हार्दिक श्रद्धाञ्जली तथा संक्षिप्त जीवनी: लेफ्टिनेन्ट कर्नेल लालबहादुर गर्बुजा पुन मगर OBE, MC (Ex 1/2 GR)

SHARE:

ब्रिगेड अफ गोर्खाजका एक देदीप्यमान ताराको अस्त

प्रस्तुति: चिम्खोले काईला

ब्रिटिस गोर्खा सैन्य इतिहासमा अतुलनीय कीर्तिमान कायम गर्नुभएका रिटायर्ड लेफ्टिनेन्ट कर्नेल लालबहादुर गर्बुजा पुन मगर OBE, MC को ९ जनवरी २०२६, शुक्रबारका दिन काठमाडौँस्थित ह्याम्स अस्पतालमा स्वर्गारोहण भएको छ। उहाँ ब्रिगेड अफ गोर्खाजको इतिहासमा रोयल मिलिटरी एकेडेमी (RMA) स्यान्डहर्स्ट बाट कमिसन प्राप्त गर्ने पहिलो अधिकारी र लेफ्टिनेन्ट कर्नेल दर्जामा पुग्ने प्रथम गोर्खा हुनुहुन्थ्यो।

जन्म तथा बाल्यकाल
कर्नेल पुनको जन्म सन् १९३७ मा म्याग्दी जिल्ला (धौलागिरी अञ्चल), अन्नपूर्ण गाउँपालिका वडा नं. ८, नागीमा भएको थियो। उहाँका पिता गोर्खा मेजर (मानार्थ क्याप्टेन) टिकाजित गर्बुजा पुन मगर MBE, OBI, IDSM र माता भाइमती पुन मगर हुनुहुन्थ्यो। पिताको सैनिक सेवाका कारण उहाँको बाल्यकाल भारतका विभिन्न सैन्य छावनीहरूमा बितेको थियो।

शिक्षा र दीक्षा
उहाँले भारतको देहरादुनस्थित प्रतिष्ठित सेन्ट जोसेफ स्कुलबाट शिक्षा हासिल गर्नुभएको थियो। सैन्य परिवेश र उत्कृष्ट शिक्षाले उहाँलाई एक कुशल रणनीतिकारका रूपमा तयार पारेको थियो।

सैन्य सेवा र ऐतिहासिक उपलब्धिहरू
कमिसन र सुरुवाती सेवा: डिसेम्बर १९५९ मा ‘सेकेन्ड गोर्खा राइफल्स’ (2nd Goorkhas) बाट कमिसन प्राप्त गरी उहाँ मलेसियास्थित पहिलो बटालियनमा आबद्ध हुनुभयो।

ADC र मिलिटरी क्रस (MC): सन् १९६३ देखि १९६५ सम्म उहाँले बोर्नियोमा मेजर जनरल सर वाल्टर वाकरको एडीसी (ADC) को रूपमा कार्य गर्नुभयो। मार्च १९६५ मा ‘डी कम्पनी’ को कमान्ड सम्हाल्ने क्रममा इन्डोनेसियाली क्याम्पमा प्रदर्शन गरेको अदम्य साहस र सफल आक्रमणका लागि उहाँलाई प्रतिष्ठित ‘मिलिटरी क्रस’ (MC) पदकद्वारा विभूषित गरियो।

ऐतिहासिक पहिलो: सन् १९६९ मा स्यान्डहर्स्टमा ‘स्टाफ कलेज’ अध्ययनका लागि छनोट हुने उहाँ पहिलो गोर्खा बन्नुभयो। सन् १९७१ देखि १९७३ सम्म हङकङस्थित मुख्यालयमा ‘जनरल स्टाफ अफिसर ग्रेड २’ (GSO2) को महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुभयो।

कमान्ड र नेतृत्व: सन् १९७४ मा ब्रुनाई फर्केर उहाँले ‘ए कम्पनी’ को नेतृत्व गर्नुभयो र महारानीको जन्मोत्सवमा ‘गार्ड अफ अनर’ को कमान्ड गर्नुभयो।

लेफ्टिनेन्ट कर्नेल र OBE सम्मान
२० अप्रिल १९७९ मा उहाँ लेफ्टिनेन्ट कर्नेल पदमा पदोन्नति हुनुभयो। ‘रेगुलर आर्मी कमिसन’ मार्फत यो उच्च ओहोदा पाउने उहाँ इतिहासकै पहिलो गोर्खा हुनुहुन्छ। हङकङस्थित ‘ब्रिगेड अफ गोर्खाज’ को तालिम डिपोको कमान्डरको रूपमा उहाँले पुर्‍याउनुभएको विशिष्ट सेवाको कदरस्वरूप सन् १९८१ मा महारानी एलिजावेथ द्वितीयाले उहाँलाई OBE (Officer of the Order of the British Empire) बाट सम्मानित गर्नुभयो।

अवकाश र उत्तरार्ध
सन् १९८८ मा बेलायती सेनाबाट अवकाश पाएपछि उहाँले ब्रुनाईका सुल्तानको ‘गोर्खा रिजर्भ युनिट’ मा डिपुटी कमान्डरको रूपमा सेवा गर्नुभयो। सन् २००० मा पूर्ण अवकाश लिएपछि उहाँ काठमाडौँस्थित आफ्नै निवासमा सेवा–निवृत्त जीवन बिताइरहनुभएको थियो।

व्यक्तिगत जीवन
स्वर्गीय पुनकी धर्मपत्नी खनिसरा पुन मगर र दुई छोराहरू हुनुहुन्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!