बोल ! बोल !!
तिमीले बोल्नै पर्छ
तिमी मौन रह्यौ भने
तिम्रो पक्षमा कस्ले बोल्ने छ ?
तिमीसँग नहुन सक्छ–
सरकारसँग झैं
सुरक्षाका नाममा उभ्याइएका
सुरक्षा दस्ता
बम, बारुद र बन्दुकले सुसज्जित–
सेना, प्रहरी, सांसद्
न्यायाधीश र अदालतहरु ।
तिमी बोल्यौं भने
ती सबै
कागजी घोडाजस्तै ढल्नेछन्
तिम्रो आवाज
यो संसारकै
सबैभन्दा शक्तिशाली आँधी हो ।






