लाइभ कन्सर्टमा तीन घण्टा गुन्जिए रविन श्रेष्ठ

SHARE:

सुधा गुरुङ
अल्डरसट । ‘आँगनैभरी…’, ‘छेक्यो छेक्यो देउराली डाँडा…’, ‘आँखैमा झलझली’जस्ता सदावहार गीतका गायक रविन श्रेष्ठकोे लाइभ कन्सर्ट सम्पन्न भएको छ ।

गत १७ नोभेम्बरमा दी लाउन्ज रेस्टुरेन्ट एन्ड बार, अल्डरसटमा रविन श्रेष्ठ लाइभ कन्सर्ट सफल आयोजना गरिएको हो । सवा आठ बजेतिर आयोजक मधु गुरुङको स्वागत उद्घोषणसँगै शुभारम्भ भएको सांगीतिक कार्यक्रमको पहिलो सौगातस्वरुप रविनले भक्तराज आचार्यको कालजयी गीत, ‘जहाँ छन् बुद्धका आँखा’ प्रस्तुत गरेका थिए । तीन घण्टा लामो कार्यक्रममा उनले करिब १५ वटा गीत गाएर दर्शकलाई मनोरन्जन दिलाउन सफल भए । दर्शक करिब २०० जति उपस्थित थिए ।

सांगीतिक कार्यक्रमको मध्यान्तरपश्चात् रविनले आफ्नो ओरिजिनल गीत छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले…गाउनासाथ दर्शकदीर्घ रोमान्चित भए । साथै वोन्स मोर भनेर दर्शकदीर्घबाट अत्यधिक फर्माइस आएपछि उनले पुन: गाए । त्यस्तै उनको अर्को सुपरहिट गीत सुक गुरुङको रचना ‘आँखैमा झलझली हितैको दौँतरी’ गाउँदा उनलाई शीतल पुनले साथ दिएकी थिइन् । शीतलले रविनलाई अन्य युगल गीतहरुमा पनि साथ दिनुका साथै हिन्दी र नेपाली गीतहरुसमेत गाएर दर्शक नचाउन सफल भइन् । संगीतमा रिसाल ब्रदर्स लाईभ ब्यान्डले साथ दिएको थियो भने मादलमा पहलमान गुरुङ, बाँसुरीमा याम गुरुङ र साउन्ड सिस्टममा विश्व शाही थिए ।

बेलायत आएको लामो वर्षपछि पहिलो लाईभ कन्सर्ट गरेका रविनको कार्यक्रम एकदमै सफल भएको दर्शकहरु बताउँछन् । बाध्यतावस विदेशीएर केही वर्ष गीत, संगीतबाट ओझेल भए पनि उनको सांगीतिक फाँटमा पुन: आगमन हुनु पक्कै पनि फ्यानहरुका लागि खुसीको कुरो हो । गायक रविनले पनि अब गीत, संगीतमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनले कन्सर्टमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथ दिने सबैप्रति आभार गरे ।

उनको सांगीतिक यात्रालाई निरन्तरता दिन प्रमुख भूमिका आयोजक संगीतप्रेमी दम्पतीद्वय राजु (भोजेन्द्र) गुरुङ र मधु गुरुङले खेलेका थिए । भविष्यमा पनि रविनलाई साथ दिने मनसाय रहेको उनीहरुले बताएका छन् । आयोजक दम्पतीले पनि कार्यक्रममा उपस्थित भई शोभा बढाइदिने सम्पूर्ण दर्शकलगायत कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने सबै हितैषीहरुप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

