बनाएको भने बुझिएको छैन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!