लन्डन । प्रतिभाशाली गायिका मञ्जु विक यूके आइपुगेकी छिन् ।
गायिका मञ्जु विक ९ वर्षपछि बेलायतको सांगीतिक भ्रमणका लागि शुक्रबार राति लन्डनस्थित हिथ्रो एयरपोर्ट ओर्लिएकी हिन् । उनी सृर्जनशील नेपाली समाजको निमन्त्रणामा यूके आएकी हुन् । उनलाई विमानस्थलमा सिर्जनशील नेपाली समाज यूकेका अध्यक्ष विकास रनपाइली, एनआरएनएका पूर्वप्रमुख संरक्षक एवं समाजसेवी शेरबहादुर सुनार, लमजुङ समाज यूकेका सल्लाहकार तथा ठाडो भाकाका गायक धनबहादुर गुरूङ, सदस्य काशीदेवी गुरूङलगायतले स्वागत गरेका थिए ।
‘सकुशल यूके आइपुगे है। मेरो सफल यात्राको कामना गर्नुहुने सम्पूर्ण मेरो अभिभावकज्यूहरु , अग्रज कलाकारज्यूहरु,साथी संगीहरुमा हार्दिक धन्यवाद,’ उनले फेसबुकमा लेखेकी छन् ।
लमजुङको गाउँशहर, कोकलडाँडामा जन्मेकी मञ्जु विक लोकदोहारी गीतसँगै कौरा, सालैजोसँगै मौलिक ठाडोभाकासम्मका गीत गाउन सक्ने ‘खुबी’ भएकी गायिका हुन् । मञ्जु सानै उमेरदेखि गीत गाउन रुचि राख्थिन् । उनले भनिन्, ‘मैले ९ वर्षको उमेरदेखि नै गीत गाउन थालेको हुँ ।’
गायिका बन्ने सोच लिएर एसएलसीपछि उनी पोखरा गइन् र एउटा दोहोरी साँझमा गाउन सुरु गरिन् । दोहोरीमा गाउँदागाउँदै उनले पहिलोचोटी लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेसँग ‘देशले मलाई के दियो….’ भन्ने बोलको देशभक्ति भावको गीत रेकर्ड गराउने अवसर पाइन् । त्यसपछि, उनले २०६९ सालमा ‘चढ्यो जवानी’ बोलको लोकदोहोरी गीत गाइन् ।
२०७२ सालमा अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपूतसँगको सहकार्यमा मञ्जुले लोक दोहोरी गीत ‘मिठो बोलीले’, २०७४ सालमा ख्यातिप्राप्त लोकदोहोरी गायक पशुपति शर्मासँग ‘भविष्यवाणी’, २०७५ सालमा गायक प्रकाशसँगै ‘नौरंगी सपना’, गायक पुरुषोत्तम न्यौपाने, तेजेश रेग्मीसँग ‘ससुरालीलाई चिठ्ठी’ लगायतका तीज गीत र २०७६ सालमा रामजी खाँडसँग ‘मेरै माया राम्रो’ बोलको लोक दोहोरी गीत गाइन् ।
उनलाई ठाडो भाका गाउने गायिकाको रुपमा समेत चिनिन्छ । सानै उमेरदेखि उनी ठाडो भाका शिरोमणि भेँडीखर्के साहिँलाका साथै देवी गुरुङसँग ठाडो भाका गाउन हिँड्थिन् । अहिले उनी देश तथा विदेशका विभिन्न सांगीतिक कार्यक्रममा व्यस्त हुने लोकदोहोरी गायिकामा पर्छिन् । उनी सांगीतिक प्रस्तुतिकै लागि देशका विभिन्न ठाउँका साथै कतार, कोरिया, भारतलगायतका देशमा पनि पुगेकी छिन् ।






