नियात्रा: साहित्य यात्रा बेल्जियमको

SHARE:

नियात्रा: साहित्य यात्रा बेल्जियमको
चिम्खोले काईला – बेलायत

म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्र, विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) केन्द्र र नेपाली साहित्य विकास परिषद् यूकेमा सक्रिय रूपमा आबद्ध छु। बेलायतमै रहेको हुँदा समय मिले र भ्याएसम्म यी संस्थाहरूले आयोजना गरेका साहित्यिक कार्यक्रमहरूमा उपस्थिति जनाउँदै आएको छु।

एक दिन अनेसास बेलायत च्याप्टरका अध्यक्ष राज कुमार श्रेष्ठ दाजुले अनेसासको म्यासेन्जर ग्रुपमा “छैटौं अनेसास च्याप्टर सम्मेलन बेल्जियममा” भन्ने पोस्टर पोस्ट गर्नुहुन्छ। पोस्टर देख्नेबित्तिकै मलाई निकै उत्सुकता जाग्छ। जति उत्सुकता जागेपनि घर सल्लाह गर्नुपर्‍यो र काममा छुट्टी लिनुपर्‍यो, जसले गर्दा तत्काल मौन बसेँ।

केही दिनपछि राज कुमार दाजुले बेल्जियम जाने हो कि होइन भनेर सोध्नुहुन्छ। “हजुर जानुहुन्छ कि नाइँ?” भनेर उल्टै प्रश्न गर्छु। दाजुले “जाने विचार गरेको छु” भन्ने जवाफ दिनुहुन्छ। दाजु र मेरो चिनजान सन् १९८२ देखि नै हो। हामी ब्रिटिस आर्मीको ६ गोर्खा राइफल्स ‘बी’ (ब्राभो) कम्पनीमा कार्यरत थियौँ। मैले पनि “जागिरबाट छुट्टी मिले जानुपर्ला दाजु” भनेर जवाफ दिन्छु।

जागिरबाट छुट्टी मिल्छ। राज कुमार दाजुलाई कहिले जाने र कुन सवारी साधनबाट जाने भनेर खबर गर्छु। दाजुले “हामी दुई भाइ हेथ्रो विमानस्थलबाट हवाईमार्गद्वारा जाने र टिकट हेर्नु है भाइ” भनेर भन्नुहुन्छ। मैले टिकट हेरेर दाजुलाई खबर गर्छु। तर दाजुले अनेसास बेलायत च्याप्टरका साथीहरूले यूरोस्टारद्वारा जाने सल्लाह गरेको जानकारी दिनुहुन्छ। मैले पनि “हुन्छ दाजु, यूरोस्टारमै जाने” भनेर सल्लाह दिन्छु। किनकि नेपालीमा एउटा उखान छ, “बरु खाना छोड्नु, तर साथी नछोड्नु” भन्छन्।

यूरोस्टारमा जाने सल्लाह हुन्छ। हुन त हवाईमार्गको टिकट यूरोस्टारको भन्दा धेरै सस्तो थियो। तर, विशन थापा मगर दाइ, भाउज्यु, रघु भण्डारी र गंगा भण्डारीजि कामविशेषले केही दिनअगाडि नै हिँडिसकेका छन्। उहाँहरुसंग वेल्जियममा भेट हुनेछ। अन्त्यमा राज कुमार दाजु, कुमार केसीज्यू र प्रतिमा केसीज्यू मात्र यूरोस्टार यात्रामा सँगै हुने भएका छौँ।

अनेसासको साहित्य सम्मेलनमा जाने दिन आईपुगेको छ। बिहान ११ बजे लन्डनको सेन्ट प्यानक्रसबाट यूरोस्टार बेल्जियमको ब्रसेल्स जाने टिकट छ। यूरोस्टार छुट्नुभन्दा दुई घण्टाअगाडि, अर्थात् बिहान ९ बजे, लन्डनको सेन्ट प्यानक्रसस्थित अन्तर्राष्ट्रिय स्टेसनमा पुग्नुपर्नेछ। मलाई घरबाट बिहान ७ बजे मेरी श्रीमती जमुनाले थाचम रेलवे स्टेसनसम्म पुर्‍याइदिनुभएको छ। लन्डनमा मौसम सफा छ। मेरो यात्रा सुरु भएको छ।

बेलायतको समर अति नै रमणीय हुन्छ। जता हेर्‍यो हरियाली, लामा-लामा घाँसे मैदानहरूमा नाना थरीका फूलहरू फुलेका छन् भने अर्कातिर ठूलठूला फाँटहरूमा गहुँ, जौँ, मकै, आलु र तोरी लहलह झुलेका देखिन्छन्। तोरी फुलेर पहेंलपुर भएको छ। यात्रामा एक्लो छु तर आनन्दमय बनेको छ। यतिखेर म ग्रेट वेस्टर्न रेलवेको यात्रा गर्दै रेडिङ, प्याडिङ्टन हुँदै लन्डनको सेन्ट प्यानक्रस अन्तर्राष्ट्रिय स्टेसनमा आइपुगेको छु। समयमा आइपुगेकाले मलाई हतार छैन।

