
२०७५ साललाई हामीले भव्यताका साथमा स्वागत गरिसकेका छौं । २०७४ लाई बिदाइ गर्दै नयाँ सालका रुपमा २०७५ लाई स्वागत गरेका छौं । यो हाम्रो नियमित परम्परा हो । प्रक्रिया हो । सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन वैशाख १ गते अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । यो दिनलाई नयाँ वर्षको सुरुवातका रुपमा लिने गरिन्छ र सोही अनुसार नै नयाँ वर्ष धुमधामका साथ मनाउने चलन छ ।
नयाँ वर्ष मनाउँदा हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् । यस अवसरमा देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।
मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा वि.सं चलेको इतिकारहरुको भनाइ छ । नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यहारमा इस्वी संवत चलेको छ । भारतबाट सुरुभएको यो सम्बत भारतमा नै मनाउन छाडेको छ । तर हामी भने यो सम्बतलाई नै आधिकारिक सम्बत मनाउँदै आएका छौं ।
नेपालमा विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको हो । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ । विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेका थिए । विक्रम संवत्लाई पहिले ‘कृत’, ‘मालव’, ‘मालव गर’ आदि नामले पनि चिनिन्थ्यो । कतिपयले भने शास्त्रीय संवत भएको बताउने गरेका छन् । “सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं भएको दावी पनि छ । विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको विश्वास पनि छ । राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन् ।
यो विक्रम संवत नेपाली मौलिक सम्वत भने होइन । यो सम्बतलाई नै अंगिकार गर्दै आएका छौं । नेपालीहरुले नेपाली मौलिक संवतलाई नै मानेर जानुपर्ने तर्क पनि एकातिर छँदैछ । कतिपयले नेपाल सम्बतलाई त कतिपयले किरात सम्वतलाई आधिकारिक नेपाली सम्बत मानेर अघि बढ्नुपर्ने तर्क आएको छ । तर त्यसलाई मान्न कोही तयार छैनन् । नेपाली सम्बतप्रतिभन्दा पनि अहिले पछिल्लो समयमा आएर इस्बीसम्बतलाई बढी महत्व दिनेहरु पनि उत्तिकै छ ।
नयाँ वर्षले क्यालेण्डर मात्र फेर्ने काम नहोस, देशले शान्ति खोजेको छ । विकास चाहेको छ । सबैको प्रगति चाहेको छ । यसतर्फ सबैको उन्नति होस् । सबैलाई शुभकामना ।






