
बुटवल ३१ डिसेम्बर २०२५ । वातारणविद् तथा साहित्यकार विजय हितानसँग पर्या साहित्यका विषयमा सोमबार बुटवलमा संवाद कार्यक्रम गरिएको छ ।
पाठक मञ्च बुटवलको आयोजनामा साहित्यकार हितानसँग पर्या साहित्यसँग जोडिएर वातावरण संरक्षणका विषयमा छलफल गरिएको हो । विज्ञानमा स्नातकोत्तर गरेका हितान हाल इङ्ग्ल्यान्डको वातावरणीय संस्थानमा कार्यरत छन् । वातावरणविज्ञका रूपमा परिचित हितानले पर्या-साहित्य सिर्जनामा विशेष चिनारी बनाएका छन् ।
रूपन्देहीमा जन्मिएर दुई दशकभन्दा लामो समयदेखि पर्या-साहित्यमार्फत पर्यावरण संरक्षणका निम्ति विश्वव्यापी रूपमा निरन्तर लागिरहेका हितानको ‘मलाई आर्यघाटमा लगेर नजलाउनु’ पर्यावरणीय कविता संग्रहमाथि संवादमा छलफल गरिएको छ ।
छलफलमा वातावरणविद् तथा साहित्यकार हितानले वातावरण संरक्षण आफ्नो मुख्य सरोकार रहने भन्दै पर्या साहित्यका माध्यमबाट मानिसहरूलाई जोड्ने प्रयत्न गरेको बताए । उनले आफू बुटवलमा जन्मे हुर्केकाले यहाँको तिनाउ नदी अनि यहिको वातावरण संरक्षणमा सबैको हातेमालो जरूरी रहेको बताए ।
लेखक हितानको कवितासंग्रहमाथि अध्येता कृष्ण पाण्डेले समीक्षा गर्दै “मलाई आर्यघाटमा नजलाउनु” कविता नै पर्या साहित्यको नमुना रहेको बताए । उनले कविता मार्फत लेखकले वातावरण संरक्षणमा पाठकलाई डोर्याएको बताए ।
पाठक मञ्चका माधव गौतमको सहजीकरणमा भएको छलफलमा लेखक दलबहादुर गुरूङ, राजेन्द्र आचार्य, डा. मनोज ढुङ्गाना, रामचन्द्र श्रेष्ठ, शंकर भण्डारी, माधव कुमार पौडेल, गोविन्द बेल्बासे, पत्रकार कृष्ण मल्ल, दीपक विश्वकर्मा, विनोद परियार, अर्जुन ज्ञवाली, प्रेम परियार, कृष्ण गाउलेलगायतले पर्या साहित्य र वातावरण संरक्षणका बारेमा विभिन्न जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए ।
छलफलमा समाजसेवी होमबहादुर गलामी, पाठक मञ्चका सरितम श्रीस, पत्रकार कपिल ज्ञवाली, सीपी खनाल, शारदा खनाललगायतको उपस्थिति रहेको थियो । कार्क्रममा गंगा पोखरेल र दुर्गा थापाले कविता वाचन गरेका थिए ।
बेलायतमै रहेका हितानले जन्मघर बुटवलमा रहँदा विभिन्न कार्यक्रममार्फत वातावरण संरक्षणका बारेमा विषयहरू उठान गरेका छन् । लेखक हितान इको राइटिङका एक अथक योद्धा हुन् । उनका कविता, कथा, निबन्ध, सिद्धान्त र उपन्यासका एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।