म सुरक्षा जाँच गरेर प्रतीक्षालयमा अन्य साथीहरूलाई कुरेर बसें। सायद राज कुमार दाजु, कुमारजी र प्रतिमाजी आउँदै हुनुहुन्छ होला। मैले राज कुमार दाजुलाई फोन गरेर सोध्छु, “कहाँ आइपुग्नुभयो?” राज कुमार दाजु पनि सुरक्षा जाँच गरेर प्रतीक्षालयतिर आएको जानकारी गराउनुहुन्छ। केही क्षणपछि राज कुमार दाजुसँग भेट भएको छ। राज कुमार दाजुले कुमारजी र प्रतिमाजीलाई फोन गर्नुहुन्छ। कुमारजी र प्रतिमाजी पनि अर्कोतिरको प्रतीक्षालयमा रहेको खबर पाएका छौँ।

केही क्षणपछि राज दाजु, कुमारजी, प्रतिमाजी र म (चिम्खोले काईला) यूरोस्टारमा भेट भएका छौँ। यूरोस्टारमा मेरो पहिलो यात्रा हो। यसभन्दाअघि बेल्जियमलगायत युरोपियन मुलुकहरूको भ्रमण गरेको भए तापनि पानीजहाज र मोटर गाडीमा यात्रा गरेको थिएँ। यतिखेर राज दाजु, कुमारजी र प्रतिमाजीसँग गफिँदै ब्रसेल्स पुगेका छौँ।

अब हामी बेल्जियमको दोस्रो सहर एन्टवर्प (Antwerp) जाने तयारीमा छौँ। किनकि अनेसासको साहित्यिक सम्मेलन एन्टवर्प सहरमा हुने भएको छ। त्यसैले एन्टवर्पका लागि रेलको टिकट काटेर रेलमा सवार छौँ। तर, भूलवश गलत स्थानमा झरेका कारणले हामी अलमलमा परेका छौँ। केही क्षण सही स्थानको गहन अध्ययन गरी फेरि अर्को रेलमा चढेर यात्रा गरिरहेका छौँ। यात्राको क्रममा राज कुमार दाजुले एन्टवर्पमा रहेका अनेसास बेल्जियमका पदाधिकारीहरूसँग दोहोरो संवाद गरिरहनुभएको छ।

यतिखेर हामी एन्टवर्प रेल स्टेसनमा आइपुगेका छौँ। हामीलाई स्वागत गर्न अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष सौरभ काररञ्जित र उपाध्यक्ष गोपाल दाहाल रेलवे स्टेसनमा आउनुभएको छ। उहाँहरूले खादा लगाएर स्वागत गरेपछि नजिकै हामीले बुकिङ गरेको होटेलमा ल्याएका छन्। बेलुकी ५ बजे छैटौँ साहित्यिक सम्मेलनका लागि विश्वका विभिन्न मुलुकहरूबाट बेल्जियम आएका साहित्यकारहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको छ।

एन्टवर्प (Antwerpen) बेल्जियमको दोस्रो ठूलो सहर तथा युरोपको महत्त्वपूर्ण आर्थिक एवं सांस्कृतिक केन्द्र हो। एन्टवर्प विश्वभरिको हिरा व्यापारको प्रमुख केन्द्र मानिन्छ। यही कारणले यो सहर विशेषगरी ‘विश्वको हिराको राजधानी’ भनेर परिचित छ। विश्वमा कारोबार हुने ७०% भन्दा बढी हिरा यहीँबाट खरिद-बिक्री हुन्छ। सहरको ‘डाइमन्ड क्वार्टर’ (Diamond Quarter) मा धेरै हिरा व्यापारीहरू र कटिङ सेन्टरहरू रहेका छन्।

यसका साथै, एन्टवर्प युरोपको सबैभन्दा ठूला बन्दरगाहहरूमध्ये एकका रूपमा पनि चिनिन्छ। एन्टवर्पको बन्दरगाहले बेल्जियमको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याएको छ र यसलाई युरोपको महत्त्वपूर्ण प्रवेशद्वार मानिन्छ।

