काठमाडौं । तीन दशकभन्दा लामो समयदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा सक्रिय गायक तथा सर्जक यम सारु मगर स्वास्थ्य समस्याका कारण पोखरास्थित गण्डकी मेडिकल कलेज अस्पतालमा उपचाररत छन् । उनको उपचारमा सहयोग गर्न परिवार तथा शुभचिन्तकले अपिल गरेका छन् ।
तनहुँको ऋषिङ गाउँपालिका–२, काहुँ चारघरे निवासी सारु मगर केही दिनअघि तीन साताभन्दा बढी समय अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार गराएर घर फर्किएका थिए । तर, पुनः स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
विशेषगरी मगर भाषाका ‘झेर्मु ले कि छामु ले नाक्को लौ डेनी’ लगायत गीतमार्फत उनले मगर भाषा, कला, संस्कृति र सङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउँदै आएका छन् । उनको उपचारमा सहयोग गर्न परिवारले देश तथा विदेशमा रहेका गीत–सङ्गीतप्रेमी, कलाकार, सङ्घसंस्था र शुभचिन्तकलाई आग्रह गरेको छ । इच्छुकले उनकी जेठी छोरी सरिष्मा सारु मगरको बैंक खातामा सहयोग रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ ।

सहयोगसम्बन्धी जानकारीका लागि यम सारु मगर (९८०४१०९८११), गालु थापा मगर (९८२५१७१७८०) वा सरिष्मा सारु मगर (९७०-५७९०९४५) लाई सम्पर्क गर्न सकिनेछ ।






