नेपाल मुक्तक प्रतिष्ठान यूकेका संस्थापक डा.रूपक श्रेष्ठ पुरस्कृत

SHARE:

लन्डन ३ फेब्रुअरी २०२६ । नेपाल मुक्तक प्रतिष्ठान यूकेका संस्थापक तथा अनेसास यूकेको वरिष्ठ सल्लाहकार डा.रूपक श्रेष्ठ पुरस्कृत भएका छन् ।

नेपाल मुक्तक प्रतिष्ठान केन्द्रद्वारा प्रदान गरिने ‘कृष्ण–रत्न–चेतन पुरस्कार’ डा. श्रेष्ठ पुरस्कृत भएका हुन् । यसैगरी ‘भीमदर्शन मुक्तक पुरस्कार’बाट साहित्यकार उषा शेरचन सम्मानित भएकी छन् ।

वरिष्ठ मुक्तककार शेरचनलाई ५१ हजार राशिसहित ‘भीमदर्शन मुक्तक पुरस्कार’ र मुक्तककार डा.श्रेष्ठ (बेलायत)लाई ३१ हजार राशिसहित ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ अर्पिएको छ ।

नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौं वार्षिकोत्सव मुक्तक दिवस मनाउँदै स्रष्टाहरुलाई पुरस्कार दिएको हो ।

२०२२ माघ ६ गते जन्मिएका डा. रूपक श्रेष्ठका ‘पोख्तक’, ‘चौशूल’ र पोख्तकको अङग्रेजी अनुवाद मुक्तक कृति लगायत विभिन्न विधाका आधा दर्जन कृति प्रकाशित छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली मुक्तकको विकास र विस्तारका निम्ति महत्त्वपूर्ण योगदान गर्दै आएका छन्।

विसं २०१२ भदौ ६ गते जन्मिएकी उषा शेरचनका ‘अक्षरहरूका शिविरबाट’ र ‘त्रासदीका हिमनदी’ मुक्तकसङ्ग्रह लगायत विभिन्न विधाका एक दर्जन कृति प्रकाशित छन्। शेरचन २०३५ सालमा पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा नेपालमै पहिलो पटक सशुल्क सम्पन्न ‘टिकटमा मुक्तक’ कार्यक्रमकी प्रणेता तथा अत्यन्त सक्रिय आयोजकमध्ये एक हुन् ।

दुवै स्रष्टाले मुक्तकको उन्नयनमा गरेको योगदानका आधारमा पुरस्कार अर्पिने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा आयोजित कार्यक्रममा दुवै पुरस्कार कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र अध्यक्ष कोनेले अर्पिएका हुन् ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठानले प्रकाशित गरेको प्राडा लक्ष्मणप्रसाद गौतमको ‘नेपाली मुक्तकको रचनाविधान’, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले प्रकाशन गरेको ‘ईलिंग’ स्मारिका र डा. रूपक श्रेष्ठका ‘चौशुल’ र ‘पोख्तक’ (अंग्रेजी संस्करण) को लोकार्पण गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुक्तक विधालाई समाजको संवेदनशील र अति सूक्ष्म साहित्यिक अभिव्यक्तिको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै ‘मुक्तक समाजलाई थोरै शब्दमा धेरै कुरा भन्न सक्ने शक्तिशाली विधा भएकाे र आजको तीव्र गतिको समाजमा मुक्तकले विचार, पीडा, आशा र दर्शन सटिक रूपमा व्यक्त गर्ने बताए ।

यसैगरी अध्यक्ष रामकाजी कोनेले मुक्तक दिवसको विशेष शुभकामना व्यक्त गर्दै मुक्तक विधाको सौन्दर्य र गहिराइ सरल रुपमा व्याख्या गर्दै “थोरैमा धेरै र बिन्दुमा सिन्धु अटाउने साहित्यिक विधा नै मुक्तक भएकाे र यसले सीमित शब्दभित्र असीमित भाव अटाउने बताए।

सम्मानित डा. श्रेष्ठले मुक्तकलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा वर्णन गर्दै मुक्तक लेखन शब्दको खेल मात्र होइन, चेतनाको अनुशासन हो। यसले लेखकलाई जिम्मेवार र पाठकलाई संवेदनशील बनाउने बताए ।

नेपाल मुक्तक प्रतिष्ठान विस. २०७० मा स्थापना भएको र तेह्रौं वार्षिकोत्सवको अवसरमा मुक्तक दिवस नेपाल पर्यटन बोर्डमा मनाइएको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!