लन्डन । तमु धीं यूकेले आफ्ना आजीवन सदस्यहरूको सम्मान तथा आपसी भेटघाटका लागि ‘लाइफ मेम्बर्स डिनर नाइट २०२६’ आयोजना गर्ने भएको छ।
कार्यक्रम शनिबार १७ अक्टोबरमा अल्डरसटस्थित एम्पायर ब्याङ्क्वेटिङ एन्ड हलमा आयोजना हुनेछ। संस्थाका वरिष्ठ उपाध्यक्ष परशु गुरुङका अनुसार दिउँसो ४ बजेदेखि मध्यरातसम्म सञ्चालन हुने कार्यक्रममा गायिका पवित्रा गुरुङ र प्रिया गुरुङले सांगीतिक प्रस्तुति दिनेछन् ।
वरिष्ठ उपाध्यक्ष गुरुङका अनुसार नयाँ आजीवन सदस्यहरूलाई तमु धीं यूके परिवारमा स्वागत गर्ने तथा संस्थाका लागि निरन्तर योगदान पुर्याउँदै आएका उत्कृष्ट समाजसेवी व्यक्तित्वलाई ‘आदर्श तमु’ घोषणा गरी सम्मान गर्ने कार्यक्रम छ।
तमु धीं यूकेले आयोजना गर्न लागेको यस कार्यक्रमले संस्थाका आजीवन सदस्यहरूबीच आपसी सम्बन्ध, आत्मीयता र एकतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। सदस्यहरूलाई लक्षित गरी आयोजना गरिएको डिनर नाइटमा सांगीतिक मनोरञ्जनसँगै भेटघाट र अनुभव आदानप्रदानको अवसरसमेत प्राप्त हुनेछ।
सन् २००० मा स्थापित तमु धीं यूके बेलायतमा नेपाली तथा गुरुङ समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय संस्था हो। संस्थाले विभिन्न सांस्कृतिक कार्यक्रममार्फत नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान र परम्परासँग जोड्ने काम गर्दै आएको छ।
आजीवन सदस्यहरूलाई स्वागत गर्दै आयोजना गर्न लागिएको डिनर नाइटले संस्थागत सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै बेलायतस्थित गुरुङ समुदायबीचको आत्मीयता अभिवृद्धि गर्ने विश्वास गरिएको वरिष्ठ उपाध्यक्ष गुरुङको भनाइ छ ।






