लन्डन । दसैंको अवसरमा चर्चित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ बेलायतका प्रतिष्ठित सिनेमा हलहरूमा पनि प्रदर्शन हुँदैछ ।
बेलायतमा प्रदर्शन तथा वितरणको अधिकार प्राप्त ९७७ सिनेमा (पापाराजी नेपाल प्रा.लि.)ले आइतबार १८ अक्टोबर दिउँसो १२ बजे अल्डरशटस्थित एपायर हलमा ‘छ माया छपक्कै २’को विशेष प्रदर्शन गरिने जनाएको हो ।
९७७ सिनेमा र यूक्यानको सहकार्यमा यूके प्रदर्शन हुन लागेको चलचित्र सिनेवल्ड, सभोय सिनेमा, मेट्रो सिनेमा, ओडियन र पिकाडिली सिनेमाजस्ता स्थापित सिनेमा हलहरूमा हेर्न पाइनेछ। आयोजकहरुका अनुसार हालसम्म घोषणा गरिएका प्रदर्शन स्थलहरू यसप्रकार छन्:
सिनेवल्ड: बेक्स्लीहिथ, एसफोर्ड, फेल्थम र साउथ रुइस्लिप
सभोय सिनेमा: डोनकास्टर, क्याटरिक र ग्रान्थम
मेट्रो सिनेमा: ह्यारो
ओडियन: म्यानचेस्टर
पिकाडिली सिनेमा: लेस्टर
यूकेका विभिन्न क्षेत्रमा रहेका नेपाली दर्शकलाई आफ्नै नजिकको सिनेमा हलमा चलचित्र हेर्ने अवसर प्रदान गर्ने उद्देश्यले थप सहर तथा सिनेमा हलहरूमा प्रदर्शन विस्तार गर्ने तयारी भइरहेको वितरकले जनाएका छन् ।
दीपेन्द्र लामाको निर्देशन तथा रोहित अधिकारीको निर्माणमा बनेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र मनिषा भट्टराई मुख्य भूमिकामा छन्। लोकप्रिय चलचित्र ‘छ माया छपक्कै’ को दोस्रो भागका रूपमा निर्माण भएको यस चलचित्रमा हास्यव्यङ्ग्य, प्रेम र पारिवारिक मनोरञ्जनलाई समेटिएको छ।
यूकेका विभिन्न सिनेमा हलहरूमा प्रदर्शन विस्तार गर्ने यस प्रयासले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारलाई थप फराकिलो बनाउने अपेक्षा गरिएको छ। दशैँको अवसरमा प्रदर्शन हुन लागेको चलचित्रले यूकेमा रहेका नेपाली दर्शकलाई परिवार र साथीभाइसँग नेपाली चलचित्रको मनोरञ्जन लिने अवसर प्रदान गर्नेछ ।