एन्टवर्प एक फेसन राजधानीको रूपमा समेत उदाउँदो छ। यस सहरले धेरै प्रसिद्ध फेसन डिजाइनरहरूलाई जन्म दिएको छ भने यहाँको ‘रोयल एकेडेमी अफ फाइन आर्ट्स’ (Royal Academy of Fine Arts) विश्व प्रसिद्ध छ। साथै, यो सहर प्रसिद्ध फ्लेमिश चित्रकार पीटर पॉल रुबेन्स (Peter Paul Rubens) को जन्मस्थान पनि हो। उनका कलाकृतिहरू यहाँका विभिन्न सङ्ग्रहालय र चर्चहरूमा देख्न सकिन्छ।

सहरको केन्द्रमा रहेको ग्रोटे मार्केट (Grote Markt) मध्ययुगीन गिल्ड हलहरू र भव्य टाउन हलले सजिएको अत्यन्तै सुन्दर ऐतिहासिक चोक हो। समग्रमा, यस सहरमा फ्लेमिश र गोथिक वास्तुकलाको सुन्दर मिश्रण देख्न सकिन्छ। एन्टवर्प एक गतिशील सहर हो, जहाँ ऐतिहासिक भव्यता, आधुनिक फेसन र विश्वव्यापी व्यापारको अनुपम मिश्रण पाइन्छ।

अनेसासको बेल्जियम च्याप्टरले एन्टवर्प सहरको एउटा सभाहलमा विश्वका विभिन्न मुलुकबाट सम्मेलनमा भाग लिन आएका साहित्यकारहरूलाई स्वागत गर्छन्। स्वागत कार्यक्रममा भारतका सिक्किम, दार्जिलिङ, बेलायत, क्यानडा, अमेरिकाका विभिन्न च्याप्टर र युरोपका विभिन्न मुलुकहरू नर्वे, जर्मनी, फ्रान्स, पोर्चुगल, हल्यान्ड, स्पेन, पोल्यान्डका साहित्यकारहरूसँग जमघट भएको छ। साहित्यकारहरूले आफ्नो परिचय दिँदै विभिन्न विधाका कृतिहरू वाचन तथा गीत-सङ्गीतहरू प्रस्तुत गरेको देख्दा र सुन्दा आनन्द लागेको अनुभव गरेको छु। नौलो स्थान, नौलो परिवेश, नयाँ साहित्यकारहरूसँग जोडिँदा मिठो अनुभूति भइरहेको छ। स्वागत, परिचय र साहित्य कार्यक्रम समापनपछि खानपिन गरेर होटेलमा फर्किएका छौँ।

आज अनेसासको उद्घाटन कार्यक्रम लोक्वालमा हुने भएको हुनाले हामी रेलवेद्वारा लोक्वालतिर जाँदैछौँ। रेलवेको शुल्क तिर्न नगद पैसा नचल्ने भएपछि केही साहित्यकारहरूलाई असुविधा भएको महसुस भयो। तैपनि गोपाल दाहालजी र डिल्ली अम्माईजीले सहज व्यवस्थापन गर्दै हुनुहुन्छ।

हामी लोक्वाल हलमा आइपुगेका छौँ। लोक्वाल हल बुहारीजस्तै सिँगारिएको छ। कार्यक्रमका लागि तोकिएको शुल्क तिर्नुपर्ने भएकाले मैले शुल्क तिरें। शुल्क तिरेपछि अनेसासको लोगो भएको नेपालमा निर्मित अल्लोको झोला र प्रवेश टिकट लिएँ। हलमा प्रवेश गर्नुभन्दा पहिले समाचारका लागि केही फोटोहरू खिच्छु।

छैटौँ सम्मेलनको पहिलो दिनको पहिलो चरणमा कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व अध्यक्ष तथा अनेसास सल्लाहकार जीवा लामिछाने, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का दुई खेमाका अध्यक्ष तथा महासचिवहरू, अनेसासका बोर्ड अफ ट्रष्टी (बीओटी) का सभापति पदम विश्वकर्मा, सांस्कृतिक सचिव महेश्वर पन्त, केन्द्रीय निवर्तमान अध्यक्ष गोवर्धन पूजा, अनेसास युरोपका उपाध्यक्ष डिल्ली अम्माई, उपाध्यक्ष अमेरिका सुदीप भद्र खनाल, बेल्जियम च्याप्टरका सल्लाहकार हरिहर अर्याल, एनआरएनएका अभियन्ताहरू, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा, बेल्जियममा स्थापित विभिन्न सङ्घ-संस्थाका अध्यक्षहरू तथा प्रतिनिधिहरू लगायत अनेसासका क्षेत्रीय प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिनुभयो।

स्वागत मन्तव्यको क्रममा अनेसास युरोपका उपाध्यक्ष डिल्ली अम्माईले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का दुवै खेमाका अध्यक्ष तथा पदाधिकारीहरूलाई “लाज नभएका एनआरएनएहरू विशुद्ध साहित्य कार्यक्रममा किन उपस्थित भएको?” भनेर प्रहार गरेपछि स्थिति अलि तनावग्रस्त हुन्छ। तापनि, लाज नभएका एनआरएनएहरू आफ्नो कुरा राखेर हिँड्छन्।

अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले अध्यक्षता गर्नुभएको सम्मेलनमा संस्थाको तर्फबाट उपाध्यक्ष लाल गोपाल सुवेदी र बेल्जियम च्याप्टरका उपाध्यक्ष लोकनाथ शर्माले स्वागत मन्तव्य दिनुभएको छ भने महासचिव गोपाल दाहालले कार्यक्रम सञ्चालन गर्नुभयो।

पहिलो चरणको अन्त्यमा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले र बेल्जियम च्याप्टरका अध्यक्ष तथा कार्यक्रम संयोजक सौरभ कारञ्जितले छैटौँ सम्मेलनको उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न गराइदिने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद दिनुभयो।

कार्यक्रमको पहिलो चरणमा विश्वभरबाट बेल्जियममा उपस्थित भएका विभिन्न साहित्यिक, सामाजिक, राजनीतिक र व्यावसायिक सङ्घ-संस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ।

उद्घाटन समारोहको दोस्रो चरणमा अनेसास बेल्जियमका सल्लाहकार ब्रह्मदत्त वाग्लेले बेल्जियममा स्थापित विभिन्न सङ्घ-संस्थाको बारेमा प्रकाश पार्नुभएको छ भने साहित्यकार पञ्चम अधिकारीले साहित्यिक हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्नुभयो।

साहित्यिक हाजिरी जवाफ प्रतियोगितामा गोवर्धन पूजा (जोकर) विजयी घोषित हुनुभयो। उहाँले $१०० पुरस्कार प्राप्त गर्नुभएको छ। उक्त पुरस्कार बीओटीका अध्यक्ष पदम विश्वकर्माले प्रायोजन गर्नुभएको हो भने अनेसासको बाल समिति संयोजक सुरेन उप्रेती उपविजेता हुनुभयो। उप्रेतीले पुरस्कारस्वरूप दुईवटा पुस्तक प्राप्त गर्नुभयो।

उद्घाटन समारोहको तेस्रो चरणमा साहित्यकारहरू प्रतिमा केसी, गङ्गा भण्डारी, शारदा पौडेल (निशा), प्रतीक रावल, राजेश सापकोटा, नारायण अधिकारी, राज श्रेष्ठ, नेत्र बन्धु पोख्रेल, मित्रलाल पार्दी, चिम्खोले काईला, सुदीप भद्र खनाल, सुरेन उप्रेती, सुसन वर्देवा, एनबी अन्जान, प्रकाश खड्काले गजल, मुक्तक र कविता वाचन गर्नुभयो।

त्यस्तै, हरिमाया अधिकारी खतिवडा, सुसन वर्देवा, खड्ग न्यौपाने र महेश्वर पन्तले आ-आफ्नो गजल प्रस्तुत गरेर उपस्थित साहित्यकारहरूलाई मन्त्रमुग्ध बनाएका छन् भने प्रकाश खड्काले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुभयो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ सम्मेलनको दोस्रो दिन च्याप्टर प्रतिवेदन कार्यक्रम बेल्जियमको लोक्वाल सहरमा सम्पन्न भयो। अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेले अध्यक्षता गर्नुभएको यस कार्यक्रमलाई अमेरिकाका उपाध्यक्ष सुदीप भद्र खनाल र युरोपका उपाध्यक्ष डिल्ली अम्माईले सञ्चालन गर्नुभयो।

च्याप्टर प्रतिवेदनको पहिलो चरणमा अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रष्टी (बीओटी) का सभापति पदम विश्वकर्माले शुभकामना मन्तव्य दिनुभयो। दोस्रो चरणमा अनेसास क्यानाडाका संस्थापक अध्यक्ष तथा अनेसास बाल समितिका संयोजक सुरेन उप्रेतीलाई “अनेसास हिरो” पुरस्कार प्रदान गरियो। पुरस्कारको धनराशी अमेरिकन $१,६०० (एक हजार छ सय डलर) रहेछ।

कार्यक्रमको तेस्रो चरणमा अनेसासका वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदीद्वारा लिखित “युरोपका नेपाली स्रष्टा” पुस्तकलगायत दर्जनजति साहित्यकारका पुस्तकहरू अध्यक्ष सर्वज्ञ वाग्लेले विमोचन गर्नुभयो। सो विमोचन कार्यक्रममा नियात्राकार तथा चिम्खोले काईलाद्वारा लिखित गीतिसङ्ग्रह “लन्डन घुमौला” पनि विमोचन भयो। साहित्यकार लाल गोपाल सुवेदीलगायत सम्पूर्ण कृति प्रस्तुत गर्ने साहित्यकारहरूलाई अध्यक्ष वाग्लेले बधाई तथा सम्मान गर्नुभयो।

