लन्डन । बेलायतको नेपाली डायस्पोरामा गायक, उद्घोषक तथा गीतकारका रूपमा परिचित सूर्य गुरुङ (अब्जोसी)को कविता-गीतसंग्रह ‘तिम्रो माया’ सार्वजनिक हुने भएको छ।
गुरुङ साहित्यिक मञ्च नेपालको प्रकाशनमा तयार भएको उक्त कृति आगामी नोभेम्बर १ तारिखमा बेलायतको मिचेटस्थित तमु धीं भवनमा लोकार्पण गर्ने कार्यक्रम तय भएको साहित्यकार एवं गीतकार एकेन्द्र गुरुङले जनाएका छन् । कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने छ ।
पूर्वगोर्खा सैनिकसमेत रहेका गुरुङ बेलायतका विभिन्न सांगीतिक तथा साहित्यिक मञ्चमा आफ्नो मिठासपूर्ण स्वर, आकर्षक प्रस्तुति र मोहक उद्घोषण शैलीका कारण परिचित छन्। कुशल उद्घोषकका रूपमा स्थापित उनले गीतकार तथा साहित्यकारका रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका छन्।
‘तिम्रो माया’ उनको सिर्जनात्मक यात्राको अर्को महत्त्वपूर्ण कृति हो। यस कृतिले गुरुङको साहित्यिक व्यक्तित्वलाई पाठकमाझ थप चिनाउने अपेक्षा गरिएको साहित्यकार एकेन्द्र गुरुङ बताउँछन् ।
पुस्तक लोकार्पण कार्यक्रममा बेलायतस्थित साहित्यप्रेमी, साहित्यकार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेका छन्।