रविन श्रेष्ठको सांगीतिक यात्रा :
सन् १९९१ ताका संगीतप्रेमी ६ जना युवाहरु अमृत गुरुङ, रविन श्रेष्ठ, दिपकजंग राणा, सुरेश पुन, भिम पुन र बुद्धि गुरुङ मिलेर नेपथ्य सांगीतिक दलको स्थापना गरेका थिए, जसले अहिले आफ्नो सांगीतिक यात्राको पच्चीस वर्ष पूरा गरिसकेको छ । नेपाली सांगीतिक फाँटमा अपार सफलताका साथ रजत महोत्सव मनाएको संभवत: नेपथ्य नै पहिलो सांगीतिक समूह हुनुपर्छ । ९० को दशकमा स्थापना भएदेखि नै नेपथ्य सांगीतिक दलले धुम मच्चाउँदै गइरहेको थियो भने रविन श्रेष्ठको आँगनैभरी हिउँ नै झरे…, छेक्यो छेक्यो देउराली डाँडाजस्ता गीत लोकप्रीय बनेको बेला हङकङ आईडीको लहर चल्न थाल्यो । त्यत्तिबेलाको समयमा संगीतमा लागेर जीवकोपार्जन गर्न र धान्न सक्ने अवस्था थिएन, नेपाली युवाहरु विदेसिनेक्रम बढिरहेको थियो । रविन श्रेष्ठ पनि सो लहरबाट अछूतो रहन सकेनन् र कलिलो सांगीतिक दल नेपथ्यलाई नेपथ्यमै छोडेर १९९६ मा हङकङतिर पलायन भए । त्यसपछि विदेशीभूमिमा मलजल गर्ने क्रममा गीत, संगीतमा आफ्नो असिम चाहना र मोह भए पनि निरन्तरता दिन असमर्थ भए । तथापी बेला मौकामा हङकङका विभिन्न सांगीतिक जमघटतिर गायनको हल्का शोक भने पूरा गर्ने गर्दथे ।

हङकङ छोड्नु अघि सन् २०११ मा हङकङमा पोखरेली झ्यालले रविन श्रेष्ठ नाईटको सफल आयोजना पनि गरेको थियो । सोही वर्ष त्यसलगत्तै सोही कार्यक्रमको दोस्रो प्रस्तुति दिन उनी हङकङबाट अल्डरसट आएका थिए । त्यसैताका उनले राजु सिंहको संगीतमा, ‘तीखो तिखो वचन’ बोलको गीत रेकर्ड पनि गराएका थिए । त्यसपछि हङकङबाट उनी बेलायत आए । बेलायत आएपछि बेला मौकाको जमघट र पोखरेली मञ्चले आयोजना गर्ने कार्यक्रममा उनले गाउँदै आएका छन् ।
१५ नोभेम्बर २०१५ मा पोखरेली मञ्च युकेले मृगौलापीडित गीतकार सुक गुरुङ सहयोगार्थ आयोजना गरेको च्यारिटी कार्यक्रममा पनि उनले प्रस्तुति दिएका थिए । सुक गुरुङ, उनको सुपरहिट गीत छेक्यो छेक्यो देउराली डाँडा र आँखैमा झलझली (शर्मिला बर्देवासँग) का सर्जक हुन् । कुनै पनि गायक, गायिका हिट हुनुमा प्रमुख हात गीतकार र संगीतकारको हुन्छ तर बिडम्बना अक्सर उनीहरु ओझेलमा परिरहेका हुन्छन् जुन गलत हो भन्ने मान्यता राख्छन् गायक रविन श्रेष्ठ । साथै नेपथ्यको आफ्नो गीत हिट हुनुमा सुक गुरुङको लेखन कौशल प्रमुख कारकतत्व हो भन्दै गीतकार सुक गुरुङप्रति आफू सदा आभारी रहने पनि बताउँछन् । दुवै मृगौलापीडित सुक गुरुङलाई हालै स्वदेश जाँदा भेट्न पनि उनले छुटाएनन् ।

खुसीको कुरो रविन हालै घरबिदा गएका बेला आफ्नै रचना अनि राजु सिंहको संगीतमा, ‘ह्याप्पी न्यू ईयर’ बोलको नयाँ गीत रेकर्ड गराएर फर्किएका छन् । आगामी नयाँ वर्ष २०७६ मा सो गीत रिलिज गर्ने सुरमा छन् उनी । रविनको सांगीतिक क्षेत्रमा पुन: आगमन स्वागतयोग्य कुरा हो । सफलताको शुभकामना !

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!