स्रष्टाद्वय किराती र चौधरी नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट पुरस्कृत

SHARE:

काठमाडौँ ९ डिसेम्बर २०२५ । नेपाली भाषा, साहित्य र सिर्जनशीलतालाई प्रवासबाटै समृद्ध बनाउन सक्रिय नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह–२०२५’ सोमबार काठमाडौँको बागबजारमा सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला रहेका थिए भने समारोहको अध्यक्षता प्रतिष्ठानका उपाध्यक्ष मिजास तेम्बेले गरे । यस वर्षको ‘प्रतिभा विशिष्ट सम्मान–२०२५’ वरिष्ठ कवि जसराज किरातीलाई प्रदान गरिएको थियो । त्यस्तै, ‘प्रतिभा पुरस्कार–२०२५’ युवा कवि तथा आख्यानकार विजेता चौधरीलाई अर्पण गरिएको छ। प्रमुख अतिथि काइँलाले दुबै प्रतिभालाई नगद एक लाख रुपैयाँ, सम्मानपत्र, दोसल्ला र मालासहितको समर्पण थैली बिशेष समारोहबीच प्रदान गरिएको थियो ।

सम्मान ग्रहणपछि प्रमुख अतिथि काइँलाले संस्थाको भूमिका उच्च रूपमा प्रशंसा गर्दै भने, “प्रवासबाट पनि सिर्जनालाई सम्बल दिँदै र प्रतिभालाई अन्तर्राष्ट्रिय पहिचान दिलाउँदै नेपाली साहित्यको समृद्धिमा प्रतिष्ठानले विशिष्ट योगदान दिएको छ।” उनले किरातीलाई भुइँमानिसको पीडा र मुन्दुमीय चेतना साहित्यमा उभ्याउने विशिष्ट हस्ती र चौधरीलाई मधेसी समाजको जीवन–संवेदना तथा भविष्यको आकांक्षालाई बोकेकी उदीयमान प्रतिभाका रूपमा मूल्यांकन गरे ।

सम्मानित वरिष्ठ कवि जसराज किराती सम्मान ग्रहण गर्ने क्रममा भावुक हुँदै बोले, “यो सम्मान पाउँदा बढो हर्ष लागेको छ। अझै बाँचु र केही योगदान दिन पाऊँ भन्ने लागिरहेको छ।”

पुरस्कृत युवा स्रष्टा विजेता चौधरीले भनिन्, “कल्पनै नगरेको पुरस्कार पाउँदा अत्यन्त खुसी लागेको छ। यसले मातृभाषा र मधेशलाई सम्मानित गरेको महसुस भएको छ।”

कार्यक्रममा कवि श्रवण मुकारुङले चयन प्रक्रिया पारदर्शी र लोकतान्त्रिक रहेको उल्लेख गर्दै भने, “धेरैजसो ठूला पुरस्कारहरूमा विवाद देखिन्छ, तर प्रतिभा प्रतिष्ठानको प्रक्रिया निष्पक्ष र अनुकरणीय देखियो।”

समारोहमा पूर्व अध्यक्ष गणेश राईले स्वागत मन्तव्य राखेका थिए । दुवै प्रतिभाको विस्तृत परिचय डा. तुलसी गौतमले प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शशी लुमुम्बूले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!