काठमाडौँ । ‘ट्रमाटिक ब्रेन इन्जुरी’ (मस्तिष्कमा गम्भीर चोट) भोगेका बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’ को ‘प्रिमियर’ गरिएको छ ।
आइतबार यहाँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ‘डकुमेन्ट्री फिल्म’ को प्रिमियर गरिएको हो । कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब फेनलगायतको उपस्थिति रहेको थियो । ‘ब्रेन इन्जुरी’बाट बाँचेका व्यक्तिहरूले सगरमाथा बेस क्याम्पसम्म पुग्ने लक्ष्यसहित गरेको असाधारण यात्रालाई समेटिएको यस फिल्मको निर्देशन पत्रकार तथा फिल्म निर्देशक गणेश पाण्डेले गरेका छन् । करिब डेढ वर्षको मेहनतपछि तयार भएको फिल्ममार्फत गम्भीर दुर्घटनापछि जीवनसँग जुधिरहेका व्यक्तिहरूले आशा र आत्मविश्वासका साथ नयाँ सपना पछ्याएको कथा प्रस्तुत गरिएको निर्देशक पाण्डेले बताए ।
द लिटिल शेर्पा फाउण्डेशनका जेम्स ल्याम्बको नेतृत्वमा पाँच जना बिरामी र परिवारसहित सात जनाको टोलीले सगरमाथा बेस क्याम्पसम्मको यात्रा पूरा गरेका उल्लेख छ । चिकित्सकले सामान्य जीवनमा फर्किन कठिन हुने बताए पनि उनीहरूले नेपाल आएर एभरेस्ट बेस क्याम्पसम्मको यात्रा तय गरेको विषय फिल्म समेटिएको छ । यस्तै, फिल्ममा स्कटल्याण्डबाट सुरु भएको यात्रा, काठमाडौँ आगमन र खुम्बु क्षेत्र हुँदै बेस क्याम्पतर्फको भावनात्मक तथा चुनौतीपूर्ण पदयात्रा समेटिएको छ भने उचाइ, थकान र स्वास्थ्य समस्याबीच पनि उनीहरूले एकअर्काको साथ र शेर्पा गाइडहरूको सहयोगमा अघि बढ्ने प्रयास दृश्याङ्कन गरिएको छ ।
यसैगरी विश्वविद्यालय अफ साउदर्न क्यालिफोर्नियाकी प्राध्यापक जेनिफर कूलले पनि डकुमेन्ट्रीबाट आफू निकै प्रभावित भएको उल्लेख गरे । निर्देशक पाण्डेका अघिल्ला डकुमेन्ट्रीहरू पनि अन्तरराष्ट्रियस्तरमा सफल प्रदर्शन भइसकेका छन् । उनको भूकम्पसम्बन्धी ‘भाग्यले बाँचेकाहरू’ ले १७ भन्दा बढी अन्तरराष्ट्रिय पुरस्कार र बहुपति प्रथामा आधारित ‘को–हजबेण्ड’ ले एक दर्जनभन्दा बढी अवार्ड जित्दै ४० भन्दा बढी अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन गरिएको त्यस अवसरमा जानकारी दिइयो ।
आज प्रदर्शित फिल्ममा एसोसिएट निर्मात्री शारदा गैरे, क्यामेरापर्सन सुरेश श्रेष्ठ र निरज पन्थी, सम्पादक ईश्वर कोइराला, सङ्गीतकार जुगल डङ्गोल र सन्दीप सरदार तथा ‘न्यारेटर’ कौशल घिमिरे रहेका छन् ।






