अनेसास बेलायत च्याप्टरको स्रष्टा स्मृति दिवस कार्यक्रम सम्पन्न

SHARE:

  • राज श्रेष्ठ

लन्डन १८ जनवरी २०२६ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) यूके च्याप्टरले अनेसासको ३५औँ स्थापना दिवस, स्रष्टा स्मृति दिवस तथा नयाँ वर्ष विशेष समारोह शनिबार, १७ जनवरीका दिन भव्य रूपमा सम्पन्न गरेको छ।

विगत १३ वर्षदेखि निरन्तर रूपमा नेपाली साहित्य आकाशका महान् स्रष्टाहरूको योगदानको स्मरण गर्दै अनेसास यूकेले स्रष्टा स्मृति दिवस मनाउँदै आएको छ। सोही परम्परालाई निरन्तरता दिँदै अक्टोबरदेखि फेब्रुअरी महिनासम्म जन्मिएका नेपाली साहित्य तथा संगीतका मूर्धन्य स्रष्टाहरूको प्रतिनिधित्व गर्दै कविशिरोमणि लेखनाथ पौड्याल, मास्टर मित्रसेन थापा, नाट्यसम्राट बालकृष्ण सम, स्वरसम्राट नारायण गोपाल, संगीतकार तथा गायक गोपाल योन्जन, संगीतकार अम्बर गुरुङ तथा साहित्यकार/चित्रकार लैनसिंह बाङ्देलप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
अनेसास यूके च्याप्टरका अध्यक्ष राज श्रेष्ठको अध्यक्षतामा तथा रेभेन्सवर्न युनिभर्सिटीका एसोसिएट प्रोफेसर डा. हरिश ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम अनेसास यूकेका सल्लाहकार सुमल कुमार गुरुङको सौजन्यमा बेलायतको केन्टस्थित नर्थफोल्क प्लेस, वेलिंगमा उहाँकै निवासमा सम्पन्न भएको हो।

अनेसास तथा बेलायतभित्र क्रियाशील विभिन्न संघ–संस्थामा आबद्ध दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको उद्घाटन राष्ट्रिय गान तथा सभाध्यक्ष र प्रमुख अतिथिद्वारा पानसमा बत्ती बालेर गरिएको थियो। त्यसपछि अनेसास यूकेका सल्लाहकारद्वय डा. रूपक श्रेष्ठ र सुमल कुमार गुरुङलगायत सहभागी सबैले महान् विभूतिहरूको तस्बिरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

संस्थाकी उपाध्यक्ष माया गुरुङको स्वागत मन्तव्यपछि डा. रूपक श्रेष्ठले महान् स्रष्टाहरूको नेपाली साहित्यमा रहेको योगदानबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा गायक दीपक थापाले नारायण गोपाल, अम्बर गुरुङ, गोपाल योन्जन तथा भूपी शेरचनद्वारा सिर्जित गीतहरू प्रस्तुत गर्दै स्रष्टाहरूप्रति सम्मान व्यक्त गरे ।

त्यसैगरी डा. हरिश ज्ञवाली, सुमल कुमार गुरुङ, माया गुरुङ, विजिता गौतम, हिमाल गुरुङ, विजय गुरुङ, नृत्यकार सुष्मा ढुङ्गाना, प्रतिमा केसी, कुमार केसी, सारा गुरुङ, जित बुढाथोकी, राधा सापकोटा, महासचिव मञ्जु भण्डारी, विशन सिंह थापा, आनन्द धरेल तथा अहिल्या सुवालले आ–आफ्ना साहित्यिक रचना वाचन गर्दै कार्यक्रमलाई साहित्यमय बनाएका थिए।

संयोगवश सोही दिन अनेसास यूकेका सल्लाहकार सुमल कुमार गुरुङको जन्मदिनसमेत परेको अवसरमा पुष्पगुच्छा र खादा अर्पण गर्दै सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना सहित जन्मदिन मनाइएको थियो।
दुई सत्रमा सम्पन्न कार्यक्रमको पहिलो सत्र महासचिव मञ्जु भण्डारी खरेल र दोस्रो सत्र मिडिया व्यवस्थापक कुमार केसीले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम संयोजन उपाध्यक्ष माया गुरुङले गरेकी थिइन् ।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष राज श्रेष्ठले समापन मन्तव्य दिँदै कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तित्वहरूप्रति आभार व्यक्त गर्नुका साथै अनेसास यूकेको आगामी कार्यक्रमहरूमा समेत निरन्तर साथ र सहयोगको अपेक्षा व्यक्त गरे।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!