यसै चरणमा विश्वभरिबाट सम्मेलनमा सहभागी मुलुकका अध्यक्ष तथा उहाँहरूका प्रतिनिधिहरूले आ-आफ्नो च्याप्टर प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदन प्रस्तुत गर्ने च्याप्टरहरूमा अनेसास बेलायत, बोस्टन, बेल्जियम, क्यानाडा, बोर्ड अफ ट्रष्टी, फ्रान्स, नर्थ क्यारोलाइना, नर्वे, सिक्किम, जर्मनी, पोर्चुगल, स्पेन, पोल्यान्ड, जोर्जिया, नेब्रास्का, युरोप लगायत विभिन्न मुलुकहरू छन्।

कार्यक्रमको पाँचौँ चरणमा “भारतमा नेपाली साहित्य” भन्ने विषयमाथि चर्चा-परिचर्चा गरियो। यो विषयको चिरफार डा. प्राध्यापक कविता लामा, प्राध्यापक पुष्पा शर्मा र नारायण अधिकारीले गर्नुभयो भने उक्त विषयमा प्राध्यापक उषा शर्माले सहजीकरण गर्नुभयो। यो कार्यक्रमले अनेसासलाई थप उचाइमा पुर्‍याएको जस्तो भान भएको छ।

कार्यक्रमको अन्त्यतिर अनेसासका निवर्तमान अध्यक्ष गोवर्धन पूजा र पञ्चम अधिकारीले अनेसासको “हिजो, आज र भोलि” भन्ने कार्यपत्र प्रस्तुत गर्नुभयो भने कार्यक्रम सफलतापूर्वक सम्पन्न गराइदिनुहुने सम्पूर्ण महानुभावहरूलाई अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेले हार्दिक धन्यवाद दिनुभयो।

कार्यक्रमको समापनपछि एन्टवर्प सहरमा आयोजित खानपिन समारोहमा उपस्थित साहित्यकारहरूले आ-आफ्नो कविता, गजल, मुक्तक लगायत विभिन्न विधाका साहित्यिक तथा सांस्कृतिक प्रस्तुतिहरू दिए भने सुसन परिवारले कार्यक्रम सञ्चालन गर्नुभयो।

अनेसास (अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज) को छैटौँ च्याप्टर सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै तेस्रो दिन समापन भएको छ। समापन समारोह बेल्जियमको एन्टवर्प (Antwerp) शहरमा सम्पन्न भएको हो। समापन समारोहको पहिलो चरणमा घोषणापत्र तयार पार्न डा. प्राध्यापक कविता लामा, प्रतिमा केसी, र मीरा कोइरालालाई जिम्मेवारी दिइएको थियो। घोषणापत्र तयार पार्ने जिम्मेवारी पाएकाहरूले प्रस्तुत गर्नुभएको घोषणापत्र सर्वसम्मत रूपमा पारित भयो।

समापन समारोहको दोस्रो चरणमा अनेसास बोर्ड अफ ट्रस्टी (बीओटी) का सभापति पदम विश्वकर्माले संगठन, गतिविधि तथा संस्थागत विकास बारे पावर प्वाइन्ट प्रस्तुति गर्नुभयो। त्यसैगरी, अनेसासका निवर्तमान अध्यक्ष गोवर्द्धन पूजाले सुझाबपत्र पेस गर्नुभयो।

समापन समारोहको तेस्रो चरणमा निवर्तमान अध्यक्ष गोवर्द्धन पूजाले उत्कृष्ट च्याप्टर घोषणा गर्नुभयो। बोस्टन च्याप्टर उत्कृष्ट च्याप्टर बन्न सफल भयो भने दोस्रो र तेस्रो स्थानमा क्रमशः जापान र पोर्चुगल रहे। उत्कृष्ट च्याप्टरलाई अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले अमेरिकन $५०० डलर प्रायोजन गर्नुभएको छ। समापन समारोहका पदाधिकारीहरूले विधान संशोधन समितिमा सुमन तिम्सिना, डा. शशी थापा, र तीर्थ अर्याललाई जिम्मेवारी दिएका छन्।

समापन समारोहको चौथो चरणमा अनेसास बाल समितिका संयोजक सुरेन उप्रेतीले बाल समितिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यसैगरी, सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तले सांस्कृतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। महिला समितिको प्रतिवेदन मीरा कोइरालाले प्रस्तुत गर्नुभयो। आर्थिक पारदर्शिता बारे मित्रबन्धु पोखरेलले पावर प्वाइन्ट प्रस्तुति गर्नुभयो।

