काठमाडौं । वि.सं २०३५ सालदेखि अनवरत रुपमा साहित्य, कला र सङ्गीतकार्यमा क्रियाशील व्यक्तित्व, कवि, नाटककार, चित्रकार, मूर्तिकार, गायक, सङ्गीतकार, अभिनेता र लोकसंस्कृतिका अनुसन्धाता नारद हार्तम्छाली ‘कलाङ’ भोजपुर प्रतिभा पुरस्कार-२०८२ प्रदान गरिने भएको छ ।
त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरद्वारा स्थापित भोजपुर प्रतिभा पुरस्कार २०८२ षडानन्द नगरपालिका वडा नं ११ झ्याउँपोखरी, (भोजपुर)का कलाङलाई प्रदान गर्ने निर्णय भएको विज्ञप्तिमार्फत जानकारी दिइएको हो । यस पुरस्कारको राशि २२ हजार २२२ रुपैयाँ रहेको छ ।
उहाँको कविता र गीतिसङ्ग्रह ‘वैशाखे चिउला’ (२०५३), ‘कलाङ’ (२०५८) र ‘साम्बुङ’ | (२०७३) शीर्षकमा प्रकाशित छन् भने नाट्यकृति ‘ज्याला’ (सहलेखन, २०४३ तिर मञ्चित) र ‘सिर्जनाको सानो संसार- यो नाटक होइन’ (२०५७) शीर्षकमा रहेका छन् ।
उहाँको सम्पादनमा ‘भोजपुरे कोथाहरू’ (२०५८), पाइला’ (२०५८) र ‘सङ्गम’ (२०६९) पत्रिका प्रकाशित छन् र नाटकका साथै नेपाली चलचित्र ‘बलिदान’ मा चरित्र अभिनय समेत गरेका छन् ।
वि सं २०५१ सालमा स्थापित त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुर, भोजपुर जिल्लाकै अग्रणी साहित्यिक संस्थाको रूपमा क्रियाशील रहिआएको छ । यस प्रतिष्ठानले हरेक बर्ष साहित्य, कला, सङ्गीत अन्तर्गतका विधाहरुमा बिशेषतः भोजपुरमै रहेर क्रियाशील सर्जकहरुको योगदानलाई कदर गर्दै भोजपुर प्रतिभा पुरस्कार समर्पण गर्दै आएको छ ।







