पोखरा । पोखराको सहारा क्लबद्वारा सञ्चालित सहारा एकेडेमीको सहयोगार्थ यस वर्ष खेलिएको देउसी भैलो कार्यक्रमबाट ५ लाखभन्दा बढी संकलन भएको छ ।
“संस्कृतिको जर्गेना गरौं, सहारा एकेडेमीलाई सहयोग गरौं” भन्ने मुल नाराका साथ पोखरा क्षेत्रमा ५ दिनसम्म खेलिएको देउसी भैलो कार्यक्रमबाट ५ लाख १० हजार ७ सय ३ रुपैयाँ रकम संकलन भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । क्लबका शुभेच्छुकहरुको घरघरमा खेलिएको देउसी भैलो कार्यक्रमबाट संकलित सो रकम विपन्नवर्गका अनाथ र असहाय बालकहरुको भरणपोषमा खर्चिने भएको अध्यक्ष थापाले बताए ।
क्लबको स्थापनादेखि हरेक वर्ष तिहारमा देउसी भैलो कार्यक्रम गर्दै आएको छ । सहारा एकेडेमी सञ्चालनको मूल आयश्रोत आहा रारा गोल्डकप हो भने दोस्रो दिगो आयस्रोतको रुपमा देउसी भैलो नै रहेको हो । क्लबको हरेक गतिविधिमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्नेप्रति अध्यक्ष थापाले धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।
क्लबका सदस्य कलाकार, एकेडेमीका बालकसहित क्लबका पदाधिकारीहरु कार्यक्रममा सहभागी भएको कार्यक्रम संयोजक वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ (सुरज)ले बताए । नेपाली कला संस्कृतिक झल्कने तथा नेपाली मौलिकतासम्बन्धी देउसी भैलो कार्यक्रममार्फत कलाकारहरुले गीत तथा नृत्य प्रदर्शन गरेको सांस्कृतिक संयोजक बिनु रानामगरले बताइन् ।
क्लबद्वारा निर्मित सुविधा सम्पन्न आवासगृह सहारा एकेडेमी दोबिल्ला पोखरा १७ मा हाल १६ जिल्लाका २८ जना बालकहरु रहेका छन् ।