समापन समारोहको पाचौँ चरणमा चार दर्जनभन्दा बढी साहित्यकारहरूले आ-आफ्नो कविता, गजल, हाइकु, र मुक्तक वाचन गरे। उक्त कार्यक्रम सुदीपभद्र खनाल र नारायण अधिकारीले सञ्चालन गर्नुभयो। समापन समारोहमा सहभागी बेलायतबाट प्रकाशित अनलाइन पत्रिका एभरेस्ट टाइम्स युकेका सम्पादक चिम्खोले काइँला र अनेसास बेलायत च्याप्टरका अध्यक्ष राज श्रेष्ठले अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेलाई मायाको चिनो आदानप्रदान गरे।

समापन समारोहको साँझ सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो। सम्मेलनमा सहभागी साहित्यकार, विभिन्न कार्यक्षेत्रमा जिम्मेवारी बहन गरेका व्यक्ति तथा संस्था, प्रायोजकलगायत आयोजक समूहलाई अध्यक्ष सर्वज्ञ वाग्ले, बीओटीका अध्यक्ष पदम विश्वकर्मा, र निवर्तमान अध्यक्ष गोवर्द्धन पूजाले दोसल्ला, मायाको चिनो, प्रमाणपत्र र मेडलले सम्मान गर्नुभयो। कार्यक्रम वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, उपाध्यक्ष डिल्ली अम्माई, र बेल्जियम च्याप्टरका महासचिव गोपाल दाहालले सञ्चालन गर्नुभयो।

अनेसास बेल्जियम च्याप्टरका अध्यक्ष सौरभ काररञ्जितको नेतृत्वमा भोलि र पर्सि नेदरल्यान्ड्स र बेल्जियमको साहित्यिक यात्रा सुरु हुने उहाँले जानकारी दिनुभयो। कार्यक्रमको अन्त्यमा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले र बेल्जियम च्याप्टरका अध्यक्ष सौरभ काररञ्जितले छैटौँ सम्मेलन सफलतापूर्वक सम्पन्न गराइदिने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

आज अनेसास केन्द्रको विश्व साहित्यिक यात्रा गर्ने दिन हो। विश्व साहित्यिक यात्रा बेल्जियमको आनट्रपन शहरदेखि नेडरल्यान्डको आम्सटरडम शहरसम्म र आम्सटरडम शहरदेखि आनट्रपन शहरसम्म सम्पन्न भयो। बिहानै उठ्यौँ, राज कुमार दाइसँग ब्रेकफास्ट लियौँ र यात्रामा निस्कियौँ। यात्रामा निस्कने क्रममा भारतबाट आएका प्राडा. कविता लामा, प्राडा. पुष्पा शर्मा र उषा शर्मालाई भेट्यौँ। उहाँहरूसँग अनेसासले आयोजना गरेको “भारतमा नेपाली साहित्य” भन्ने विषयमाथि चर्चा-परिचर्चा गरेको कार्यक्रमको बारेमा छोटो-छोटो भिडिओ क्लिप लियौँ र सँग-सँगै विश्व साहित्यिक यात्रातिर लागेका छौँ।

विश्व साहित्यिक यात्रामा विश्वका विभिन्न मुलुकबाट छैटौं च्याप्टर सम्मेलनमा सहभागी साहित्यकारहरूको उपस्थिति रहेको छ। विश्व साहित्य भ्रमणमा निस्केका साहित्यकारहरूले साहित्यको विभिन्न विधाका रचनाहरू जस्तै: कविता, हाइकु, मुक्तक, गजल, लोक गीत तथा आधुनिक गीतहरू वाचन गर्दै नेदरल्यान्डतिर अगाडि यात्रा जारी राख्यौँ। यात्रा साहित्यिकमय तथा संगीतमय माहोल बनिरहेको छ। यात्रामा ठूला-ठूला नदीहरू, फाँटहरू र जङ्गलहरू पार गर्दै होल्यान्ड प्रवेश गरेका छौँ।

‘होल्यान्ड’ (Holland)को अर्को नाम नेदरल्यान्ड्स (Netherlands) हो। नेदरल्यान्ड्स एक युरोपेली देश हो, जसलाई प्रायः अनौपचारिक रूपमा ‘होल्यान्ड’ (Holland) भनेर चिनिन्छ। वास्तवमा ‘होल्यान्ड’ यस देशका दुई महत्त्वपूर्ण प्रान्त (नर्थ होल्यान्ड र साउथ होल्यान्ड) को नाम हो, तर यसलाई सम्पूर्ण देशको पर्यायको रूपमा प्रयोग गर्ने चलन छ।

