लन्डन १ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् हङकङले वातावरणीय चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित विश्वव्यापी ईको कविता प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ ।
कुल १ लाख पुरस्कार राशिसहितको प्रतियोगितामा आयोजना गर्न लागिएको एनआरएनए हङकङले जानकारी दिएको छ । प्रतियोगिताको प्रचार–प्रसार तथा निर्णायक मण्डल गठनका लागि पर्यावरणीय अभियानमा सक्रिय नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष तथा विश्व नेपाली साहित्य महासंघका उपाध्यक्ष विजय हितानलाई विश्व संयोजकको जिम्मेवारी दिइएको छ।
पर्या साहित्यकार हितानकै सल्लाहबमोजिम प्रतियोगितामा रचना पठाउने मिति र उत्कृष्ट कविताहरुको घोषणा मिति संशोधन गरिएको महासचिव भविन लिम्बुले जानकारी दिएका छन् । रचना २८ मार्च २०२६ भित्र सम्बन्धित सम्पर्क माध्यममा पठाउन सकिने जनाइएको छ । तोकिएको समयावधिपछि प्राप्त रचनाहरू प्रतियोगितामा समावेश गरिने छैनन्।
प्रतियोगितामा सामेल हुने स्रष्टाहरुलाई विभिन्न मापदण्ड तोकिएको छ । जसअन्तर्गत कविता मौलिक र अनिवार्य रूपमा नेपाली भाषामा लेखिएको पर्या/इको कविता हुनुपर्ने, अधिकतम शब्द सीमा ३५० शब्दसम्म हुनुपर्ने छ।
कविता स्पष्ट रूपमा नेपाली युनिकोड वा प्रिती फन्टमा टाइप गरिएको हुनुपर्नेछ, एमएस वर्ड वा पीडीएफ दुवै फाईलमा पठाउन सकिने छ तर फोटो खिचेर वा अन्य कुनै फन्टमा गरिएकालाई प्रतियोगितामा सहभागी नगराइने आयोजकले प्रस्ट पारेको छ ।
रचनासँग रचनाकारको पूरा नाम, सम्पर्क नम्बर (ह्वाट्सअप भएको), ईमेल ठेगाना, स्थायी ठेगाना, हालसालै खिचिएको स्पष्ट फोटो, प्रेषित रचना एनआरएएन हङकङ लिमिटेडले संस्थाको कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न सकिने सहमति जनाउनुपर्ने पनि सर्त तोकिएको छ ।
रचना प्रतियोगिताको पोस्टरमा उल्लेख गरिएका आधिकारिक ईमेल ठेगाना ecopoemhk@gmail.com वा WhatsAppनम्बरहरू +852 97981272| +852 61122105 मा मात्र पठाउन सकिनेछ । अन्य माध्यमबाट प्राप्त रचनाहरू अमान्य ठहरिनेछन् ।
कुनै पनि व्यक्ति, संस्था वा पक्षको मानहानी गर्ने, अपमानजनक वा नोक्सान पुर्याउने खालका रचनाहरू प्रतियोगिताका लागि अयोग्य ठहरिनेछन् । कविताको विषयवस्तु नितान्त पर्यावरण/वातावरण केन्द्रित हुनपर्ने छ ।
प्राप्त रचनाहरूबाट उत्कृष्ट २३ कविताहरूको ई-पुस्तिका प्रकाशित गरिनेछ। प्रथम पुरस्कार स्वरूप १ जनालाई ३०,००० र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो पुरस्कार स्वरुप १ जनालाई २०,००० र प्रमाणपत्र प्रदान गरिनेछ। तेस्रो पुरस्कार स्वरुप १ जनालाई नेरू १०,००० र प्रमाणपत्र प्रदान गरिनेछ । सान्त्वना पुरस्कार स्वरुप १० जनालाई २,००० र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगितासम्बन्धी सबै निर्णयहरूमा एनआरएनए हङकङको निर्णय अन्तिम र बाध्यकारी हुनेछ । प्रतियोगिता विजेताको घोषणा विश्व पृथ्वी दिवसका दिन बुधबार, २२ अप्रिल २०२६ को साँझ ६ बजे संघको आधिकारिक फेसबुक NRNA Hong Kong Ltd बाट लाईभमार्फत गरिने छ । साथै यस सम्बन्धी समाचार संस्थाको आधिकारिक वेव पेज www.nrnahk.org लगायत विश्वका अन्य समाचार पोर्टलबाट जानकारी दिइने विश्व संयोजक विजय हितानले जानकारी दिएका छन् ।
संस्थाले रचनाहरू संकलन सुरु भइसकेको जनाउँदै साहित्यप्रेमीहरूलाई समयमै आफ्नो सिर्जना पठाउन आह्वान गरेको छ।