नेदरल्यान्ड्स (होल्यान्ड) को राजधानी: एम्स्टर्डम (Amsterdam) हो। सरकारी मुख्यालय: हेग (The Hague) मा छ भने भाषा: डच (Dutch) भाषा बोलिन्छ। यो देशको एक चौथाइ भूभाग समुद्री सतहभन्दा तल रहेको छ। देशलाई पानीबाट जोगाउन र भूभागको व्यवस्थापन गर्न ‘पोल्डर’ (Polder) र ‘डाइक’ (Dike) जस्ता इन्जिनियरिङ संरचनाहरू विश्वभरि प्रख्यात छन्। नेदरल्यान्ड्स साइकलमैत्री देश को रूपमा विश्वभर चिनिन्छ। यहाँका नागरिकहरूले यातायातका लागि साइकलको व्यापक प्रयोग गर्छन्। देशमा साइकल चलाउनका लागि विशेष लेन र उत्कृष्ट पूर्वाधारको विकास गरिएको छ। नेदरल्यान्ड्समा मानिसहरूको संख्याभन्दा साइकलको संख्या धेरै रहेको अनुमान गरिन्छ।

ट्यूलिप (Tulip): नेदरल्यान्ड्सलाई ट्यूलिप फूलको देश भनेर चिनिन्छ। वसन्त ऋतुमा यहाँको ट्यूलिप फार्म र बगैँचाहरू (जस्तै: क्युकनहोफ – Keukenhof) संसारकै आकर्षक गन्तव्यमध्ये पर्छन्। पवनचक्की (Windmills): नेदरल्यान्ड्सको पहिचान पवनचक्कीहरूले पनि बनाउँछन्। यी पवनचक्कीहरू पहिले पानी पम्प गर्न, जमिन सुकाउन र अन्न पिस्न प्रयोग गरिन्थ्यो। ‘किन्डरडाइक’ (Kinderdijk) मा रहेका १९ वटा पवनचक्कीहरूको समूह युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत छ।

नेदरल्यान्ड्स युरोपको एक सम्पन्न र खुला अर्थतन्त्र भएको देश हो। कृषि (खासगरी दुग्धजन्य पदार्थ र फूल), शिपिङ, र प्रविधि यहाँका मुख्य उद्योगहरू हुन्। यहाँ युरोपका महान् चित्रकारहरू जस्तै रेम्ब्रेन्ड्ट (Rembrandt) र भ्यान गग (Van Gogh) को जन्म भएको थियो। एम्स्टर्डममा रहेको राइक्सम्यूजियम (Rijksmuseum) र भ्यान गग म्युजियम कलाप्रेमीहरूका लागि महत्त्वपूर्ण केन्द्र हुन्।

एम्स्टर्डम: यसका सुन्दर नहरहरू (Canals) र ऐतिहासिक भवनहरूका लागि प्रसिद्ध छ। हेग (The Hague): यहाँ अन्तर्राष्ट्रिय न्याय अदालत (International Court of Justice) र अन्तर्राष्ट्रिय फौजदारी अदालत (International Criminal Court) जस्ता महत्त्वपूर्ण अन्तर्राष्ट्रिय संस्थाहरू छन्।

होल्यान्ड पुगेपछि अनेसास हल्यान्डका अध्यक्ष सूर्य गिरी र उहाँकी श्रीमतीले विश्व साहित्यिक भ्रमणमा निस्केका साहित्यकारहरूलाई खाजाको व्यवस्था गर्नुभयो। खाजा लिएपछि हाम्रो साहित्यिक यात्रा शुरु हुन्छ। आज दुई देशका तीन शहरहरू जस्तै: बेल्जियमको आनट्रपन, हल्यान्डको आम्सटरडम, रोटरडम र सामुन्द्रिक डुङ्गामा साहित्य यात्रा गरियो। यस्ता खालको साहित्यिक गतिविधि पस्केको अनेसासका लागि सम्भवत यो पहिलोको अवसर हुन् सक्छ।

यस विश्व साहित्य यात्रामा अनेसासका बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्मा, निवर्तमान अध्यक्ष गोवर्द्धन पूजा, सिक्किमबाट सम्मेलनमा सहभागी प्राध्यापक डा. कबिता लामा, प्रोफेसर पुष्पा शर्मा, प्रोफेसर उषा शर्मा, वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, विभिन्न देशका च्याप्टरका अध्यक्षहरूलगायत झन्डै ५ दर्जन साहित्यकारहरूको उपस्थिति रहेको छ। यात्राभर विश्व साहित्य भ्रमणमा निस्केका साहित्यकारहरूले साहित्यको विभिन्न विधाका रचनाहरू जस्तै: कविता, हाइकु, मुक्तक, गजल, लोक गीत तथा आधुनिक गीतहरू वाचन गर्दै बेल्जियमको आनट्रपन आइपुगेका छौँ।

आज बेलायत फर्कने दिन हो। तर अनेसास बेल्जियम च्याप्टरले बेल्जियमको राजधानी ब्रसेल्स शहरमा एउटा कार्यक्रमको योजना राखेको छ। बेलायतबाट आएका साहित्यकारहरू राज श्रेष्ठ, प्रतिमा केसी, कुमार केसी, र म (चिम्खोले काइँला) ब्रसेल्सबाट युरोस्टार (Eurostar) रेल चढेर बेलायत फर्कने तयारीमा छौँ।

बिहान उठेपछि सबै सामान प्याक गरियो। राज दाइ र म बिहानको खाजा (ब्रेकफास्ट) लिएर ब्रसेल्स जानका लागि बस चढ्यौँ। बसमा होल्यान्ड यात्रामा जस्तै कविता, हाइकु, मुक्तक, गजल, लोकगीत तथा आधुनिक गीतहरू वाचन गर्दै हामी ब्रसेल्सका भौतिक संरचनाहरू, राजदरबार, र शहरको अवलोकन गर्दै युरोपियन युनियनको संसद भवन आइपुग्यौँ।

यो हाम्रो लागि अन्तिम दिन हो। यही बेला विश्व साहित्यिक यात्रामा अनेसास पोर्चुगल च्याप्टरका अध्यक्ष एनबी (अन्जान) ले युरोपियन युनियनको संसद भवन अगाडि उभिएर १२ मिलिमिटर तथा १/२ इन्चको हाइकु सङ्ग्रह पुस्तकबाट एउटा हाइकु वाचन गर्नुभयो। उहाँको यस प्रस्तुतिले उपस्थित सम्पूर्ण साहित्यकारहरूलाई चकित पारिदियो। विश्व साहित्य यात्रामा रमाउँदा रमाउँदै हाम्रो बेलायत फर्कने समय भयो।

भावुक हुँदै साहित्यिक यात्रामा सहभागी संस्थाका अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा, निवर्तमान अध्यक्ष गोवर्द्धन पूजा, प्रा.डा. कविता लामा, प्रो. पुष्पा शर्मा, प्रो. उषा शर्मा, वरिष्ठ उपाध्यक्ष लाल गोपाल सुवेदी, विभिन्न देशका च्याप्टरका अध्यक्षहरूलगायत झन्डै ३ दर्जन साहित्यकारहरूसँग बिदा लियौँ।

च्याप्टर सम्मेलनका संयोजक तथा बेल्जियम च्याप्टरका अध्यक्ष सौरभ काररञ्जितलाई हार्दिक धन्यवाद दिँदै राज दाइ, प्रतिमा जी, कुमार जी, र म ब्रसेल्स युरोस्टार स्टेशनतिर लाग्यौँ। हामीसँगै अध्यक्ष सर्वज्ञ वाग्ले र साहित्यकार ब्रम्हदत्त वाग्ले पनि हुनुहुन्छ। केही क्षणपछि उहाँहरू ब्रम्हदत्त वाग्लेको घरतिर लाग्नुभयो भने, हाम्रो बेलायततिरको यात्रा सुरु हुन्छ।

अन्त्यमा बेल्जियममा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन एक संस्थागत उपलब्धि मात्र नभई विश्वभरका नेपाली साहित्यकारहरूका लागि भावनात्मक र रचनात्मक मिलनको बिन्दु बन्यो। बेलायतबाट यूरोस्टार हुँदै बेल्जियमको ऐतिहासिक सहर एन्टवर्पसम्मको यात्रा, विश्वभरबाट आएका साहित्यकारहरूसँगको जमघट र अनेसासको सांगठनिक गतिविधिहरूले नियात्राकारलाई नेपालबाहिर नेपाली साहित्यको बलियो उपस्थितिको अनुभूति दिलायो। विशेषगरी, सम्मेलनको औपचारिक सत्र, विभिन्न विधामा भएका साहित्यिक प्रस्तुतिहरू, र ‘एनआरएनए’का प्रतिनिधिहरूलाई दिइएको जस्तो स्पष्ट सन्देशले संस्थाको साहित्यिक प्रतिबद्धतालाई उजागर गर्‍यो। किन्डरडाइकको पवनचक्की र नहरहरू हेर्दै गरिएको नेदरल्यान्ड्सको विश्व साहित्यिक यात्राले यस सम्मेलनलाई अविस्मरणीय बनायो, जहाँ साहित्यकारहरूले कविता, गजल र गीतहरू वाचन गर्दै बेल्जियम र नेदरल्यान्ड्सको सांस्कृतिक र भौगोलिक सुन्दरतालाई आत्मसात गरे। अन्तिम दिन ब्रसेल्सबाट बेलायत फर्कने क्रममा साथीहरू र अनेसासका केन्द्रीय पदाधिकारीहरूसँगको विदाईले साहित्यिक यात्राको महत्त्व र साहित्यिक बन्धुत्वको भावनालाई थप गहिरो बनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!